७७ वटै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी सम्पन्न
काठमाडौँ। निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै ७७ वटै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी कार्य सम्पन्न गरेको छ।
डोल्पा, मुगु, जुम्ला, हुम्ला, बाजुरा, गोरखा, मनाङ र सिन्धुली जिल्लालाई आवश्यक पर्ने सम्पूर्ण सामग्री ढुवानी सम्पन्न भएको छ भने बाँकी जिल्लामा थप सामग्री दोस्रो चरणमा लगिने कार्यक्रम रहेको आयोगले जनाएको छ।
हालसम्म निर्वाचन आयोगले ९३ ट्रक सामान ढुवानी गरिसकेको छ। दोस्रो चरणमा धेरै जनसंख्या र निर्वाचन क्षेत्र भएका तराईका जिल्लाहरुमा सामाग्री ढुवानी गरिने आयोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
अब सात जिल्लाको मतपत्र छपाइ बाँकी
आसन्न निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत सात जिल्लाको मात्र मतपत्र छपाइ हुन बाँकी छ। समानुपातिक निर्वाचन प्रणालीतर्फको सबै मतपत्र छपाई सम्पन्न भएर ७५ जिल्लामा ढुवानीसमेत भइसकेको छ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत अब काठमाडौ, ललितपुर, भक्तपुर, बारा, धनुषा, सर्लाही र रौतहट जिल्लाको मतपत्र मात्र छपाइ हुन बाँकी रहेको छ । यी जिल्लामा करिब ८४ लाख मपतत्र आवश्यक पर्ने आयोगले जनाएको छ।
आयोगले हालसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि करिब ४ करोड तथा पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि ३ करोड १४ लाख ५६ हजार पाँच सय मतपत्र छपाइ गरिसकेको छ। हालसम्म गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, प्यूठान, रोल्पा, दाङ, सल्यान, रूकुम पश्चिम तथा रूकुम पूर्वका मतपत्र ढुवानीसमेत भइसकेको छ।






डिसी नेपाल





Facebook Comment