यस्ता छन् नेपाल पर्यटन दशकका रणनीतिक योजना

डिसी नेपाल
८ पुष २०७९ १८:५९

काठमाडौं । सरकारले पर्यटन क्षेत्रको पुनरुत्थान योजनाअन्तर्गत नेपाल पर्यटन दशक (२०२३–२०३२) को रणनीतिक कार्ययोजना तयार गरेको छ । सो कार्ययोजनामा सन् २०३२ सम्ममा ३५ लाख विदेशी पर्यटक पु¥याउने लक्ष्य लिइएको छ भने सोही अवधिमा पर्यटन क्षेत्रमा थप १० लाख नयाँ रोजगारी सिर्जना गर्ने योजना छ ।

नेपाल पर्यटन दशक रणनीतिक कार्ययोजनाबारे जानकारी दिन आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड महामारीबाट प्रभावित बनेको पर्यटन क्षेत्रको दीर्घकालीन सोचसहितको पुनरुत्थान आवश्यक भएकाले पर्यटन दशकको अवधारणा ल्याइएको बताए । उनले नेपाल पर्यटन दशकले विश्वपर्यटन बजारमा नेपाललाई अग्रणी स्थानमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

मन्त्री श्रेष्ठले दशक कार्ययोजनाअन्तर्गत देशैभरी बहुपक्षीय पूर्वाधारको विकास गर्ने, पर्यटन क्षेत्रको पुनरुत्थान गर्दै सन् २०२४ सम्म पर्यटन आगमनलाई २०१९ को पूर्ववत् अवस्थामा पु¥याउने लक्ष्य लिइएको उल्लेख गरे ।

कार्ययोजनामा कोभिड–१९ महामारीबाट थलिएको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थान गर्दै सन् २०२४ सम्ममा पर्यटन आगमनलाई २०१९ को पूर्ववत् अवस्थामा पु¥याउने र तत्पश्चात् पर्यटन आगमन प्रतिवर्ष १५ प्रतिशतको वृद्धि गरी वार्षिक ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको छ ।

यसका साथै प्रतिपर्यटक प्रतिनिधिन खर्च ४८ अमेरिकी डलरबाट एक सय २५ पु¥याउनुका साथै देशको कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदानलाई १० प्रतिशतसम्म पु¥याउने लक्ष्य छ । यी लक्ष्यप्राप्त गर्न संस्थागत सुदृढीकरण, पूर्वाधार स्तरोन्नती, लगानी प्रवद्र्धन, पर्यटन प्रवद्र्धन, पर्यटन उपज विकास तथा विस्तार एवं विविधिकरण, कोभिडपछिको पर्यटनको पुर्नजागरण गर्दै देशैभरी पर्यटन प्रवद्र्धनका लागि प्रादेशिक तथा राष्ट्रियस्तरका अभियान सञ्चालन गरिने कार्ययोजनामा उल्लेख छ ।

पर्यटन दशक कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि तीन तहका सरकारसँग समन्वय गरेर अघि बढ्ने पर्यटनमन्त्री श्रेष्ठले जानकारी दिए । उनले भने, “पर्यटक भ्रमण वर्ष भनेर मात्र हुँदैन, त्यसका लागि हामीले पूर्णतयारी गर्नुपर्छ । विगतका पर्यटक भ्रमण वर्षले पर्यटन आगमनमा सुधार आएको आँकडाले देखाउँछ । तर, त्यतिबेलाको संरचना र अहिलेको फरक छ, त्यसैले ती संरचनालाई एउटै लयमा अघि बनाएर पूर्वाधार विकास, पर्यटनमन्त्री वातावरण बनाई निजी क्षेत्रलाई प्रोत्साहन गर्न जरुरी छ ।”

दस वर्षे अभियान

नेपाल भ्रमण दशक योजना अन्तर्गत पहिलो वर्ष अर्थात् सन् २०२३ मा कार्ययोजना निर्माण तथा योजना तर्जुमालगायत तयारी गरिने योजना छ । सन् २०२४ मा बाग्मती प्रदेश ‘थिमेटिक क्याम्पियन अफ कल्चरल हेरिटेज अफ बागमती प्रदेश’ सञ्चालन गरिनेछ । सन् २०२५ मा गण्डकी प्रदेशलाई प्राथमिकता दिएर अभियान चलाइनेछ भने सन् २०२६ मा राष्ट्रियस्तरको अभियान कार्यक्रम चलाइनेछ । त्यस्तै २०२७ मा लुम्बिनी प्रदेशमा बुद्धिष्ट पर्यटन प्रवद्र्धन, सन् २०२८ मा मधेश पर्यटन, सन् २०२९ मा सुदूरपश्चिम प्रदेशमा अभियान चलाइने छ । त्यस्तै सन् २०३० मा प्रदेश नं १ मा प्रवद्र्धन अभियान चलाइनेछ । सन् २०३१ मा कर्णाली प्रदेशमा पर्यटन प्रवद्र्धन केन्द्रीत गरिनेछ । सन् २०३२ मा राष्ट्रिय अभियान चलाइने कार्ययोजनामा उल्लेख छ ।

रणनीतिक कार्ययोजनाको रूपरेखा तयार गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन बिहीबार पर्यटनमन्त्री श्रेष्ठलाई बुझाएको थियो । नेपाल पर्यटन दशकको रणनीतिक कार्ययोजना तयार गर्न पर्यटन विज्ञ प्रचण्डमान श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको थियो ।

कार्ययोजनामा नेपालमा सबै मौसम र वर्षैभरि पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ आगामी १० वर्षसम्म हरेक वर्ष सम्पन्न गरिने भनिएको छ । नेपालको भौगोलिक, प्राकृतिक, वातावरणीय, सामाजिक, सांस्कृतिक, धार्मिक विविधतालाई पर्यटन क्षेत्रसँग आबद्ध गर्ने, पर्यटकीय सम्भाव्यताको आधारमा विशेष पर्यटकीय क्षेत्र घोषणा गरी त्यस्ता क्षेत्रमा बहुपक्षीय पूर्वाधारको विकास गर्ने कार्ययोजनामा उल्लेख छ । पर्यटकको आगमनलाई अभिवृद्धि गर्न हवाई सेवालाई थप व्यवस्थित, नियमित र गुणस्तरीय बनाउँदै अन्य मुलुकका वायुयानसँगको अन्तरसञ्जालमा आबद्ध गर्ने कार्ययोजनामा समेटिएको छ ।

पर्यटन प्रवद्र्धन र क्षेत्रको विकास गर्न सार्वजनिक, निजी तथा सामुदायिक क्षेत्रको सहकार्य एवं साझेदारीमा वृद्धि गर्ने, आन्तरिक, क्षेत्रीय एवं विश्व पर्यटन बजारमा नेपालका पर्यटकीयस्थलको प्रभावकारी बजारीकरणका लागि प्रवद्र्धनात्मक कार्यक्रम चलाउने कार्ययोजनामा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *