लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता लीला गिरीले दाबी पेस गर्दै

डिसी नेपाल
२६ पुष २०७९ ११:२२

रुपन्देही। लुम्बिनी प्रदेशमा एमाले संसदीय दलका नेता लीला गिरीले मुख्यमन्त्री आज दाबी पेस गर्ने भएका छन्। प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समयसीमाभन्दा एक दिनअघि नै गठबन्धन दलहरुले दाबी पेस गर्न लागेका हुन्।

प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते ४ बजेसम्म सरकार गठनका लागि समय दिएका थिए। प्रदेशको भागवण्डा टुङ्गिएपछि लुम्बिनीमा नेकपा (एमाले)ले मुख्यमन्त्री पाउने सहमति भएको छ।

सोमबार दाङको देउखुरीमा एमाले संसदीय दलका नेता गिरीसहित सत्तापक्षीय गठबन्धनका नेताहरूको बैठकले मङ्गलबार ४ बजे सरकार गठनका लागि बहुमतसहितको दाबी पेस गर्ने सहमति गरेका थिए।

बैठकमा ४९ सदस्यको समर्थनसहित सरकार गठनका लागि दाबी पेस गर्ने सहमति भएको एमालेका प्रदेशसभा सदस्य भूमिश्वर ढकालले जानकारी दिए।

लुम्बिनी प्रदेशमा एमालेका २९, नेकपा (माओवादी केन्द्र)का १०, राप्रपाका चार, जसपा र जनमतका तीन-तीन सदस्य छन् । कुल ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ । नागरिक उन्मुक्तिका चार र स्वतन्त्रबाट दुई सदस्य निर्वाचित छन् । कांग्रेसका २७, लोसपाका तीन र नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका एक-एक सदस्य छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *