वालिङमा कोसेली घर स्थापना

डिसी नेपाल
१९ असोज २०७९ २१:३९

वालिङ । स्याङ्जाको वालिङमा कोसेली घर स्थापना गरिएको छ । ‘हरित पुनःउत्थान तथा कोभिड–१९ उद्दार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’अन्तर्गत वालिङ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिमार्फत कोसेली घर स्थापना गरिएको हो ।

वालिङ तथा आसपासका क्षेत्रका महिला उद्यमीले उत्पादन गरेका हस्तकलाका सामग्रीलाई कोसेली घरमा बिक्रीका लागि राखिने महिला उद्यमी विकास समितिका अध्यक्ष कविता भुसालले बताइन् ।

“स्थानीय स्तरमा खेर गइरहेका सामग्रीको सदुपयोग गर्दै व्यावसायिक उत्पादनतर्फ जोड दिने र उद्यमीले उत्पादन गरेका सामग्रीको बजारीकरणका लागि कोसेली घरमा राखिने छ”, उनले भनिन्, “महिलालाई उत्पादनसँग जोड्न र विक्रीपश्चात् आर्थिक लाभ लिन पनि सहज हुने छ ।”

महिलाहरु पछिल्लो समय उद्यमशिलतातर्फ अग्रसर हुँदै गएकाले पनि यसले थप व्यावसायिक बन्न प्रेरित गर्ने बुझाइ वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवं केन्द्रीय सदस्य शोभाकान्त पौडेलको छ । महिला उद्यमीले आ–आफ्नो घर तथा फर्ममा उत्पादन गरेका सामग्री कोसेली घरमा ल्याउने र त्यहीमार्फत विक्री वितरणको व्यवस्थापन मिलाइने उनले बताए ।

“महिलाले उत्पादन गरेका सामग्री कोसेली घरमा प्रदर्शनमा राख्छौँ”, उनले भने, “जुन सामग्रीको माग उपभोक्ताबाट हुन्छ, सोही विक्री गर्ने व्यवस्था मिलाएका छौँ, उत्पादकले ग्राहक र ग्राहकले उत्पादक खोज्दै हिँड्नुपर्ने अवस्था छैन ।” महिला उद्यमीको सक्रियता र उत्साह बढ्दै गएको उनले बताए । जतिसक्दो धेरै परिमाणमा गुणस्तरीय सामग्री उत्पादन गर्नतर्फ लाग्न उनले सुझाव दिए ।

नगरपालिकालाई समृद्ध नगर बनाउनका लागि पहिला यहाँका नागरिक समृद्ध हुनुपर्ने तर्क वालिङ नगर उपप्रमुख कविता तिवारी गैरेको छ । “प्रत्येक परिवार आर्थिकरुपमा सवल र सक्षम भए मात्रै नगर समृद्धितर्फ अगाडि बढ्छ”, उनले भने, “नागरिकलाई सवल र सक्षम बनाउनका लागि नगरपालिकाले योजना बनाउँछ, यसमा नागरिकको पनि उत्तिकै साथ र सहयोग आवश्यक पर्छ ।”

महिला उद्यमीले उत्पादन गरेका सामग्रीको उत्पादन र बजारीकरणका लागि नगरपालिकाले सहयोग गर्ने उनले बताए । वालिङमा विशेष गरी ढाका बुनाई, गुरुङ, मगर समुदायका पोशाक, डल, कुसन, रुमाल, माला, चुरा पोतेसहित उत्पादन हुन्छन् । खाद्यान्न तथा सजावटका सामग्रीसमेत उत्पादन गरिँदै आएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *