पाकिस्तान क्रिकेटमा ठूलो हलचल, क्रिकेट बोर्ड प्रमुख रमिज राजा बर्खास्त

डिसी नेपाल
६ पुष २०७९ १६:३१

काठमाडौं । पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष रमिज राजालाई पदबाट बर्खास्त गरिएको छ । रमीज राजा आफ्नो बयानका कारण लगातार विवादमा परेका थिए, यही बीचमा यो कडा कारबाही गरिएको हो ।

रमीज राजाको स्थानमा नजम सेठीलाई पाकिस्तान क्रिकेट बोर्डको नयाँ अध्यक्ष बनाइएको छ । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले पीसीबीको यो नयाँ नियुक्तिलाई अनुमोदन गरेका छन्।

पछिल्ला केही दिनदेखि रमीज राजालाई पदबाट बर्खास्त गर्न सकिने अड्कलबाजी चलिरहेको थियो । यद्यपि उनले बारम्बार यी रिपोर्टहरूलाई अस्वीकार गरे । रमीज राजाले पीसीबी अधिकारीहरूलाई भने कि उनले पदमा रहेर काम जारी राख्न सरकारबाट स्वीकृति पाएका थिए।

हालसालै पाकिस्तानले आफ्नै घरमा इंग्ल्याण्डसँग ०-३ ले नराम्रो हारको सामना गर्नुपरेको थियो। पाकिस्तानको क्रिकेट इतिहासमा यो पहिलो पटक भएको थियो, जब पाकिस्तानले आफ्नै घरमा टेस्ट सिरिजमा क्लिन स्वीपको सामना गर्नुपरेको थियो। इङ्ल्यान्डअघि अस्ट्रेलियाले पनि पाकिस्तानलाई आफ्नै घरमा पराजित गरेको थियो।

पछिल्लो समय रमिज राजा आफ्नो बयानका कारण चर्चामा आएका थिए । उनले भारतमा हुने एकदिवसीय विश्वकप २०२३ को लागि धम्कीपूर्ण स्वर पनि अपनाएका थिए र पाकिस्तानी टोलीको सहभागिता नहुने कुरा पनि गरेका थिए। किनभने भारतले पाकिस्तानमा हुने एसिया कप अन्यत्र आयोजना गर्नुपर्ने भन्दै खेल्न अस्वीकार गरेको थियो । त्यसबेलादेखि रमीज राजाले बीसीसीआईविरुद्ध आक्रोश पोखेका थिए ।

रमीज राजाको स्थानमा पाकिस्तान क्रिकेट बोर्डको अध्यक्ष बनेका नजम सेठी यसअघि नै यो पद सम्हालिसकेका छन् । इमरान खानको सरकार सत्तामा आएपछि उनले राजीनामा दिएका थिए । पूर्व प्रधानमन्त्री नवाज सरिफले उनलाई २०१७ मा पीसीबी अध्यक्ष बनाएका थिए। इमरान खानको सरकार गएदेखि नै शाहबाज शरीफले नजम सेठीलाई पीसीबी प्रमुख बनाउन सक्ने अनुमान गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *