शीर्षक : विद्यार्थी
छन्द :मन्दाक्रान्ता
विद्यार्थी हौ नव नव कुरा सिक्नलाई तयार
ज्ञानी बन्दै दिन दिन तिमी दैनिकी त्यो सुधार
फाल्दै मैलो मनमगजको ज्योति छर्दै रमाऊ
बाबा आमा सकल दुनियाँ माझमा ताज लाऊ॥१
सिक्दै जाऊ जगतभरिका ज्ञान विज्ञान राम्रो
बन्छौ मान्छे सरल मनका मिल्छ सद्भाव राम्रो
पुग्लान् सारा रहर मनका सोच आफै विचार
पढ्दै जाऊ सहज सितले दिव्य आत्मा तिखार॥२
आमा बाबा प्रथम गुरु हुन् प्रेमका पाठशाला
हेर्छन् आँखा रनबन डुली ज्योति भर्दै विशाल
विद्यार्थी हो गुरू शरणमा पर्नु पर्ने झुकेर
खोला जस्तै सललल बगेस् लक्ष्य यौटै लिएर३
यात्रा तिम्रो हिमशिखरमा चढ्नलाई हतार
बढ्दै जाओस् गुण अझ बडो छर्नु आभा अपार
तिम्रो बास्ना मगमग गरी फूलमा मुस्कुराओस्
झर्ना जस्तै झरझर गरी धून सारा जगाओस् ॥४
No ads found for this position
प्रतिक्रिया


Facebook Comment