पुरानो समीकरणमा फर्किए प्रचण्डलाई प्रधानमन्त्री मान्न कांग्रेस तयार

सिटौला पुगे बालुवाटार

डिसी नेपाल
२४ पुष २०७९ १०:१८

काठमाडौं। अचानक पाँच दलीय गठबन्धन छोडेर माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेलगायत दलको सहयोगमा प्रधानमन्त्री बनेपछि कांग्रेस अहिलेको गठबन्धन भत्काउन लागि परेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले गैरबाम सरकार बनाउन गरेको प्रयास असफल भए पछि पूर्व महामन्त्री कृष्ण सिटौलाले शनिबार प्रधानमन्त्री प्रचण्डसँग भेटेर पुरानो समीकरणमा फर्किए आफूहरु विश्वासको मत दिएर प्रचण्डलाई प्रधानमन्त्री मान्न तयार रहेको सन्देश दिएका छन्।

सिटौला शनिबार झापाबाट काठमाडौं फर्किएपछि सिधै प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। स्रोतका अनुसार सिटौलाले पार्टीको अनुमति लिएर प्रचण्डलाई भेटेका हुन्। उक्त भेटमा सिटौलाले पुरानै समीकरणमा फर्किन प्रचण्डलाई आग्रह गरेका थिए।

बाम-लोकतान्त्रिक गठबन्धन मुलुकका लागि अझै आवश्यक रहेको भन्दै सिटौलाले पुरानै समीकरणमा फर्किन प्रचण्डलाई आग्रह गरेका थिए।

‘अहिले मुलुकलाई लोकतान्त्रिक-बाम गठबन्धन आवश्यक छ, यो गठबन्धन लामोसमय सम्म टिकाउन नसक्नु दुर्वतर्फबाट कमजोरी भयो। अझै पनि केही बिग्रिएको छैन। तपाईं (प्रचण्ड) पुरानै समीकरणमा फर्किनुहोस्। कांग्रेसले तपाईंलाई विश्वासको मत दिन्छ र प्रधानमन्त्री पनि मान्छ,’ सिटौलाले प्रचण्डसँग भनेका थिए।

सिटौलाले देउवासँग प्रचण्डलाई भेट्न अनुमति माग्दा देउवाले अब प्रचण्ड पुरानै समीकरणमा फर्किने संभावना नरहेको भन्दै भेट्नुको अर्थ नहुने बताएका थिए। तर सिटौलाले ‘म पुरानै समीकरण बनाउन सहजिकरण गर्छु। प्रचण्डलाई पुरानै गठबन्धनमा फर्काउँछु’ भनेर प्रचण्डसँग भेट्न अनुमति मागेका थिए।

जवाफमा प्रचण्डले आफूहरुले कांग्रेसले पनि आफूलाई विश्वासको मत दिओस् भन्ने चाहना रहेको उल्लेख गर्दै तत्काली पुरानै समीकरणमा फर्किने अवस्था नरहेको बताएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार सिटौला आफूलाई भेट्न आउने कुरा प्रचण्डले सुरुमै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जानकारी गराएका थिए। सिटौलासँग भएको छलफलको जानकारी पनि प्रचण्डले ओलीलाई गराएका थिए।

कांग्रेसले विभिन्न च्यानलमार्फत अहिलेको सत्ता समीकरणलाई भत्काउन खोजेको थाहा पाएपछि एमाले अध्यक्ष ओलीले शनिबार एमालेका निर्वाचित सांसदसँगको अभिमुखीकरण कार्यक्रममा अहिले पनि सरकार ढाल्न विभिन्न प्रयत्न भइरहेको बताएका थिए।

उनले छिमेकीहरूबाट यस्तो क्रियाकलापको अपेक्षा नगरेको र नगर्ने पनि बताएका थिए। ‘हामी हाम्रो राष्ट्र आफ्नो ढंगले चलाउछौं तपाईंहरूले सहयोग गर्नसक्नु हुन्छ गर्नुहोस् तर आन्तरिक मामिलामा हात हाल्ने आट नगर्नुहोस्,’ ओलीको भनाइ थियाे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *