जहाँ राजा महेन्द्रले मनसरोवरको हावा लिए

132
Shares

सानै उमेरदेखि मामाघर गएकाले होला, टीकापुर आफ्नै जन्मभूमि लाग्नु स्वभाभिक थियो मेरालागि। लम्की बजारदेखि महेन्द्र राजमार्गलाई उत्तरतर्फ छाडी हामी दक्षिणतर्फ टीकापुर बजार मोडियौ, सुदूरपश्चिम प्रदेशको तेस्रो ठूलो बजार, पुरानो बजार राजा महेन्द्रले स्वास्थ्य अवस्था खराब हुँदा विश्राम लिएको ठाउँ हो टीकापुर।

मानसरोवरदेखि आउने शुद्ध आक्सिजनले राजा महेन्द्रको स्वास्थ्यमा सुधार आउँछ भनी रोजिएको ठाउँ। राजा महेन्द्रको स्वास्थ्यमा सुधार आए पश्चात टीकापुर राजपरिवारको रोजाइको ठाउँ हुन पुग्यो।

टीकापुर बजार पुग्ने बित्तिकै हामीलाई खड़क चोकले स्वागत गरेजस्तो अनुभूति भयो। लामो समय युरोपमा बसेर फर्किएकाले होला टीकापुर बजार ब्लक सिस्टममा भएकाले मलाई त्यो युरोपको कुनै सानो शहरजस्तो लाग्यो।

जता गयो सडक नै सडक मानिसहरू व्यस्त देखिन्थे, गाईबस्तु छोडुवा जस्तै देखिन्थे, सडक ठूला भएपनि गाई बस्तु, साइकिल, बस र पैदल यात्री बीच आफ्ना गन्तव्यतर्फ पुग्ने संघर्ष चलिरहेको देखिन्छ यहाँ।

भिड नै भिड थियो सबै व्यस्त थिए, मेरा आँखा ३६० डिग्रीमा बजार नियालिहेकाे थिए, मैले दाँयातर्फ पार्क देखें, बजारको मुटुमा रहेको पार्कले पनि दशैमा एकचोटी कपडा फेरेझै टीकापुरले नयाँ कपडा फेर्ने कुरा मलाई सटुक्क कानमा भनेजस्तो लाग्यो।

सम्बन्धित निकायले पार्कलाई छिटो नै ध्यान आकृष्ट गरोस र बजारको सुन्दरतालाई पार्कले सुनमा सुगन्ध थपोस भन्ने कुरा मन मनै सोचें । तन्नेरीदेखि बुढासम्म चिया गफ दिइरहेका थिए बजारको बीच चौराहामा, नेतालाई रिस पोखिरहेका थिए।

जमरा नदीमा पानी धेरै बगिसकेको थियो,समयले नेटो काटिसकेको थियो, खडक चोकका गमलाले पानी खोजेका थिए, गमलाका बिरुवा पानीबिना सुकेका थिए, पानी बिनाका माछा र बिरुवाको स्थिति त्यस्तै थियो।

फोहर जता त्यतै छरपस्ट देखेपछि मलाई यहाँका नगर प्रमुख बजार हिँड्दा पनि दिउँसै लालटिन बालौं र यो वेथिति देखाइदिउँजस्तो लाग्यो। सानो बजार सही व्यवस्थापन गर्न के कुराले रोकेको होला।

खडक चोकदेखि सती बजार जाने प्रमुख सडक चौडा भए पनि बीचमा डिभाईडरको खÞाचो छ जस्तो लाग्यो मलाई जसले दुई लेन मज्जाले छुट्याओस, अनि डिभाईडर मुनि पानीका पाइप भूमिगत गरी साँझ बिहान फूल अनि बिरुवालाई पानी दिओस् र शहरलाई शहर जस्तै हरियाली बनाओस्।

यातायात जति द्रुत भयो त्यति बिकासको उत्कर्षले सीमा नाग्छ भनिन्छ। आज बेलायत र नेपाल १२ घण्टाले टाढा छ, पेरिस र लन्डन ३० मिनेटले टाढा छ तर टीकापुर नेपालको राजधानीबाट करीब १५ घण्टाले टाढा हुन पुगेको छ।

बेलायत नजिक हुन पुग्यो टिकापुरभन्दा। टीकापुर एयरपोर्ट ई.सम्वत् १९८४ अक्टोबर ११ बाट सुरूवात भई १३ वर्षको संचालन पछि १९९७ मा बन्द भयो र अहिलेसम्म टीकापुर बासीले चिलगाड़ी पर्खिरहेका छन्।

चीलगाडी अर्थात् प्लेन उड्ने ठाउँमा टुकटुक गुडिरहेका देख्दा मलाई राज्यले कतिसम्म सुदूर पश्चिमलाई सौतेनी रूप देखाउने होला भन्ने पिर पनि लाग्यो।

हामीलाई नेपालको सबैभन्दा ठूलो टीकापुर पार्कले पर्खिरहेको थियो। मैले अहिले सम्म यति ठूलो विशाल पार्क देखेकै छैन नेपालमा, लन्डनको Hyde park र पेरिसको The Bois de Boulogne पार्क जस्तै ठुलो अनि स्वर्गजस्तै अनुभूति हुने पार्कमा पर्छ टीकापुर पार्क।

राजा महेन्द्र २०२४ साल ताका बिश्राम गरेको महेन्द्र बाटिकाले राजा महेन्द्रलाई पर्खिरहेको जस्तो लाग्यो मलाई, फूलको बास्ना अनि सुगन्धले पार्कलाई मनमोहक बनाएको थियो। बीरेन्द्र बाटिका पनि सँगै टासिएको जस्तै थियो, पार्कमा हुनुपर्ने सबै कुरामा कमी थिएन।

पूर्बतर्फ कर्णाली नदी आफनै गतिमा गीत गाएझैं गरी बगिरहेको थियो, हरेक प्रजातिका बिरुवा आपसमा मिलीजुली अनेकतामा एकताको सन्देश दिइरहेका थिए। चराचुरुंगी मधुर संगीत अनि सूर्यको पारिलो घामले पार्कलाई दुलही नचाउँला झैं गरेको अनुभूति भयो।

थोरै समयको बसाइ भएर होला मलाई अझै घुम्न पुगÞेको थिएन। मैले जे जस्तो देखेँ त्यही भनें। टीकापुर भन्दा धेरै टाढा बस्ने म खै किन टीकापुरको माया निकै लाग्छ मलाई।

घुम्ने विभिन्न ठाउँ मेरा लागि सौख नै हो। पहिलेदेखि, म युरोपका विभिन्न देशहरू घुमें देखें अनि मेरो ठाउँ पनि त्यस्तै सुन्दर सफा होस जस्तो लाग्नु स्वभाभिक थियो। सुन्दर टीकापुर फेरि आउँदा दुलहीझैं सिंगारियोस साना कुरामा ध्यान नदिँदा शहर कुरूप हुने हुँदा नगरप्रमुखको ध्यान आकृष्ट होस्।

फोहर व्यवस्थापन गर्न डस्टबिन, खानेपानीका धारा चोकहरुमा निश्चित ठाउ तोकेर पार्किङ, सार्वजनिक शौचालय, बालमैत्री पार्क इत्यादि पूर्वाधार भए टीकापुर, साँच्चैको टीकापुर हुने थियो।

मेरो मन चुम्बक र फलाम टासिएझैं गरी टीकापुरसँग टासिएको थियो, मलाई छोड्न मनै थिएन, प्रकृतिको आज्ञा पालन गर्नै पर्ने थियो। म हिँडे मेरो गन्तव्यतर्फ फेरि आऊने बचन दिँदै। मेरो टीकापुर म फेरि आउँछु।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *