जेरीलाई अमेरिकाबाट चिठ्ठी

सुनिता बस्नेत थापा
२६ कार्तिक २०७९ ९:५१

प्रिय बहिनी जेरी
न्यानो माया

व्यक्तिगत रुपमा म तपाईंलाई चिन्दिनँ। आकालझुकल तपाईंका गीतहरु सुनेकी छु, हेरेकी छु। निक्कै दह्रोरुपमा दोहोरी खेल्नु हुन्छ । धेरैको मनमुटुमा पनि बस्नु हुन्छ होला। भलै आकलझुकलको दर्शक/श्रोता भए पनि तपाईंको प्रतिभा र व्यक्तित्वबाट प्रभावित छु। त्यसमाथि पनि तपाईं गोरखाकी हो भन्ने जान्दा मनमनै दिदी बहिनीको नाता पनि जोडेकी छु।

केही समयदेखिको सामाजिक सन्जाल एवं मिडियाहरुमा आएका हल्लाहरु, भिडियो, अनुनय विनय आदि इत्यादिले मेरो पनि ध्यानाकर्षण गरेको थियो। तर चुप नै बसें। कसैको व्यक्तिगत जीवनमा चासो दिने बानी छैन।

हाम्रा सामाजिक सन्जाल एवं युट्युवर साथीहरुको दर्शक बढाउने अभियानको माध्यम बन्नु भएछ भन्ने जस्तो त्यति खेर नै लागेको थियो। एक सम्बन्धको सामान्य कथा हो, मत्थर होला केही दिनमा भन्ने जस्तो लागेको थियो तर आज दिनभरि नै सन्जाल र मिडियाभरि नै आँशुको भेल बगेको देख्दा लेखुँ कि नलेखुँ भन्ने अत्यन्त दुबिधामा यो चिठी लेख्दै छु।

हजुरको बारेमा लेख्न अगाडि मैले हजुरको अनुमति लिनु पर्ने हो। मसँग कुनै माध्यम भएन। साथै एक दिदीको हैसियतले सन्जाल र मिडियामा जुनरुपमा प्रस्तुत गरिएको छ त्यसको उपचार गरियोस् भन्ने उद्देश्यले ‘जेरी’लाई एक प्रतिनिधि पात्रको रुपमा प्रस्तुत गरेर यो चिठ्ठी लेखेकी छु।

धेरै जेरीहरुका आँशु र संबेग तथाकथित च्यानलहरुले बेचिराखेका छन्। तपाईंप्रतिको संबोधन र प्रतिनिधि पात्रको नाम मन परेन भने भन्नु होला यो लेख तुरुन्त फिर्ता गर्नेछु।

बहिनी, सर्बप्रथम एक प्रश्न सोध्न चाहन्छु? हजुरका बैवाहिक समस्याका सन्दर्भ र भिडियोहरु कसरी मिडिया एवं सन्जालमा आएका हुन्? कि तपाईंले प्रेस मिट गर्नु भएको थियो? या युट्युबर मित्रहरुले तपाईंको कथा पीडा आंशु संबेग बेचेर तपाईंलाई ‘विचरा’ बनाइरहेका छन्? यदि तपाइले प्रेसमिट नै गर्नु भएको थियो भने पनि यति कमजोर देखिने अबस्थामा यसो गर्न हुने थिएन कि भन्ने मलाई लागेको छ ।

मनमा चोट लाग्यो तर यस्को अर्थ यो होइन कि तपाईंका अनमोल आंशुको व्यापार गरियोस्। महिलालाई कमजोर देखाइयोस्। म त कुनै पनि दृष्टिकोणले तपाईंलाई एक पुरुषको लागि बलिन्द्रधारा आँशु बगाउन पर्ने महिलाको रुपमा देख्दिन।

तपाईंले पाउनु भएको क्षणिक सहानुभुतिले तपाईं स्वयं, शंकरजी र तपाईंहरुको सन्तानलाई दीर्घकालम्म असर गर्ने छ। अर्को युट्युबरहरुको मनोमानी हो भने यो एक अपराध हो। उनीहरुले तपाईंलाई कमजोररुपमा प्रस्तुत गरेका छन्।

के छिनको छिनमै गीत रचेर गाएर मै हुँ भन्ने पुरुषहरुलाई पनि खुत्रुक्कै पार्ने सहाशिली जेरी यही हो त भन्ने शंका लाग्छ। अझै एउटा भिडियोमा त तपाईंको श्रीमानलाई एक युट्युबरले  र्‍याखर्‍याख्ती पारिरहेका थिए। त्यो दृष्य हेर्दा अचम्म लागेको थियो। पारपाचुके माग्नु ठूलो गल्ती गरेजस्तो देखाइएको थियो।

“विहे भनेको दुई व्यक्तिको सहमतिमा खडा भएको संस्था हो जुन सहमति मिलेन भने भंग हुन सक्छ।” भन्ने चेतसम्म नभएका मान्छेहरुले भिडियो बनाएर वकालत गरिरहेको देख्दा टिठ लागेको थियो। साँच्चै नै कसैको कथा र आँशु बेचेर आफ्नो च्यानल चलाउनेहरुको भिडमा रुमल्लिनु भएको जस्तो भान परेको थियो।

मान्छु, बर्षौं माया गरेको मान्छेले नाता टुटाउन खोज्यो। मनमा चोट लाग्यो तर यस्को अर्थ यो होइन कि तपाईंका अनमोल आंशुको व्यापार गरियोस्। महिलालाई कमजोर देखाइयोस्। म त कुनै पनि दृष्टिकोणले तपाईंलाई एक पुरुषको लागि बलिन्द्रधारा आँशु बगाउन पर्ने महिलाको रुपमा देख्दिन।

सुन्दर हुनुहुन्छ। प्रतिभावान हुनुहुन्छ। सबल हुनु हुन्छ। धेरै प्रगति गर्न सक्नु हुन्छ। चाहनु भयो भने योभन्दा पनि सुन्दर परिवारै बनाउन सक्नु हुनेछ।
तपाईं आफैंले कति अन्तरवार्ताहरुमा भन्नु भएको छ। सम्बन्धमा चिसोपन थियो। यातना थियो।

यातना र चिसिएको सम्बन्धमा नै जोडिइरहनु पर्ने कारण चाहिँ के नि? तपाईं त खुशी पो हुनु पर्ने त। होइन र? जब जीवनसाथीले नै हाम्रो मन मिलेन हामी छुट्टिन पर्छ भनिसकेपछि त्यही अपांग सबन्धमा यात्रा गर्छु भन्नु आफैंमाथि पनि धोका हो।

प्रत्येक दिन आफूलाई तिरस्कार गरिसकेको मान्छेसँग कसरी बस्न सक्नु हुन्छ? फेरि कसरी मायाको बिरुवा हुर्काउन सक्नु हुन्छ? साच्चै खुशी हुनु हुन्थ्यो होला त?? जीवनभर सम्झौताको जिन्दगी बाच्न पर्थ्यो।

माया होइन दयामा बाच्न पर्थ्यो। दयामा बाँच्नु र विचरा हुनु जत्तिको निर्बल केही हुँदैन तपाईं जस्ती एक सवल महिलालाई अपांग सम्बन्धले तपाइलाई मानसिक रुपमा ठूलो क्षति हुन सक्थ्यो।

कि सामाजले के भन्ला भन्ने भो? तपाईंहरु जीवन साट्ने दुईजना नै खुशी हुनु हुन्न भने अरुको भनाइले खासै केही फरक पार्दैन। एउटा प्रसंगमा बच्चाको लागि सँगै बस्न मन छ भन्नु भएको थियो। यति भइसकेपछि सँगै बस्दा भोलि त्यो सन्तानलाई कस्तो असर पर्ला?

शैक्षिक, आर्थिक, बौद्धिक रुपमा सवल महिलाले सन्तानको लागि सम्झौता गरेर यातनापूर्ण बैवाहिक जीवन विताउन खोज्नु ठूलो गल्ती हो र समाजलाई अन्याय गर्न प्रोत्साहित गर्नु हो। केही महिना अगाडि एक युवा एकल आमा कसरी लडेकी थिइन् सन्तानको लागि? तपाईं त बयस्क हुनु हुन्छ।

तपाईं एक उदाहरणीय महिला हो। शैक्षिक, आर्थिक, बौद्धिक रुपमा सवल महिलाले सन्तानको लागि सम्झौता गरेर यातनापूर्ण बैवाहिक जीवन विताउन खोज्नु ठूलो गल्ती हो र समाजलाई अन्याय गर्न प्रोत्साहित गर्नु हो।

केही महिना अगाडि एक युवा एकल आमा कसरी लडेकी थिइन् सन्तानको लागि? तपाईं त बयस्क हुनु हुन्छ। लोग्ने स्वास्नीको सम्बन्ध टुटे पनि सन्तानसँगको सम्बन्ध कहिले पनि टुट्दैन बावु आमाको।

बहिनी तपाईंका व्यक्तिगत कुराहरुमा धेरै लेखें। माफी चाहन्छु यदि कतै कुनै कुरामा चित्त बुझेन भने। २१ सौं शताब्दीकी सवल जेरी एक सम्बन्ध त्यो पनि अपांग सम्बन्ध टुटेकोमा बलिन्द्रधारा आँशु देख्न नसकेर मेरो कलम चल्यो। विशेष गरेर महिलालाई अवला देखाइएर बगाइएको आँशुसँग घृणा लाग्छ।

तपाईंका आँशु र संबेग बेचेर चर्चामा आउन खोज्नेहरु देखि सावधान हुनुहोस्। जीवनमा कति बर्ष एक्लै संघर्ष गरेर एक पहिचान बनाई सवलरुपमा खडा हुनु भएको छ नडगमगाउनु होस्।

कृपया आँशुको भेल बगाएका र कमजोर देखिने खालका भिडियोहरु तुरुन्त बन्द गर्ने अभियान चलाउनु होस्। जेरीजस्तै स्वादिली प्रिय हुनु हुन्छ सफल जीवनको शुभकामना।

उही गाउँले दिदी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *