सास रोकिने रोमाञ्च र वर्षौंदेखिको सपनाको पूर्णताको ‘परी कथा’

डिसी नेपाल
४ पुष २०७९ ११:०७
1.0k
Shares

काठमाडौं । लियोनल मेस्सी विश्वकप फुटबल ट्रफीको नजिक पुगे । उनी अलिकति झुके र धेरै नम्रताले ट्रफीलाई चुम्बन गरे। र जब विश्वकप ट्रफी हातमा आयो, उनले भने, “म यसलाई धेरै दृढताका साथ चाहन्थें। मलाई लागिरहेको थियो कि भगवानले मलाई यो दिनुहुनेछ। यो मेरो पल हो।”

कतारको लुसेल रंगशालामा आइतबार लेखिएको कथा ‘परीकथा’ जस्तो लाग्छ । तर केवल मेस्सीका लागि मात्र यो परीकथा होइन । सफलता, प्रसिद्धि र खुशी हरेक पात्रका लागि आयो जसले आफ्नो हृदयमा इच्छा लिएर यस कथाको कथानकमा प्रवेश गरेका थिए । कसैको भागमा थोरै बढी र कसैको भागमा थोरै कम।

तर कसैको पनि झोला भने खाली रहेन । जसमा फाइनल खेलिरहेका अर्जेन्टिना र फ्रान्सका टोलीका खेलाडी, समर्थक र तटस्थ फुटबलको मजा लिइरहेका फ्यानहरू पर्छन्। मेस्सीका अनुसार, “यो पूर्णतया पागल बनाउने खालको खेल थियो।” मेस्सी त मैदानमा थिए । तर जो बाहिर बसेर वा टिभी सेटमा खेल हेरिरहेका थिए, उनीहरूको पनि यो म्याचलाई लिएर मत फरक थिएन ।

इङ्ल्यान्डका पूर्व खेलाडी एलन शियररले भने, “हाम्रो सास रोकिएको थियो । यो अविश्वसनीय फाइनल थियो। मैले यस्तो खेल पहिले कहिल्यै देखेको थिइनँ। र, मलाई लाग्दैन कि म यस्तो खेल फेरि देख्छु। यो एक अचम्मको खेल थियो। ।”

हामी त्यो फाइनलको कुरा गर्दैछौं जहाँ खेल सुरु भएदेखि करिब ७० मिनेटसम्म एकतर्फी खेल भयो । सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले यसको नतिजा ‘स्क्रिप्टेड’ वा पहिले नै तय भएको आरोप लगाउन थाले ।

त्यतिन्जेलसम्म सबै कुरा लियोनेल मेस्सी र अर्जेन्टिनाको टोलीको पक्षमा चलिरहेको थियो । नियतिले आधुनिक युगका ‘महान’ फुटबल खेलाडीलाई कतारबाट रित्तो हात नपठाउने निर्णय गरेझैं देखिन्थ्यो ।

त्यतिबेलासम्म फ्रान्सको टोली अर्जेन्टिनाको अगाडि निरीह देखिन्थ्यो । जो लगातार दुई विश्वकप जितेर ब्राजिलको ६० वर्ष पुरानो कीर्तिमानको बराबरी गर्ने उद्देश्य लिएर पुगेको थियो तर बलियोसँग नलडी हार मान्न लागेजस्तो देखिन्थ्यो ।

यत्तिकै ९० मिनेटमै जितेको भए पनि मेस्सी, अर्जेन्टिना र उनका समर्थकहरू सातौं आकाशमा हुने थिए तर त्यो नतिजाले कतारको विश्वकप फाइनलको कथालाई ‘अमरता’ दिन सक्ने थिएन।

फ्यानहरुले जितमा हर्षोल्लास त गर्थे तर उनीहरुको मुटु तिब्र गतिमा धड्किरहेको र छातीबाट बाहिर निस्किन खोजिरहेको महसुस हुने थिएन । ‘भन कसले जित्छ ?’ भनेर आफ्ना साथिहरूसँग बाजी लगाउन सक्ने थिएन्। वा ‘(किलियन) एमबाप्पेले मेस्सीलाई छायामा त पार्दैनन् ? भनेर सोच्न सक्ने थिएनन् ।

त्यस्तो भएको भए फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई ‘प्रोटोकल’ को सीमा भन्दा बाहिर एक किशोर प्रशंसकले जस्तै आफ्नो मुट्ठी र दाँत बाँधेर आफ्नो आँखा ठुला ठुला पारेर खेल हेरिरहेको देखन पाइने थिएन । उन्माद र अनियन्त्रित भावनाहरूको बाढी आँखामा देख्न पाइने थिएन।

तर, शायद यो कथामा यी सबै हुनैपर्छ भन्ने नियतिले पहिल्यै तय गरिसकेको थियो । र्, शायद खेलको ८० औं मिनेटमा पहिलो गोल, त्यसको दुई मिनेटमै दोस्रो र अतिरिक्त समयमा तेस्रो गोल गरेका एम्बाप्पेको चमत्कारिक खेलले फ्रान्सको हैसियत र खेलको रोमाञ्चकता उत्कर्षमा पुग्ने पनि तय थियो ।

र, यसले साधारण र लगभग ‘बोरिंग’ कथामा एकपछि अर्को यस्तो रोमाञ्चक मसला भर्न थाल्यो, जुन कमर्शियल फिल्मका अन डिमांड कथा लेखकहरूले पनि कल्पना गर्न सक्दैनन्।

इंग्ल्याण्डका पूर्व खेलाडी रियो फर्डिनान्डले भने, ‘त्यहाँ जे भयो मैले त्यसको कल्पना पनि गर्न सक्ने थिइन ।’ तर, खेलाडी र फ्यानले खेलको बारेमा कल्पना नगरेको भने होइन ।

सन् २०२२ को विश्वकप फुटबलको फाइनल खेल सुरु हुनुअघि नै रंगशालामा उपस्थित र विश्वका कुना कुनामा रहेका टिभी सेटमा नजर राखेका फ्यानहरूले आफूले कुन टोलीलाई समर्थन गर्ने भन्ने निर्णय गरिसकेका थिए ।

अर्जेन्टिनाको राजधानी ब्यूनस आयर्सको सडकमा यति धेरै मानिस थिए कि गणना गर्न गाह्रो थियो। उनीहरूका कप्तान लियोनेल मेस्सीले विश्वकपमा आफ्नो अन्तिम खेल खेल्न लागेका थिए । र, त्यो भीडमा भएकामध्ये कतिको शरीरमा त्यो चर्चित ‘१० नम्बर’ जर्सी थियो, त्यो गन्नु झनै गाह्रो थियो ।

फ्रान्सको राजधानी पेरिसमा पनि फ्यानको क्रेज र उत्साह कम थिएन । पेरिसमा पनि समर्थकहरूमा १० नम्बरको जर्सीको क्रेज थियो, तर त्यहाँ जर्सीको रंग फ्रान्सेली मेगास्टार किलियन एमबाप्पेले लगाएको जस्तै थियो।

फाइनल खेललाई मेस्सी र एमबाप्पेबीचको प्रतिस्पर्धाका रूपमा मात्र हेरिएको थियो ।

अर्जेन्टिनाका फ्यानहरू रंगशालामा बढी थिए । ती फ्यानहरूमध्ये केही निकोलजस्ता पनि थिए जसले बीबीसीलाई २४ सय डलर तिरेर टिकट पाएको बताए ।

तर, उनलाई पश्चाताप भएन । निकोलसले भने, “मैले मेस्सीलाई विश्वकप जितेको हेर्नको लागि यो भन्दा बढी पैसा तिर्न तयार थिएँ ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन जस्ता हाइप्रोफाइल प्रशंसकहरू एमबाप्पेलाई प्रोत्साहन गर्न लुसेल स्टेडियममा उपस्थित थिए। चार दिनमा उनी दोस्रो पटक कतार पुगेका थिए । फ्रान्सको सेमिफाइनलमा मोरक्कोमाथिको जितपछि उनलाई ‘लक्की मस्कट’ मानिएको थियो ।

कल्पनाहरू आफ्नो ठाउँमा थिए, तर फाइनलको कथाले आफ्नै बाटो रोज्यो।

अर्जेन्टिनाका लागि मेस्सीले २३ औं मिनेटमा पहिलो गोल गरेका थिए । अर्जेन्टिनाका लागि ३६ औं मिनेटमा एन्जल डि मारियाले दोस्रो गोल गरे । पहिलो हाफमा थप गोल भएन ।

फ्रान्सका लागि खेल हात बाहिर गइरहेको थियो तर ८० औं मिनेटमा एमबाप्पेले फ्रान्सका लागि पहिलो गोल गरेका थिए । ८१ औं मिनेटमा एमबाप्पेले दोस्रो गोल गर्दै फ्रान्सलाई अर्जेन्टिनाको बराबरीमा ल्याएका थिए ।

निर्धारित समयसम्म दुवै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा गएको थियो । मेस्सीले १०८ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । एम्बाप्पेले ११८ औं मिनेटमा ह्याट्रिक गर्दै फ्रान्सलाई बराबरीमा ल्याएका थिए ।

एम्बाप्पेको करिश्मा ८० औं मिनेटमा उत्कर्षमा आयो । त्यतिन्जेल मेस्सीको नाम चर्चामा थियो तर त्यसपछिको बाँकी ४० मिनेटमा एमबाप्पे कथाको केन्द्रमा थिए।

१० नम्बरको जर्सी लगाएका यी खेलाडी सोही नम्बरको जर्सी लगाएका विपक्षी खेलाडीको पार्टी बिगार्ने अडानमा देखिएका थिए ।

तर कथा अझै बाँकी नै थियो । खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको थियो र फाइनलअघि नै मेस्सीको लागि विश्वकप जित्ने घोषणा गरेका अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले मोर्चा सम्हालेका थिए ।

उनी फ्रान्स र विश्वकपबीचको पर्खाल बनेका थिए । फ्रान्सले चार मौका पाए पनि दुई मौकालाई मात्रै गोलमा परिणत गर्न सक्यो । इमिलियानोले दुई प्रयासलाई व्यर्थ पारिदिए ।

जित तय गरेपछि एमिलियानोले भने, ‘मैले देखेको सपना साकार भएको छ ।’ उनले थप भने, “मसँग शब्द छैन। पेनाल्टी सुटआउटमा म शान्त थिएँ। हामीले जस्तो चाहेका थियौं, सबै त्यस्तै भयो।’

इमिलियानोको प्रयासले एमबाप्पेको कडा परिश्रम बर्बाद भयो। साउदी अरेबियासँग पराजित हुँदै अभियानको सुरुवात गरेको अर्जेन्टिना विश्वकप च्याम्पियन बनेको छ ।

हारबाट निराश एमबाप्पेले आफ्नो अनुहारमा टिसर्ट तानेर अनुहार लुकाए । जस्तो कि तपाईं आफ्नो भावना लुकाउन चाहनुहुन्छ। उनलाई शान्त पार्न, राष्ट्रपति म्याक्रोन आफैं मैदानमा आउनु पर्यो।

म्याक्रोनले भने, “हामी सबै धेरै दुखी छौं। विशेष गरी हार कसरी प्राप्त भयो भन्ने देखेर दुखी छौं। हामी जितको नजिक थियौं। मैले ड्रेसिङ रुममा खेलाडीहरूलाई भनें कि हामी उनीहरूमा धेरै गर्व गर्छौं।”

म्याक्रोनका अनुसार, “मेरो विचारमा यो मैले देखेको सर्वश्रेष्ठ विश्वकप फाइनल हो।” फ्रान्सका प्रशिक्षक डिडियर देसच्याम्पले भने, ‘यो हार हृदयविदारक छ ।’

तर हारपछि पनि एमबाप्पे रित्तो हात फर्केका छैनन् । एम्बाप्पे (८ गोल) ले गोल्डेन बुट पाए । लियोनल मेस्सीले गोल्डेन बल (उत्कृष्ट खेलाडी) अवार्ड पाए । उनले सन् २०१४ मा पनि यो अवार्ड पाएका थिए ।

अर्जेन्टिनाका एमिलियानो मार्टिनेजले गोल्डेन ग्लोभ अवार्ड प्राप्त गरेका छन् । प्रतियोगिताको युवा खेलाडीको अवार्ड अर्जेन्टिनाका इन्जो फर्नान्डेजले पाए ।

सबै चाहेका र नचाहेका मोडहरू पार गर्दै विश्वकप फाइनलको कथा अन्तिम मोडमा आइपुगेको छ। फ्रान्सेली खेलाडीका आँखा रसाएका थिए । अर्जेन्टिनाका खेलाडीका आँखा पनि रसाए । कतै दुखको आँसु थियो कतै खुशीको ।

सर्कलमा आफ्ना सहकर्मीहरूसँग उत्सव मनाएपछि मेस्सीको नजर विश्वकप ट्रफीमा केन्द्रित थियो। टी-शर्टमाथि अरबी शैलीको पोशाकमा सजिएका मेस्सीले फिफा अध्यक्ष जियानी इन्फान्टिनो र कतारका शेख तमिमसँग हात मिलाए र त्यसपछि त्यो दुर्लभ ट्रफी उठाए जो अहिलेसम्म उनको सपनामा मात्र आउँथ्यो ।

कतारमा भएको पहिलो विश्वकपको कथा पुरा भएको छ । यो मेस्सी र अर्जेन्टिनाका लागि परी कथा जस्तै थियो र जब कतारले यसलाई सम्झन्छ, उसलाई पनि त्यस्तै महसुस हुन सक्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *