एआइजी बढुवाका लागि नौ डिआइजी प्रतिस्पर्धामा, आयोगले दियो सहमति

डिसी नेपाल
१३ मंसिर २०७९ २०:५८

काठमाडौं । नयाँ सरकार गठन नहुँदै नेपाल प्रहरीमा रिक्त रहेका चार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि निर्वाचन आयोगले सहमति दिएको छ । गृहमन्त्री बालकृष्ण खाँण काठमाडौ आए लगत्तै एआइजी बढुवाका लागि सहमति मागिएपछि आयोगले सहमति दिएको हो ।

‘गृह मन्त्रालयलाई एआईजी बढुवाका लागि अनुमति मागेको थियो, आयोगले सहमति दिएको छ’, मन्त्रालयका एक अधिकारीले भने ।आयोगले सोमबार दिउसो सहमति दिएको हो ।

आयोगले सहमति दिए लगत्तै २०७९ असारमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह र दीपक थापा मध्ये को पहिलो नम्बरमा एआइजीमा बढुवा हुने भन्ने बारेमा प्रतिस्पर्धा चलेको छ ।

बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत डीआईजी किरण बज्राचार्य, उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत मीरा चौधरीसहित सन्दीप भण्डारी, दुर्गा सिंह र किरण राणा पनि एआईजीका प्रतिस्पर्धी भएसँगै उनीहरु चार जना एआइजी हुने दौडमा रहेका छन् ।

‘डिआइजीहरु कुँवर, राई, सिंह र थापाबीच प्रतिस्पर्धा चलेको छ, अन्य डिआइजीहरु पनि शक्ति केन्द्रको दौडमा रहेका छन्’, प्रहरी प्रधानकार्यालय स्रोतले भन्यो । एआईजीहरू विश्वराज पोखरेल, मुकुन्दराज आचार्य, अरुणकुमार बीसी र रवीन्द्रबहादुर धानुकले अवकाश पाएसँगै नेपाल प्रहरीमा चार एआईजी पद रिक्त भएपछि सरकारले बढुवाको तयारी गरेको छ ।

मधेस प्रदेशका डीआईजी मसाउद आलम खाँ, लुम्बिनी प्रदेशका डीआईजी नलप्रसाद उपाध्याय र सुदुरपश्चिम प्रदेशका डीआईजी मोहनकुमार आचार्य आइजीपी सिंहका व्याचीहरु पनि प्रतिस्पर्धामा रहेका छन् । तर उपाध्याय र आचार्यको विरुद्धमा आर्थिक अनियमिता गरेको आरोप लागेको छ ।

गृहमन्त्रालय र आइजीपी सचिवालयमा परेको उजुरीका कारण उनीहरु बढुवा नहुने संकेत गरेको पनि प्रहरी प्रधानकार्यालयका एक अधिकारीले भने । उनीहरू आईजीपी धिरजप्रताप सिंहसँगै २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका ब्याचमेट हुन् । अहिले बढुवा हुने डिआइजीहरु मध्येबाट नै आउदो चैतमा आइजीपीमा बढुवा हुनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *