अचार बेचेर आत्मनिर्भर
डुम्रे । सीप सिकेर त्यसको सदुपयोग गर्ने मानिस कमै पाइन्छन् । तनहुँको भिमाद नगरपालिका–६ शीतलचौतारीकी धनु राना सीप सिकेर आत्मनिर्भरतातर्फ लागेकी छन्। उनले अचार उद्योग सञ्चालन गरी सीपको सदुपयोग मात्र गरेकी छैनन् स्वरोजगार पनि बनेकी छन्।
रानाले तत्कालीन घरेलु तथा साना उद्योग (पर्यटन तथा उद्योग) तनहुँबाट अचार बनाउने तालिम लिएपछि उद्यमशील र आत्मनिर्भर बन्ने लक्ष्यका साथ उद्योग सञ्चालन गरेकी हुन्। विसं २०७२ देखि राना ‘धनु आचार उद्योग’ सञ्चालन गरी सीप र जागर भए थोरै लगानीमा स्वदेशमै मनग्य आम्दानी गर्न सकिने बताउँछिन्।
अचार उद्योग सञ्चालन गरी राना उदाहरण बनेकी छन्। उनी अहिले अचार बेचेर नाम र दाम दुवै कमाउन सफल भएकी छन्। उनले वार्षिक करिब रु ५० लाखको अचार बिक्री गरी रु १० लाख नाफा कमाउँछिन्। मासिक रु चार लाखको हाराहारीमा आचार बिक्री हुने र रु ८० हजारदेखि रु ९० हजार मासिक नाफा हुने गरेको उनी बताउँछिन्।
आर्थिकरुपमा सबल बन्नका लागि आफैँले सीप सिकेर आत्मनिर्भर हुन सिक्नुपर्ने उनको भनाइ छ। यही दृढ लक्ष्यले अहिले अचार उद्योगबाट मनग्य आम्दानी गर्न सफल भएको उनी बताउँछिन्।
रानाले आफ्नै घरमा सञ्चालन गरेको उद्योगबाट विभिन्न ४२ भन्दाबढी परिकारका अचार उत्पादन गर्दै आएकी छन्। ती परिकारमध्ये १० प्रकारका अचार बिक्रीका लागि राखिएको उनले बताइन्। उनले सुरुमा रु दुई लाखको लगानी गरेर उद्योग सञ्चालन गरेकी हुन्। उनले अचारबाट आएको मुनाफाबाट लगानी वृद्धि गरी रु २० लाख पुर्यएकी छन्।
उनले गाउँमै उत्पादित कच्चापदार्थबाट प्राङ्गारिक अचार उत्पादन गर्दै आएकी छन्। उद्योग सञ्चालन गरिएसँगै आफैँ निरन्तररुपमा सवारी चलाएर अचार बेच्न विभिन्न ठाउँ पुग्ने गरेको उनी बताउँछिन्। तनहुँलगायत कास्की, स्याङ्जा र कहिलेकाहीँ काठमाडौँसम्म अचारको माग आएपछि उनी सबै स्थान आफैँ सवारीमा अचार ढुवानी गर्न पुग्ने गरेको बताउँछिन्।
उनको उद्योगबाट दैनिक कम्तीमा चार सय ग्रामका एक सय ५० भन्दाबढी डिब्बा अचार उत्पादन हुँदै आएको छ। जैविक भएकाले अचारको बजारमा माग पनि उत्तिकै हुन थालेको उनी बताउँछिन्। यस व्यवसायले आफूलाई आत्मसन्तुष्टि र कमाइ दुवै मिलेको उनले बताइन्। रानाको उद्योगबाट उत्पादित अचार रु एक सय ३० देखि रु दुई सय ५० सम्म रहेको छ।
उद्योगमा आलु, आँप, अकबरे खुर्सानी, अमला, कागती, मेथी, गाँजर, कर्कलो, कोइरालो, काउरो, लप्सी, टमाटर, तामा, सिप्लीगान, पिँडालु, बङ्गुर, चिकेन, भुरा माछा, खसी, काँक्रो, करेला, टिमुर, लसुन, मग्राते, मिक्स, मुला, सुकुटी, रुखकटहर, निउरो, स्कुस, फर्सी, गुन्दु्रक, भट्टमासलगायतका विभिन्न स्वाद (फ्लेवर) का अचार उत्पादन गर्दै आएको रानाले जानकारी दिइन्।
उद्योगमा उत्पादित अचारको माग स्थानीय बजारमा मात्र नभएर पोखरा, स्याङ्जा, लमजुङ, गोरखालगायतका बजारमा समेत माग बढ्दै गएको रानाले बताइन्। अचार बनाउन धेरै लगानी नचाहिने र बजारमा सजिलै बिक्री हुने गरेको राना बताउँछिन्। अचार बनाउनका लागि स्थानीय क्षेत्रमा उत्पादन हुने कच्चा पदार्थलाई नै प्रयोग गरिँदै आएको हुँदा यसबाट कृषि क्षेत्रकै समग्र विकासमा सघाउ पुगिरहेको रानाको भनाइ छ। “हातले अचार उत्पादन थोरै हुने हुँदा नाफा पनि कम हुन्छ, अब नयाँ प्रविधि आइसकेको हुँदा मेसिनले अचार बनाउन थालेका छौँ”, उनले भनिन्।
सरकारले मेसिन खरिदमा अनुदान दिने र सीप प्रदान गर्ने हो भने भारतीय बजारबाट आउने आचार विस्थापित गर्न सकिने रानाको बुझाइ छ। साविक घरेलु तथा साना उद्योगबाट ८० प्रतिशत अनुदानमा रु एक लाखको मेसिन प्राप्त गरेको उनले जानकारी दिइन्।
राना जिल्लाकै नमुना घरेलु उद्यमी भएकाले उनको व्यवसायको सबैले प्रशंसा गर्ने गरेको घरेलु तथा साना उद्योगी महासङ्घ महिला उद्यमी समिति तनहुँका अध्यक्ष कल्पना गौलीले बताए। नमुना उद्यमी भएकोले उनको उद्योगलाई गण्डकी प्रदेश सरकारले विनाब्याज रु पाँच लाख ऋण उपलब्ध गराएको गौलीले बताइन्।
महिला उद्यमी बन्न चाहे पनि रकम अभावले गर्दा व्यावसायिकतातर्फ पाइला चाल्न कठिन हुने गरेको अध्यक्ष गौलीको भनाइ छ । “धितो राख्न केही नभइकन पनि सहुलियत ब्याजमा ऋण पाउने व्यवस्था गर्ने हो भने निर्वाहमुखी साना उद्योगलाई व्यावसायिक बनाउन सकिन्छ”, उनले भनिन्।
उद्यमी रानाको उद्योग हेर्न विभिन्न स्थानबाट महिला उद्यमी समय समयमा आउने गरेको गौली बताउँछिन्। रानाले अचार ढुवानीका लागि एउटा गाडी लिनुभएको छ । “हिक्मतिलो महिला हुनुहुन्छ, पुरुषसरह काम गर्न सकिन्छ भन्ने जोश भएकाले उहाँलाई सफलता मिलेको छ”, गौलीले भनिन्।
उद्योगको प्रचारप्रसार बढेसँगै अत्यधिक माग आउने गरेकाले मागअनुसार उत्पादन बढाउन नसकेको उनले सुनाइन्। कहिलेकाहीँ कच्चापदार्थको अभावमा मागअनुसार अचार उत्पादन गर्न नसकेको उनले बताइन्। अहिले उनले सात महिलालाई रोजगारी दिएकी छन्। यसलाई वृद्धि गर्दै २० देखि २५ महिलालाई रोजगारी दिने योजना बनाएको समेत रानाले सुनाइन्।
मिला दरै\रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment