धनुषाको सखुवा बजारमा दसैँका लागि खसीबोका किनबेच गर्नेको भीड

डिसी नेपाल
१३ असोज २०७९ १८:५७

धनुषा । दसैँ सुरु भएसँगै धनुषामा खसीबोकाको व्यापार बढेको छ । पशु हाटका लागि प्रख्यात धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा पर्ने सखुवा बजारमा अहिले दसैैँका लागि खसीबोका किन्ने र बेच्नेको अत्यधिक भीड लागेको छ ।

किसानले टाढाटाढाको गाउँबाट खसीबोका बिक्रीका लागि बजारमा ल्याउन थालेका छन् । वर्षभरि पालेको खसीबोका बेचेरै किसानले दसैँ, तिहारजस्ता मुख्य चाडपर्वको खर्च टार्ने गरेका छन् ।

मिथिला नगरपालिका–२ नक्टाझिजका किसान श्याम पुलामीले खसीबोका बेचेरै बर्सेनि दसैँको खर्च टार्दै आइरहेको बताए । “दसैँका लागि मरमसला, लुगाफाटा र दक्षिणाको जोहो खसीबोका बेचेरै गर्ने हो”, पुलामीले भने, “हाम्रोतिरबाट किसानले धमाधम खसीबोका बिक्रीका लागि बजार ल्याउन थालिसकेका छन् ।”

खसीबोका किन्न व्यापारी आफैँ पनि किसानको घरघरमै पुग्नेसमेत गरेका छन् । व्यापारीले धनुषा, महोत्तरी र सर्लाहीको उत्तरी भेगका गाउँबाट किसानले पालेका खसीबोका किनेर सखुवा बजारमा ल्याई बेच्ने गर्छन् ।

धनुषाको मिथिला नगरपालिकाको पुष्पवलपुर, गोदार, बेङ्गाडावर, लालगढ, तुलसी र वटेश्वर गाउँपालिका तथा महोत्तरीको बर्दिवास नगरपालिकाको खैरमारा, माईस्थान र सर्लाहीको उत्तरी चुरे भेगमा व्यावसायिकरूपमा बाख्रापालन हुने गरेको छ । सखुवा बजारमा राम्रो दाम पाउने भएर सबैतिरका किसान यहाँ बेच्न आउने गरेका छन् । वर्षभरि पालेको खसीबोका बेचेर किसानले यो दसैँको समयमा रु ५०÷६० हजारदेखि रु एक लाखभन्दा बढी आम्दानी गर्छन् ।

महेन्द्रनगरका खसीबोका व्यापारी समेर मियाँले गाउँका किसानबाट खरिद गरेर ल्याएको खसीबोका बजारमा ल्याई बिक्री गर्न थालिसकिएको बताए । “हामी आफैँ गाउँमा पुगेर किसानसँग खसीबोका किन्छौँ, हामीले दिएको खसीबोकाको पैसाबाटै किसान बजारमा दसैँका लुगाफाटा, सरसामान किनेर फर्किनुहुन्छ”, उनले भने । व्यापारीका अनुसार दसैँको महाअष्टमीको दिनसम्म नै खसीबोकाको राम्रो व्यापार हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *