दोमुखामा थपिँदै पूर्वाधार : पर्यटकको आकर्षण बढ्दो

डिसी नेपाल
१९ मंसिर २०७९ ११:००

गौरादह। झापाको प्रमुख पर्यटकीय क्षेत्र दोमुखा पछिल्लो समय आन्तरिक पर्यटकको थप आकर्षण बन्दै गएको छ। शिवसताक्षी नगरपालिका–९ को कन्काई नदीको तटमा रहेको दोमुखामा हिउँदयाम लागेसँगै वनभोज खाने तथा अवलोकन गर्नेको लर्को लाग्न थालेको छ।

प्रदेश १ को प्रमुखमध्येको पर्यटकीय गन्तव्य रहेको यस स्थानमा धमाधम पूर्वाधार निर्माण थपिएसँगै पर्यटकको थप रोजाइमा परेको छ। दोमुखा पर्यटन विकास समितिका अनुसार हिउँदयाम सुरु भएसँगै यहाँ दर्जनौँ वनभोज टोली आउने गरेका छन्। समितिका उपाध्यक्ष रमेश तिम्सिनाका अनुसार वनभोजको सिजनमा यहाँ दैनिक एक हजारभन्दा बढी पर्यटक आउने गरेका छन्।

पर्यटकीय क्षेत्र दोमुखालाई नै लक्षित गरी यहाँ शिवसताक्षी नगरपालिकाले नगरकै सबैभन्दा बढी बजेट यहाँ विनियोजन गरेको छ। नगरप्रमुख रोशन थोप्राका अनुसार दोमुखालाई नै लक्षित गरी रु छ करोड विनियोजन गरिएको छ। सोमध्ये रु पाँच करोडको लागतमा करिब तीन किलोमिटर सडक कालोपत्रे हुँदैछ।

पूर्वपश्चिम राजमार्गको माईधार चोकदेखि चुरे क्षेत्रसँग जोडिएको दोमुखासम्मको दुई किलोमिटर नौ सय मिटर सडक कालोपत्रे हुँदैछ। यसका लागि रु पाँच करोड छुट्याइएको छ। यसका लागि बोलपत्र आह्वान भइसकेको छ। यो सडक कालोपत्रे भएपछि पूर्वी नेपालका साथै सीमावर्ती भारतका पर्यटकसमेत थप आउने अपेक्षा गरिएको छ।

दोमुखा पर्यटकीय क्षेत्रमा वालउद्यान र सङ्ग्रहालयसमेत निर्माणाधीन छ। निर्माणाधीन वाल उद्योगनका लागि स्वीमिङ पुल निर्माणका लागि नगरपालिकाले रु ४५ लाख छुट्याएको छ। यसैगरी दोमुखामा पर्यटकको थप आकर्षणका लागि बहुसांस्कृतिक सङ्ग्रहालयसमेत बनिरहेको छ। सोही सङ्ग्रहालयका लागि थप रु १० लाख विनियोजन गरिएको नगरपालिकाले जनाएको छ।

कन्काई नदीबाट नहर सुरुआत गरी बाँध निर्माण गरिएको र चुरे क्षेत्रसँग जोडिएको मनोरम क्षेत्र दोमुखामा दर्जनौँ नेपाली चलचित्र तथा म्युजिक भिडियोसमेत छायाङ्कन भएका छन्। यो स्थानमा पूर्वी नेपालका विभिन्न जिल्लाका साथै भारतको पश्चिम बङ्गाल, सिक्किम, विहारलगायतका स्थानबाट समेत पर्यटक आउने गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *