नेकपा एस-जसपा एकीकरण : शक्ति गुमाएकाहरूको बलियो बन्ने साझा स्वार्थ

डिसी नेपाल
२० पुष २०७९ १२:४०

काठमाडौं। पाँच दलीय गठबन्धन गरेर पनि राष्ट्रिय दल बन्न असफल एकीकृत समाजवादी र एमालेसँग तालमेल गरेर पनि राम्रो नतिजा ल्याउन असफल जनता समाजवादी (जसपा) बीच एकताका लागि गृहकार्य सुरु भएको छ।

एकीकृत समाजवादीले जसपासँग एकताका लागि गृहकार्य गर्न बोलिट्व्यूरो र स्थायी कमिटीमा छलफल पछि दुई पार्टीबीच एकताको गृहकार्य अगाडि बढेको हो।

जसपाले नेकपा एससँग एकताका लागि नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा कार्यदल नै गठन गरेको छ। कार्यदलमा नेता रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य छन्।

यी दुई दलबीच एकता भए संघीय संसदमा चौथो शक्ति बन्ने छ भने मधेस प्रदेशमा एमाले समान ठूलो दल बन्ने छ। मधेस प्रदेशमा जसपाका १६ प्रदेशसभा सदस्य छन् भने नेकपा एसका ७ सदस्य छन्।

हाल मधेसमा २३ सिटसहित नेकपा एमाले सबैभन्दा ठूलो दल छ भने २२ सिटसहित नेपाली कांग्रेस दोस्रो ठूलो दल बनेको छ। यी दुई दलबीच एकता भए एमाले समान २३ सिट हुनेछ।

संघीय संसदमा प्रत्यक्षतर्फ १० सिट जितेर पनि राष्ट्रिय दल बन्न नसकेको नेकपा एसका लागि जसपासँगको एकता बाध्यात्मक हो। पाँच दलीय गठबन्धन तोडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि नेकपा एस गठबन्धन बाहिर छ। यद्यपि उसलाई पनि सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्डले प्रयास जारी राखेका छन्।

तर सरकारमा सहभागी हुने नहुने विषयमा नेकपा एसभित्र मत बाँझिएको छ। एकथरीले सरकारलाई समर्थन गर्दै सरकारमा सहभागी हुनुपर्ने राय दिएका छन् भने अर्को थरीले सरकार भन्दा पार्टी निर्माणलाई प्राथमिकता राखेर संगठन निर्माणमा होमिनु पर्ने बताएका छन्।

संघीय संसदमा जसपाको १२ सिट छ, नेकप एससँग एकता भए उनीहरुको २२ सिट पुग्छ, जुन संसदको चौथो शक्ति बन्न प्रयाप्त संख्या हो।
हाल २० सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी संसदको चौथो शक्ति हो।

संसदको चौथो शक्तिको हैसियतले स्वतन्त्र पार्टी उपप्रधानसहित गृहमन्त्रालय लिएर सरकारमा सहभागी भइसकेको छ। जसपाले पनि शक्ति बाँडफाँटमा कुरा मिले सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ। संसदको चौथो शक्ति बन्ने अवस्थामा अन्य राजकीय पद बढी प्राप्त गर्न सकिने उनीहरुको विश्वास छ।

यी दुई दलबीच एकता भएको अवस्थामा मधेस प्रदेशमा आफ्नै नेतृत्वमा सरकार गठन गर्न सकिने जसपा नेताहरुले बताएका छन्।

हाल मधेस प्रदेश सरकार गठनका लागि जसपा र जनमत पार्टीले आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको छ। तर जसपा र एकीकृत समाजवादीबीच एकता भए आफ्नै नेतृत्वमा सरकार गठन गर्न सकिने भएकाले दुवै पार्टीबीच चाँडो एकतालाई निष्कर्षमा पुर्याउने गरी छलफल अगाडि बढाउने तयारी भइसकेको छ।

एकताका लागि कुन मोडल अपनाउने, पार्टीको नाम, भावी योजना, र कार्यनीतिका विषयमा छलफल नै सुरु नभएका कारण समय लाग्ने देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *