रातो बत्तीमा बाटो काट्ने ठालुलाई सलाम गर्ने ट्राफिक प्रहरीलाई पत्र

सुधिज्ञ पन्त, अधिबक्ता
२६ असोज २०७९ ७:००

श्री ट्राफिक प्रहरी,
काठमाण्डौ, नेपाल ।
विषयः ट्राफिक व्यवस्थापन ।
महोदय,

उपत्यकाबासी भएको नाताले यो पत्रमा म काठमाडौं उपत्यकाको सडक र ट्राफिक नियम एवं ट्राफिक व्यस्थापनका बारेमा मात्र सिमित रहेर ट्राफिक प्रहरीका प्रमुख र हाकिमहरुलाई यसै चिठीमार्फत उपत्यकाको दिन प्रतिदिन खस्रिँदै गएको ट्राफिक व्यवस्थापनको बारेमा केही गुनासो र सुझाव राख्न चाहान्छु।

सर्वप्रथम नेपालका ट्राफिक प्रहरीलाई के हो? यसले कानुनत के के काम गर्नुपर्छ भन्ने कुराको जानकारी यसको नेतृत्वले दिनुपर्ने टड्कारो आवश्कता छ। ट्राफिक प्रहरी भनेको ट्राफिकको सहज व्यवस्थापन गर्ने निकाय हो।

यसले ट्राफिक उल्लङ्गन गर्ने हरुलाई कानूनले तोके बमोजिमको सजाय गर्न समेत सक्छ। ट्राफिक प्रहरीले सो कानूनले तोकेको कार्यक्षेत्रभित्र बसेर ट्राफिक व्यवस्थापन गर्ने र सवारी साधनलाइ छिटो वा चाँडोभन्दा चाँडो आफ्नो गन्तव्यमा पुग्नको निमित्त योजना बनाउने मात्र नभएर सो योजनाको प्रमुख अङगको रुपमा सडक सुरक्षालाई नै प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने गहन दायित्व बोकेको हुन्छ।

यस अन्तर्गत पहिले त ट्राफिक प्रहरी आफैंले ट्राफिक नियम पूरा बुझ्न जरुरी छ भने दोस्रोमा सडकमा उपयुक्त ट्राफिक व्यवस्थापनको पूर्वाधार समेत तयारी अवस्थामा हुनु पर्दछ।

१६ वर्षको उमेरमा सडकमा सवारी चलाउन दिनु अगाडि ट्राफिक नियमका बारेमा सो व्यक्तिले आफ्नो र सडकमा सवार अन्य व्यक्तिको सुरक्षाको लागि समेत ट्राफिक नियम बुझ्न अत्यन्त जरुरी छ।

अब हाम्रो काठमाण्डौको सडकको बारेमा चर्चा गरौं। न उपयुक्त ट्राफिक लाइट छ, न सडकमा ट्राफिक नियमअनुसार फरक फरक रङ्गहरू पोतेर लेनको उपयुक्त व्वयस्था गरिएको छ। न त सर्वसाधारणलाई उपयुक्तमाध्यमद्वारा ट्राफिक नियमको उचित ज्ञान नै प्रवाह गर्न सकेको छ।

यसमा कमजोरी ट्राफिक प्रहरीको नै हो भनेर मान्नु पर्ने हुन्छ। कुनै कुनै चोकमा ट्राफिक बत्ती छ तर सो ट्राफिक बत्तीमा रातो बलेको बेला सो बत्ती काट्यो भने सर्वसाधारणलाई चिट काटिन्छ तर सोही रातो बत्ती कुनै ठालु नेता, मन्त्री वा कुनै पदाधिकारीले साइरन बजाएर काटेको भरमा भने उनीहरुलाई उल्टै सलाम गरेर ट्राफिक प्रहरीले छोडेको हुन्छ।

यसले गर्दा ती ठालुहरुमा झनै “मलाई त नियमले पनि छुँदैन रहेछ” भन्ने गलत घमण्ड बस्न जान्छ, यसले केवल हानी मात्र पुर्याउँछ भलो कदापि हुँदैन। पछिल्लो समयमा भने ट्राफिक प्रहरीले बठ्याईँ गर्दै ठालुहरुको सवारी हुने समयमा ट्राफिक बत्ती नै निभाउने र आफूले इसारा गरेरे ठालुहरुको सवारी आउने साइडको मात्र गाडी दशौँ मिनेट सम्म छोड्ने एवं सो ठालुको गाडी सम्बन्धित चोकमा आएपछि ट्राफिक प्रहरीले सलामी दिने गरेको देखिएको छ।

त्यतिमात्र होइन ती ठालुहरु उक्त चोकबाट अर्को चोकतर्फ लागेपछि मात्र ट्राफिकले अन्य लेनको सवारीलाई बाटो छोड्ने गरेको छ। यसले जनमानसमा ट्राफिक प्रहरीप्रति नकारात्मक भावनाको जालो बुनिइहेको छ भने यो जाली स्वयम् ट्राफिक प्रहरी आफैले नै बुनिरहेको छ।

लेनको कुरा गर्दा पनि त्यस्तै छ। ट्राफिक प्रहरीले बाटोमा कस्तो लेन हुनु पर्छ, एकतर्फी बाटो हुनु पर्ने हो वा दुई तर्फी भनेर बिस्तृत अध्ययन गरेर सवारी तथा यातायात विभागलाई आफ्नो रिपोर्ट दिने र सो बमोजिम सडकमा उचित ट्राफिकको व्यवस्थापन गर्नु पर्ने दायित्व हुन्छ।

तर यहाँ त दुबै निकायले कुनै पनि काम गरेको देखिँदैन। उदाहरणको लागि दिन प्रतिदिन बढ्दै गइरहेको काठमाडौंको ट्राफिक व्यवस्थापन गर्न सिङ्गापुरमा जस्तो वान वे सडकलाई नै प्राथमिकता दिनु पर्ने हुन्छ।

जस्तै कुनै चार कोण भएको ब्लक अर्थात् अहिलेको लागि नारायणहिटी राजदरबार, सिंहदरबारको उदाहारण लिऊँ। सो नारायणहिटीको वा सिंहगरबार वरिपरिको सडक वान वे मात्र गर्‍याे  भने ट्राफिकको फ्लो पनि राम्रो हुन्छ र ट्राफिक प्रहरी आफैलाई पनि ट्राफिक व्यवस्थापन गर्न सहज हुन्छ।

तर यस विषयमा कसैले चासो देखाएको छैन। ट्राफिक प्रहरीको हाकिम जसले यस्को र यस्ता विषयको अध्ययन र व्यवस्थापनमा अग्रसरता देखाउनु पर्ने हुन्छ, उहाँ भने डोजरको रमिता हेरेर नै मस्त हुनुहुन्छ। एउटा तितो सत्य हो यो अहिलेको।

त्यस्तै सिनामङ्लबाट तिनकुने जाने बाटोमा तिनकुने पुग्नै लाग्दा आफ्नो लेनबाट चलाएको सवारी साधन सो लेनमै बस्दासमेत आफै त्यो लेन नै अर्को लेनमा गएर मिसिन्छ। आफ्नो लेनमा बस्दासमेत अर्को लेनमा पुग्ने गरेर त्यहाँ लेन कोरिएको छ।

यस्तो ठाउँमा दुर्घटना बढ्नु स्वाभाविक हो। तर त्यहाँ दुर्घटना भयो भने ट्राफिकले त सवारी चालकलाई कार्वाही गर्छ आफ्नो र यातायात विभागको लेन मार्किङमा गरिएको चरम लापरवाहीको कुनै वास्ता गरिँदैन।

ट्राफिक प्रहरीको हाकिम जसले यस्को र यस्ता विषयको अध्ययन र व्यवस्थापनमा अग्रसरता देखाउनु पर्ने हुन्छ, उहाँ भने डोजरको रमिता हेरेर नै मस्त हुनुहुन्छ। एउटा तितो सत्य हो यो अहिलेको।

यसले के पुष्टि गर्छ भने ट्राफिक प्रहरीलाई सडक सुरक्षाको बाल मतलब छैन। यसबारेमा मैले नेपालका ठूलो भनेर गनिने मिडियालाई र स्वयम ट्राफिक प्रहरीलाई समेत भन्दा पनि न समाचार बने न कुनै वास्ता भयो।

अर्को विषय भनेको सवारीको गति र सार्वजनिक यातायातको स्थिति हो। उपत्यकामा तुरुन्त ठूला सवारी साधनको गति ३० किमि प्रतिघण्टा र अन्यको हकमा ४० किमि प्रतिघण्टाको लिमिट राखिहाल्नु पर्ने अवस्था आएको छ।

एक त सानो ठाउँ काठमाण्डौ जसको रेडियस नै जम्मा २० किमि छ यसमा ३०/४० को गतिमा हिँड्दासमेत छोटो समयमा नै गन्तव्यमा पुगिने निश्चित भएको हुँदा गति सिमित तुरुन्त अहिल नै लागू गरिहाल्नु पर्ने अवस्था आइसकेको छ।

उपयुक्त ट्राफिक नियम पनि नहुने, लेन पनि नहुने अनि गति समिति पनि नहुँदा दुर्घटना हुने गरेको छ। ट्राफिकको आफ्नै रिपर्टोका अनुसार समेत दुर्घटनाको मुख्य कारण भनेको सवारीको गति नै हो।

यस्तो रिपोर्ट दिनइरहने ट्राफिक प्रहरीले आफूले गर्न सक्ने अधिकार क्षेत्रभित्र पर्ने काम अर्थात् स्पिड लिमिट गर्ने कामतर्फ कुनै ध्यान किन दिँदैन? के अस्तव्यस्ततामै रमाउने बानी परिसकेको हो अब? मानिस मरिरहुन, घाइते भइरहुन, देखिहाले कार्यालयमा रिपोर्ट गर्‍याे  सकियो? सानो कुरा कार्यान्वयन गर्दा पनि सयौंको ज्यान बच्न सक्छ।

त्यसैले यो व्यवस्था आजैबाट लागु हुनु पर्छ। र, यो नियम तोड्नेको लाइसेसन्स नै निलम्बित गर्ने सम्मको प्रवधान ट्राफिक प्रहरीले मिलाउनु अत्यन्त आवश्यक छ।

यहाँ चल्ने धेरैजसो सार्वजनिक यातायातको त न कुनै ब्रेकको बत्ति बल्छ न यसले कुनै नियम पालन गर्छ। तर किन ट्राफिक प्रहरी चुप चाप कुनै कार्वाही नगरी बस्छ?

उदाहरणको लागि नेपाल यातायात। यो यातायातको अधिकांश बसको ब्रेक लाइट बल्दैन भने अनामनगरबाट सिंहदरबारतर्फ मोडिने पुतलीसडकको मोडमा जहिले पनि नेपाल यातायात बायाँ लेनमा पर्खेर बस्छ जब कि ऊ त्यहाँबाट दायाँ जाने सवारी हो।

यसले गर्दा त्यहाँ निकै लामो जाम हुने गर्छ, यसो हुँदा ट्राफिक प्रहरीले एक पल्टमात्र त्यो यातायातलाई चिट काट्दियो भने अर्को पल्टबाट यस्तो हर्कत गर्ने थिएन तर ट्राफिक प्रहरीको मुख्य कार्यालयको २०० मिटर वरपरसमेत ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थान गर्न सकेको छैन। लाज लाग्नु पर्ने होइन र? वेथिति, अनियमिततामा आंखा चिम्लनुका पछाडि के ले काम गरेको छ त हाकिम साब?

ट्राफिक प्रहरीले बठ्याईँ गर्दै ठालुहरुको सवारी हुने समयमा ट्राफिक बत्ती नै निभाउने र आफूले इसारा गरेरे ठालुहरुको सवारी आउने साइडको मात्र गाडी दशौँ मिनेट सम्म छोड्ने एवं सो ठालुको गाडी सम्बन्धित चोकमा आएपछि ट्राफिक प्रहरीले सलामी दिने गरेको देखिएको छ।

अर्को विषय भनेको लेन पालन हो। खासगरीकन मोटरसाइकल चालकहरु आफ्नो निजी बाटो जसरी अर्को लेनमा चलाउने गर्छन्। ट्राफिक चोकमा समेत लेन पालना गर्दैनन्।

यस्तो लेन पालना नगर्ने मोटरसाइकललाई तुरुन्त कडाभन्दा कडा आर्थिक कार्वाही गरेमा यसको हल तुरुन्त हुन्छ तर यसमा कुनै पहल गरेको देखिँदैन। ठाउँ ठाउँमा लेन मिचेमा १५०० जरिवाना लेखिएको छ तर लेखेर सबै चिज हुने भएको भए त म अहिले नै ‘नेपाल विश्वको नं १ विकसित देश हो’ भनेर लेखिदिन्थें।

नेपालको कानून बमोजिम १६ वर्षको उमेरमा व्यक्तिले लाइसेन्स पाउने गर्छ। १६ वर्षको उमेरमा सडकमा सवारी चलाउन दिनु अगाडि ट्राफिक नियमका बारेमा सो व्यक्तिले आफ्नो र सडकमा सवार अन्य व्यक्तिको सुरक्षाको लागि समेत ट्राफिक नियम बुझ्न अत्यन्त जरुरी छ।

यसकारण ट्राफिक प्रहरीले शिक्षा मन्त्रालयको समन्वयनमा कक्षा १० का विध्यार्थीलाई १ हप्ताको ट्राफिक सेमिनार गर्ने वा अन्य कुनै विकल्प प्रयोग गरी ट्राफिकको ज्ञान दिने कार्यक्रम तय गर्नु तत्कालको आवश्यकता हो।

यसो गरेमा भविष्यमा सडकमा सवारी चलाउनेहरुको मन मष्तिष्कमा नियम पालन गर्नु पर्छ भन्ने सोच आउने छ। यस संगसंगै ट्राफिकले सडकको निगरानी र ट्राफिक नियम तोड्नेलाई कडा भन्दा कडा कार्वाहरी गर्न भने छाड्नु हुँदैन। तर, यसो गर्नुपूर्व ट्राफिक नियम ठालु हुन् वा सर्वसाधारण सबैका लागि समानरुपमा लागू गरिनुपर्दछ।

ट्राफिक प्रहरीले यी कुराहरुमा तत्तकाल अध्ययन गरी व्यवस्थापनमा समानता र कडाइ ल्याउन जरूरी छ। तर मैले यस पत्रमा ट्राफिक प्रहरीले मापसेको निमित्त चलाएको अभियनको प्रशंसा समेत गर्नु नै पर्ने हुन्छ। सो अभियान चलाएकोमा उपत्यकावासीको तर्फबाट धन्यबाट व्यक्त गर्दछु।

यस पत्रले ट्राफिक प्रहरीले तुरुन्त चाल्नुपर्ने कदमलाई हाइलाइट गरेको आशा गर्दछु तर यस पत्रमा नखुलेका कुराहरु जस्तै मोटरसाइकलको पछाडि बस्नेले अनिवार्य हेल्मेट लगाउने, सार्वजनिक यातायातले तोकेको ठाउँमा मात्र यात्रीलाई ओराल्ने, ओभरहेड ब्रिजमुनि बाटो बाटो काट्नेलाई कार्वाही गर्ने, ट्राफिक आइल्याण्डमा राखेको ट्राफिकको पोष्टलाई दायाँ पारेर मात्र सबारी चलाउने जस्ता विषयलाई समेटेको छैन।

त्यस्तै ट्राफिकको व्यवस्थापन र सडकको सुरक्षाको निमित्त ट्राफिक प्रहरीले सवारी चालक, पैदल यात्री र यातायात विभागसंग समन्वय गरी यथाशीध्र ट्राफिकको उचित व्यवस्थान गर्ने छ भन्ने ठूलो आशा राखेको छु।

धन्यवाद
उपत्यकावासी र सवारी चालक
अधिवक्ता सुधिज्ञ पन्त

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *