युक्रेन–रुस युद्ध र वार्ताबारे संयुक्त राष्ट्रसंघमा चीनले के भन्यो ?

डिसी नेपाल
३० पुष २०७९ १४:०२

काठमाडौं । रुस र युक्रेनबीचको युद्धका सम्बन्धमा संयुक्त राष्ट्रसंघका लागि चीनका राजदूत झाङ जुनले दुई पक्षबीच वार्ता र सम्झौताका लागि शर्त तयार गर्नुपर्ने बताएका छन् ।

संयुक्त राष्ट्र संघमा उनले रूसको पक्ष लिँदै युक्रेनको वर्तमान अवस्था युरोपमा लामो समयदेखि रहेको सुरक्षा चिन्ताको परिणाम भएको बताए।

दुई देशबीच शान्तिका लागि हुने वार्ताका सम्बन्धमा उनले युरोपको सुरक्षा चिन्ता समाधान गर्न दुवै पक्ष आफ्ना मतभेद बिर्सेर वार्ताको टेबुलमा आउनु पर्ने बताए । तर, यसको बाटो सहज नहुने भए पनि उनले राजनीतिक इच्छाशक्ति र समझदारीले काम गरेमा शान्ति सम्भव हुने बताए ।

उनले अन्तर्राष्ट्रिय समुदाय, विशेष गरी वर्तमान अवस्थामा बढी प्रभाव भएका देशहरूले रुस र युक्रेनलाई वार्ता गर्न र संकटको राजनीतिक समाधान खोज्न प्रोत्साहन गर्नुपर्ने बताए।

उनले नाकाबन्दी र हतियारको आपूर्ति बढाउँदा अवस्था परिवर्तन गर्न गाह्रो हुने र यसले ठूलो द्वन्द्वको सम्भावना पनि बढ्न सक्ने बताए । यस कारणले गर्दा स्थिति थप बिग्रने र द्वन्द्व चर्किने सम्भावनाबाट बच्न हरसम्भव प्रयास गर्नुपर्ने उनले बताए ।

युद्धमा आणविक हमलाको सम्भावनाका सम्बन्धमा उनले युक्रेनको जापोरिझिया आणविक केन्द्र वरिपरि गोलीबारी रोकिएको छैन र यो सुरक्षा चिन्ताको प्रमुख कारण रहेको बताए ।

उनले प्लान्टका ६ वटै रिएक्टर बन्द गरिएको बताए । प्लान्टको अन्तिम ब्याकअप पावरलाइन पनि गत वर्षको डिसेम्बरमा बिग्रिएको थियो र प्लान्टको पावरलाइन गत हप्ता मात्रै पुनःस्थापित गर्न सकिएको थियो।

झाङ जुनले यस्तो घटना दोहोरिन नहुने बताए । उनले आणविक संयन्त्रको सुरक्षामा असर पार्ने यस्ता सबै सैन्य कारबाही तत्काल बन्द गर्नुपर्ने बताए ।

उनले युक्रेन संकटले विश्वलाई एकपटक फेरि संकटमा ल्याएको बताए । चीनका राष्ट्रपति सी जिनपिङले शीतयुद्धको सोचमा फर्केर विभाजन र द्वन्द्वतर्फ जाने वा मानवता र समानता, आपसी सम्मानको हितका लागि अगाडि बढ्ने भन्ने निर्णय गर्नुपर्ने विन्दुमा उभिएको बताएका छन् ।

उनले युक्रेन मुद्दामा चीनले निष्पक्ष अडान लिने र आफ्नै तरिकाले सकारात्मक प्रयास जारी राख्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *