कथा : आस्तिक

खेमराज पोखरेल
१० मंसिर २०७९ ६:१०

अचेल ऊ आस्तिक र नास्तिकको दार्शनिक चक्करमा परेको छ। ऊ पेसाले ड्राइभर हो। बोलेरो जिप छ उसको । आफ्नै जिप हो। ऊ आफ्नै जिपको ड्राइभर हो। उसको जिपलाई सबै खाले मान्छेले ‘रिजर्भ’ गर्छन्। धेरै खाले मान्छेको चरित्रको ज्ञान छ उसलाई। अनुभव छ उसलाई।

ऊ मान्छेको चरित्र सररर भन्न सक्तछ। उसको आफ्नै पनि एउटा चरित्र छ। उसलाई आफ्नो चरित्र राम्रो र असल लाग्छ। उसलाई असल यस मानेमा लाग्छ कि ऊ दारू खाँदैन। ग्राहकलाई लुट्दैन। भनेको पैसा पनि छोड्दैन। रण्डीबाजी पनि गर्दैन।

आमाबाबु, श्रीमती, छोराछोरी, आफन्त तथा इष्टमित्र सबैलाई माया गर्छ, सम्मान गर्छ। ऊ मान्छेलाई सम्मान गर्छ। उसको जिप खाली बस्दैन। उसका ग्राहकहरुमा सम्झने एउटा ग्राहक हुन् दिगम्वरेश्वर बाबा।

उनले नेपालका धार्मिक स्थलको तीर्थयात्रा गर्न उसको जिप रिजर्भ गरेका थिए। झापाको काँकडभिट्टाबाट सुरू भएको उनको यात्रा महाकाली कञ्चनपुरसम्मको थियो। जिपभरि सबै बाबैबाबा मात्र थिए। उनीहरुका गेरुवा वस्त्रले जिप राताम्मे भएको थियो।

उसको जिप पाथिभराका लागि फुङलिङतर्फ लाग्यो। बाटाभरि उनीहरु ज्ञानगुनका कुरा गर्थे। परमार्थका कुरा गर्थे। मान्छे अज्ञानी भएको कुरा गर्थे। धन्न भगवान्का कृपाले आफूले ज्ञान प्राप्त गरेको कुरा गर्थे। ऊ आधा बुझ्थ्यो आधा बुझ्दैन थियो।  खासमा बुझ्नु पनि थिएन।

बेलुका बास बस्ने बेलामा हेड बाबाले ऊसँग सोधेः ‘बाबु कस्मा हो?’ ‘विश्वकर्मा’ बाबाको अनुहार एकाएक उड्यो। गाडीबाट ओर्लेर अलिपर गए र आफ्नो चेलालाई सोधेः ‘कसले खोजेको यो गाडी? विश्वकर्मा ड्राइभर थाहा भएन तपाईँहरुलाई?, अब कसरी यात्रा गर्नु? यसरी त वरत्र मात्र होइन परत्र पनि बिग्रन्छ।

सामाजिक चालचलन पनि त केही कुरा हो। पैसा त दिइ सकियो’ ‘लामो यात्रामा यो छुवाछुत लाग्दैन गुरूदेव’ अर्को बाबाले मध्यमार्गी बाटो अपनाए। मूल बाबाले मान्दै मानेनन्।

यो सबै कुरा सुनेको उसले बाबालाई भन्योः ‘तपाईँहरु अर्को गाडी खोज्नु होस्, तपाईँहरुको पैसा फिर्ता हुन्छ’ उसले पेस्की लिएको पैसा काँकडभिट्टादेखि फुङलिङसम्म र फिर्ता जाने सबै कटाएर फिर्ता गरिदियो र कुलेलम ठोक्यो।

उसले सदाको भन्दा १००० बढी श्रीमतीलाई दियो। श्रीमतीले भनिन्ः ‘बल्ल आज असल ग्राहक पाउनु भएछ’ चुनावको बेला थियो। देशको ठूलो पार्टीले एक दिन गाडी माग्यो। गाडी गाउँगाउँ धुलो बाटोमा थोत्रो हुन्जेल कुद्यो। बेलुका बिर्ता बजारमा आउँदा रातको १२ बजेको थियो।

उसको मनमा लाग्योः ‘यी बाबाहरु आस्तिक कि नास्तिक? मान्छेको अपमान कुन आस्तिकताभित्र पर्छ कुन्नि? मानवताको उपहास के धर्म हो? यिनीहरुको वरत्र के हो ? परत्र के हो?

अर्का सामान्य तीर्थयात्री। उसले पहिले नै भन्योः ‘हजुर म त विश्वकर्मा हुँ’ यो समूह प्रगतिशील निस्क्योः ‘भाइ, हामी जातपात मान्दैनौँ। यो संसारका सबै प्राणी, वनस्पति र चराचर जगत् भगवान्को सृष्टि हो।

भगवान्का द्वारमा सबै बराबर’ यो टोली काठमाडौँ जाने थियो। बाटाका जानकी, देवघाट, मनकामनाको यात्रा गर्दै काठमाडौँ। उसले हेर्‍यो कि उनीहरु राम्रा कालीगढी मूर्तिलाई रङ, अक्षता र केशरीले विरुप पार्दै थिए।

पशुपतिको हनुमान्को मूर्तिको मुखभरि लड्डु कोचारेर धर्म गर्ने मान्छेको रुपका प्रतिनिधि थिए। सत्बिज छर्ने नाउमा टनका टन अन्न फाल्ने परम्पराका अन्धविश्वासी थिए। ढुङ्गाको पूजाले मनमा शान्ति हुन्छ भनी विश्वास गर्ने धर्मभीरुहरु थिए।

मनकामनामा बोका बलि दिएर अघाउन्जेल मासु खाने र धर्म गर्ने थिए यिनीहरु। व्यावहारिक जीवनमा अति पाप गर्ने र देवघाटको कालीगण्डकीमा नुहाएर पाप पखाल्न अभ्यस्त थियो यो समूह।

काठमाडौँको तीर्थयात्रा सकेर ऊ टोली लिएर फक्र्यो काँकडभिट्टा। पैसा दिनेबेलामा किचकिच गर्न थाल्यो यो प्रगतिशील धार्मिक समूह। उनीहरु भन्दै थिएः ‘झन् विश्वकर्मा भए पनि होस् भनेर लगेको त’ उसले उनीहरुलाई पैसा दिन त बाध्य पा¥यो तर ऊ मनमनै सोच्न थाल्योः ‘यी आस्तिक कि नास्तिक? प्रगतिशील कि अगतिशील?, के विश्वकर्मा हुनु अपराध हो?’

सर्वज्ञमान व्यापारीले उसको गाडी भाडमा लिन खोजे। उसले भन्योः ‘हजुर म विश्वकर्मा हुँ’ ‘आ भाइले पनि, के जातपातको कुरा गरेको होला’ कन्काई किनारमा ठूलो सप्ताह लागेको थियो। १००८ वाक्पटोपाध्याय पुराणवाचक थिए।

उनको पुराण सुन्न सर्वज्ञमानको टोली उसकै जिपमा पुग्यो। त्यो टोलीमा एकजना विद्यावारिधि गरेका प्रोफेसर थिए, अर्का सर्वज्ञमान जो एस.एल.सी. पनि नगरेका धनी जग्गा व्यापारी थिए। अरु अन्य अन्य थिए।

१००८ वाक्पटोपाध्यायका दूतले आउने मान्छे यसो सररर हे¥यो, खासखुस ग¥यो। एकैछिनपछि वाक्पटोपाध्यायका मुखारविन्दबाट माइकमा उद्घोष गरियोः ‘अति ज्ञानी, समाजसेवी, आध्यात्मका पुरूष, चारआली निवासी परमदानी श्री सर्वज्ञमानज्यूलाई यहाँ व्यासासनमा आइ दिन अनुरोध गर्दछु’ जग्गा व्यापारी सर्वज्ञमान आफैँ आफ्नो विशेषण सुनेर तिन छक्क परे। उनलाई लाग्यो सायद अर्कै सर्वज्ञमान होलान्।

दूतले हातै समाउन आउँदा पो उनलाई थाहा भयो सर्वज्ञमान त उनै रहेछन्। उनलाई खादा ओढाइयो। वाक्पटोपाध्यायले आफूले लगाएको दुबोको माला झिकेर लगाइ दिए। तल दर्शकदीर्घामा बसेका सबैले जयजयकार गरेः ‘सर्वज्ञमानकी-जय’।

यो आवाज चारैतर्फ राखिएका माइकले जोडतोडले कराए। फेरि वाक्पटोपाध्यायले मधुर सङ्गीतमय वाणीमा भनेः ‘अब सर्वदानी श्री सर्वज्ञमानज्यूलाई दुई शब्द व्यक्त गरिदिन हुन अनुरोध छ’ गडडडडडडड ताली बज्यो। जग्गा व्यापारी जुरूक्क उठे। माइक दिइयो।

र भनेः ‘एकलाख भेटी चढाउँछु’ ‘उहाँ असाध्यै मजाक्रिया मान्छे, म उहाँलाई मात्र होइन उहाँको पिता तथा पितामहसम्मका सबैलाई चिन्छु। उहाँहरुका खान्दान नै दानी’ अन्त्यमा पाँचलाख नदिई सुखै पाएनन् सर्वज्ञमानले।

प्रोफेसर मुसुमुसु हाँस्दै थिए। जिप हुइँकियो। सर्वज्ञमान भन्दै थिएः ‘लुटिहाले नि, चोट्टा रहेछन्’ ऊ गाडी हाँकिरहेको थियो र मनमनै गम्दै थियोः ‘को आस्तिक सर्वज्ञमान कि, वाक्पटोपाध्याय वा ताली पड्काउने दीर्घा?, को ज्ञानी? विद्यावारिधि गरेका प्रोफेसर कि जग्गा दलाल? आस्तिकले लुट्छ कि नास्तिकले? कि दुवैले? ।

दुईजना मिलेर उसको गाडी एक दिनका लागि भाडामा लिन खोजे। उसले सोध्योः ‘हजुर कहाँसम्म जाने?’ ‘यसो धरानसम्म जाने। भेडेटार पुग्ने एक दुई घण्टा बस्ने अनि बिर्तामोड नै फर्कने’ ‘हजुर म विश्वकर्मा हुँ नि’ ‘यो भाइ त कस्तो हुनु हुँदो रहेछ, सानले भन्नुस् गौरवले भन्नुस्, म विश्वकर्मा हुँ, यो जात त जाली फटाहाले दाईँ हाल्न बनाएका हुन्’ ऊ राजी भयो। पैसा पनि तय भयो।

धरानमा पुगेर एउटा होटलमा गाडी रोकियो। होटलमा ऊ पनि बोलाइयो। उनीहरुले उसलाई भनेः ‘भाइ खानुहोस्, जे मन लाग्छ खानुहोस्, रक्सी चाहिँ नखानू है, गाह्रो नमान्नू है, यसो रमाइलो मात्र हो’ ‘हजुर म रक्सी कहिल्यै पनि खान्नँ’ उसले भरपेट मन लागेको कुरा खायो र आफ्नै पार्क गरिएको गाडीमा सुत्यो।

दुई घण्टापछि उनीहरु निस्के। जाँड लागेको थियो। उसको गाडी भेडेटारतिर हुइँकियो। उनीहरु एउटा होटलतिर छिरे। उनीहरुले उसलाई भने ‘बस्तै गर्नु है भाइ, जे खानुहुन्छ खानू’ त्यसैबेला उनीहरुले साहुनीलाई भनेः ‘यो भाइले जे खानुहुन्छ, दिनू’ ‘हस हजुर’ होटल मालिक्नीले मुन्टो हल्लाई र फेरि भनीः ‘हजुरहरुलाई ‘लोकल’ कि ‘इम्पोर्टेड ?’ ‘आ भाउजू पनि, अस्तिकै लोकल नि’

उनीहरु भित्री कोठामा गए। साहुनीले फोन घुमाइन्ः ‘हेलो साइँली, तेरो अस्तिको आएको छ साथी लिएर, तँ पनि छिट्टै आइज डल्लीलाई लिएर, छिटो गर’ एकछिनपछि दुइटी भित्री कोठामा छिरे।

साहुनीले उसलाई पनि भनिन्ः ‘गुरूजी लोकल चाख्ने बानी छैन?’ ‘हजुर, छैन। म रक्सी खान्नँ’ ‘रक्सीको कुरा कसले गरेको छ र? लोकल केटी भनेको के। पैसा म उतैबाट मिलाइ हाल्छु, मगाइ दिऊँ?’ ‘होइन हजुर त्यो पनि चल्दैन’ ‘यो गुरूजी त साँच्चैको जोगी हुनुपर्ने मान्छे रहेछ।

ए गुरूजी, यहाँ त तागाधारी जोगी पनि सगल्तै निस्कँदैनन् त’ करिब दुई घण्टापछि पहिला ती दुई लोकल निस्के र चोरबाटोबाट बाहिरिए। त्यसपछि उनीहरु आए ।

साहुनीलाई सोधेः ‘कति भयो?’ ‘……………………..’ ‘आउँदै गर्नू है, फेरि ‘पियोर लोकल’को व्यवस्था गरुँला’ उनीहरुलाई लिएर उसको गाडी ओरालो लाग्यो। उनीहरु अति नै मातेका थिए। उनीहरु बात पनि मार्दै थिएः ‘अरे यार दमदार।

मजा आयो’ ‘हो त नि’ ‘मैले त एक हजार टिप्स दिएँ’ ‘मैले पनि’ ‘उनीहरुले काम गरेर खाएका छन्, चोरेको ढाँटेको होइन नि’ ‘ठिक भन्नुभयो निमकको हराम गर्न हुन्न नि’ ‘नेताले कामै नगरी थर्काएको भरमा चन्दा लैजान्छन्, बाबा जोगीहरु हुँदो न खाँदो डर देखाएर पैसा लुट्छन्’ ‘अर्काको श्रमलाई त्यसै खान पाप हो सर, जीवनमा पाप चाहिँ गर्न हुन्न, आफ्नै आत्माले सराप्छ’ उसको गाडी बिर्तामोड पुग्यो।  सरक्क पैसा दिए। रू १००० टिप्स पनि दिन खोजे।

उसले भन्योः ‘यो थप पैसा किन हजुर? म काम गरेको मात्र लिन्छु, यो लिन्नँ’ ‘कस्तो भाइ हुनु हुँदो रहेछ? यो पनि तपाईँले काम गरेकै पैसा हो। तपाईँले काम गर्नुभयो। हाम्रो काम गर्नुभयो। राम्रो काम गर्नुभयो, हामीले खुसीले ‘टिप्स’ दियौँ।

यो गलत होइन। यो घुस होइन। उनीहरु पर पुगिसकेका थिए। उसले सोच्योः ‘यी आस्तिक हुन् कि नास्तिक ?, यी दानी हुन् कि कन्जुस ?, यी ज्ञानी हुन् कि अज्ञानी?, मलाई पनि तपाईँ भनेर त्यत्रा ठूला मान्छेले पो भन्छन् त’ ऊ घर पुग्यो। श्रीमतीले सोधिन्ः ‘आज कति भयो?’।

उसले सदाको भन्दा १००० बढी श्रीमतीलाई दियो। श्रीमतीले भनिन्ः ‘बल्ल आज असल ग्राहक पाउनु भएछ’ चुनावको बेला थियो। देशको ठूलो पार्टीले एक दिन गाडी माग्यो। गाडी गाउँगाउँ धुलो बाटोमा थोत्रो हुन्जेल कुद्यो। बेलुका बिर्ता बजारमा आउँदा रातको १२ बजेको थियो।

गाडीमा तेल उनीहरुले नै हालेका थिए। उसले भाडा माग्योः ‘हजुर भाडा’ ‘कति भयो ?’ ‘२००० हजुर’ उनीहरुले चन्दा रसिद थमाए। लेखिएको थियोः सधन्यवाद रू २००० प्राप्त भयो। उनीहरुसँग बन्दुक, खुकुरी, भाला थिए। ज्यान जोगाउनै श्रेयस्कर लाग्यो।

उसले आफूले काम गरेको पैसा उठाउन सकेन। उसले मनमनै सोच्योः ‘यस्ता नेता, यस्तो पार्टी, थुइक्क निमकमारा, यस्ताले त देश चलाएका छन्, थुइक्क, अझै दलित मुक्ति र जनताको मुक्तिको कुरा गर्छन्’ खोइ यी आस्तिक हुन् कि नास्तिक उसले थाहै पाएन।

घरपुग्दा श्रीमतीले सोधिन्ः ‘आज कति भयो?’ उसले जवाफ दियोः ‘ज्यान जोगिए त लाख भला’ ऊसँग छासमिसे ग्राहकको पनि अनुभव छ। उसको गाडी चढ्ने ग्राहकमा एउटा वैष्णव। वैष्णव खसी पाल्छ र भन्छ ‘यो अठार किलो छ’। र बेच्छ बगरेलाई।

त्यो वैष्णव हिंस्रक कि अहिंस्रक? अर्को मांसाहारी भन्छः ‘म त खसी पालेर, खसी काटेर मासु खान सक्तिनँ, बगरेकोमा गयो त्यो मात्रै खान सक्छु’ अर्को कति हिंस्रक कति अहिंस्रक? तिनीहरु कति आस्तिक कति नास्तिक?

मान्छेको अपहेलना गर्ने धर्मभीरु, कर्मकाण्डी समाज, भ्रष्ट नेता, घुसखोर कर्मचारी, कामचोर शिक्षक, वेश्यागामी आदि आदि आस्तिक कि नास्तिक? ऊ घर पुगेको छ। उसको टाउको दुखेको छ। सुत्यो।

उसको व्रह्माण्ड तातेको छ। श्रीमतीले भनिन्ः ‘सिटामोल मगाऊँ?’ ‘यो सिटामोल खाएर निको हुने हो र लाटी’ ‘तातोपानी खानुस् न त’ उसले श्रीमतीलाई एकटकले हेर्‍यो। ‘के कहिल्यै नदेखेजस्तो गरेर हेरेको?’ तर उसले श्रीमतीलाई हेरि नै रह्यो। उसलाई लागिरहेको थियोः ‘यी कोही आस्तिक होइनन्। ढोँगी हुन्। यो श्रीमती चाहिँ आस्तिक हो, आस्तिक’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *