उत्तरी गोरखाको सामागाउँ क्षेत्रमा हिमपात, जोखिमलाई ख्याल गर्दै हेलिकप्टर तयारी अवस्थामा

डिसी नेपाल
२० असोज २०७९ १८:१८

गोरखा । उत्तरी गोरखामा हिमपात सुरु भएको छ । लगातारको वर्षाले चिसो बढेसँगै चुमनुब्री गाउँपालिकाको सामागाउँलगायतका क्षेत्रमा हिमपात सुरु भएको हो । असोज महिनाको तेस्रो साता सुरु भएसँगै यो वर्ष पहिलो पटक उत्तरी गोरखामा हिमपात भएको हो । हिमालपारिको गाउँ भनेर चिनिने उत्तरी गोरखाको सामागाउँ क्षेत्रमा हिमपात भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केदार खनालले बताए।

“सामागाउँमा आज अपराह्नपछि हिमपात सुरु भएको हो”, उनले भने, “हिमपातका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।” हिमपातका कारण मनास्लु हिमाल आरोही र आरोहीका सहयोगीलाई समस्या पर्नसक्ने भन्दै सामागाउँमा अहिले तीन वटा हेलिकप्टर तयारी अवस्थामा राखिएको उनले बताए ।

“मनास्लु हिमालको आरोहणमा रहेका आरोहीलाई कुनै पनि बेला समस्या पर्नसक्ने सम्भावना छ”, उनले भने, “सम्भावित जोखिमपूर्ण परिस्थितिलाई ध्यानमा राखेर हेलिकप्टरसमेत तयारी अवस्थामा राखिएको छ ।” सामागाउँमा कैलाश, सिम्रिक र एभरेष्ट एयरका एक÷एक वटा हेलिकप्टर तयारी अवस्थामा राखिएका उनको भनाइ छ । यो वर्ष अहिलेसम्मकै अत्यधिक पर्यटक मनास्लु हिमाल आधार शिविरमा पुगेका छन् ।

गोरखा प्रहरीका अनुसार हिजोसम्म ३६६ जना हिमालको आधार शिविरमा नै रहेको जनाइएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन मौसममा परिवर्तन हुने भन्दै उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने तथा हिमाल आरोहणका लागि पुगेकालाई सतर्कता अपनाउन भनेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *