प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेलको चर्चा

डिसी नेपाल
४ माघ २०७९ १८:०८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोलको गजुरेलको चर्चा चुलिएको छ ।

नेकपा(माओवादी केन्द्र)का उपमहासचिव रहेका गजुरेल लामो समयदेखि प्रचण्डको विश्वासपात्रको रुपमा पार्टीमा क्रियाशील थिए । तर, गएको निर्वाचनमा सिन्धुली २ बाट उम्मेदवारको आकांक्षी रहेका उनलाई प्रचण्डले टिकट नदिएपछि पछिल्लो समय असन्तुष्ट बनेका थिए ।

प्रधानमन्त्री प्रचण्डले उनलाई राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने तयारीमा रहेको बालुवाटार स्रोतले जनाएको छ ।

केही समय अगाडि लाभको पदधारण नगर्ने घोषणा गरेका गजुरेल पछिल्लो समय राजनीतिक सल्लाहकारमा आकांक्षा ब्यक्त गरेको बताइएको छ ।

गजुरेललाई केही दिन अगाडि स्वयम प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले सल्लाहकारको प्रस्ताव गरेका थिए । यद्यपि अस्वीकार गरेका उनले अहिले सोही पदमा आकांक्षा ब्यक्त गरेको स्रोत बताउँछ ।

प्रधानमन्त्री प्रचण्डले उनलाई उपराष्ट्रपति या सल्लाहकारमध्ये एक पदमा प्रस्ताव गरेकोमा आफैले अस्वीकार गरेको गजुरेलले नै सार्वजनिक रुपमा बताउँदै आएका छन् ।

प्रधानमन्त्रीको सल्लाहकार बन्न इच्छुक रहेको चर्चा भएपनि उनले आफ्नो दाबी नरहेको डिसी नेपाललाई बताए ।

‘अध्यक्षबाट प्रस्ताव आएको सत्य हो तर, मैले नै त्यसलाई अस्वीकार गरेको हुँ’, गजुरेलले भने ।

उनले लाभका पदभन्दा पनि आफूले पार्टीमा कार्यकारी भूमिकासहितको जिम्मेवारी चाहेको बताउँदै अगाडि भने, ‘मलाई प्रस्ताव आएको हो । मैले कुनै दाबी गरेको छैन । मेरो प्राथमिकता राजनीतिक नियुक्ति भन्दा पार्टी बनाउने अभिलाशाले कार्यकारी जिम्मेवारीमा दाबी गरेको छु ।’

उनले आफूलाई लाभका पद भन्दापनि कार्यकारी भूमिका दिए पार्टीको सांगठनिक अवस्था मजबुद बनाउने दाबी गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *