१ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता

डिसी नेपाल
२७ असोज २०७९ ६:२०

काठमाडौं आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता कायम भएका छन्। आयोगले ३ मंसिरमा १८ वर्ष उमेर पुग्ने मतदातासहित कुल १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले ४ मंसिरमा हुने निर्वाचनमा मतदान गर्न पाउने बताएको हो।

आयोगका अनुसार निर्वाचनका लागि ९१ लाख ४० हजार ८ सय ६ पुरुष, ८८ लाख ४७ हजार ५ सय ७९ महिला र १ सय ८५ अन्य मतदाता कायम भएका छन्।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि ७७ वटै जिल्लामा गरेर १० हजार ८ सय ९१ मतदानस्थल र २२ हजार २ सय २६ मतदान केन्द्र कायम भएको जानकारी दिए। आयोगले कायम गरेको र मतदान गर्न योग्य मानेका मतदाताले ती मतदानस्थल र केन्द्रमा गएर मतदान गर्न सक्नेछन्।

आयोगले निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, कारागारमा रहेका कैदीबन्दी तथा वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलगायत अस्थायी मतदाताका लागि भने अस्थायी मतदान केन्द्र तोक्नेछ । आयोगले बुधबारसम्म त्यस्ता मतदाताको विवरण संकलन गरेको थियो।

आयोगका अनुसार गत ३१ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा देशभरमा गरी १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता कायम भएका थिए । जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० र १ सय ८३ अन्य मतदाता रहेको आयोगले बताएको छ।

स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका ७ सय ५३ स्थानीय तहमा गरी १० हजार ७ सय ५६ मतदानस्थल निर्धारण गरेको थियो । यस्तै, देशभर २१ हजार ९ सय ५५ मतदान केन्द्र कायम गरिएको थियो । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *