दलहरुले जनतालाई भेडा सम्झिएका छन्, यसपालि जवाफ पाउँछन्ः पूर्व राजदूत उपाध्याय (भिडियोसहित)

डिसी नेपाल
२६ कार्तिक २०७९ १६:४५

काठमाडौं । पूर्व राजदूत दीपकुमार उपाध्यायले नेताहरुले जनताहरुलाई पशु सरह व्यवहार गरेको आरोप लगाएका छन् ।

डिसी नेपालको ‘द ब्रिज टक’ कार्यक्रममा उनले दलहरुले आसन्न निर्वाचनका लागि अप्राकृतिक गठबन्धन गरेको आरोप लगाउँदै यस्तो बताएका हुन्।

उनले नेताहरुले आफ्नो निजी स्वार्थमा गठबन्धन गरेको बताउदै सिद्धान्त र धारणा नमिल्ने पार्टीहरु समेत एक ठाउँमा रहने गठबन्धनको कुनै ओचित्य नरहने बताए ।

नेपाली कांग्रेसका नेता समेत रहेका उपाध्यायले हालको गठबन्धनमा आफ्नो कुनै समर्थन नरहेको बताए।  साथै,उनले लोकतन्त्रमा विश्वास गर्ने कोही पनि यस्तो गठबन्धनको पक्षमा नरहेको भन्दै त्यसको परिणाम निर्वाचनमा देखिने स्पष्ट पारे। अहिले भएको गठबन्धनलाई उनले अनैतिक गठबन्धनको संज्ञा दिए।

कार्यक्रममा बोल्दै उनले अहिलेको अवस्थामा नेपाली कांग्रेस एक्लै निर्वाचन लडेको अवस्थामा पनि स्वतः पहिलो पार्टी भन्ने दाबी गरे। यसैगरि उनले नेपाली कांग्रेसमा टिकट वितरणमा समेत आफूसँग कुनै छलफल नगरिएकोमा दुखेसो पोख्दै नेपाली कांग्रेससँग संवादहीनताको अवस्था रहेको बताए ।

निर्वाचन पछि नेपाली कांग्रेसमा ठूलो सुधारको आवश्यकता रहेको बताएका उपाध्यायले आफूले त्यसका लागि प्रयास गर्ने बताए। ‘नेपाली कांग्रेस यसरी चल्दैन। नेपाली कांग्रेसका दुई युवा महामन्त्रीहरुले समेत अपेक्षकृत काम गर्न नसकेको भन्ने आम कार्यकर्ताको गुनासो रहेको छ। यसलाई सुधार्नुपर्ने देखिएको छ‘, उनले भने।

आफ्नो निर्वाचनले क्षेत्रमा पुगेका उपाध्यायले जनतामा ठूलो निराशा देखिएको बताए। ‘नेताहरुमा दूरदर्शीता कम देखिन्छ, जनतामा भ्रम पार्नेकाममा मात्र तल्लीन रहेका नेताहरु। तर, युवाहरुमा ठूलो निराशा चाहिरहेको छ। यसबारे नेताहरुले सोच्नुपर्ने बेला आएको छ’, उनले भने।

नेपालका राजनीतिक दलहरुले समानुपातिक निर्वाचन प्रणालीको दुरुपयोग गरिरहेको भन्दै आफ्ना आसेपासेको भर्ति केन्द्र बनाएको आरोप लगाए। यस्तै, नेताहरुले आफूहरुले निर्णय गरे जनताले समेत मान्छन् भन्ने सोच्नु मानव चेतनाको अबमूल्यन रहेको भन्दै त्यसको जवाफ यसपाली जनताले दिने दाबी गरे।

अहिलेको निर्वाचनमा प्राय सबै राजनीति दलले कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको एजेण्डालाई अगाडि बढाएको भन्दै देशलाई अधिनायकवादमा लग्न खोजीएको आरोप लगाए। साथै, नेपाली जनता समयमा सतर्क नभए देशमा अन्तरसंघर्ष चर्किने भन्दै उनले भने-‘यदि यसै भयो भने देशमा अन्तराष्ट्रिय शक्तिले खेल्ने ठाउँ पाउँछन्’।

ज्ञानको आधारभूमी देशलाई प्रयोगशाला बनाइरहेको नेताहरुले अहिलेको व्यवस्था सफल हुनसकेन भनेर नयाँ प्रयोग गरेर देशलाई कार्यकारी तिर लान खोजिएको संकेत स्पष्ट पारे ।

भारतका लागि नेपाली राजदूत भएका उपाध्यायले नेपालमा संस्थागत नीति र कुटनीतिक अपरिपक्वता रहेको भन्दै सुरक्षा नीति र परराष्ट्र नीतिलाई सुपरिभाषित गर्नुपर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *