सभामुखको निर्वाचनअघि प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता पौडेलबीच बालुवाटारमा भेटवार्ता

डिसी नेपाल
५ माघ २०७९ १०:३६

काठमाडौं। सभामुखको निर्वाचनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेता रामचन्द्र पौडेलबीच बालुवाटारमा भेटवार्ता भएको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल प्रचण्डलाई भेट्न बिहीबार बिहान बालुवाटार पुगेका हुन्।

प्रधानमन्त्री प्रचण्ड र पौडेलबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको पौडेलको सचिवालय स्रोतले दिएको जानकारी दिएको छ। प्रतिनिधिसभामा सभामुख चयनका लागि बैठक बस्नुभन्दा अघि प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता पौडेलबीच भेटवार्ता भएको हो।

सभामुख निर्वाचनमा प्रधानमन्त्री प्रचण्डले सहयोग गर्ने कांग्रेसको अपेक्षा थियो। तर माओवादीको समर्थनमा एमालेले देवराज घिमिरेलाई सभामुखको उम्मेदवार उठाएपछि कांग्रेसले ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको छ।

बुधबार कांग्रेसको पदाधिकारी बैठक चलिरहेका बेला प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई सभामुखको उम्मेदवारी दिँदा छलफल गर्ने बताएका थिए। तर प्रचण्डले फोन नगरेपछि कांग्रेसले आफ्नै उम्मेदवार उठाएको हो।

बिहीबार बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दैछ। बैठकले सभामुखका दुई उम्मेदवार घिमिरे र न्यौपानेमध्ये एकलाई सभामुख निर्वाचित गर्दैछ। गत २६ पुसमा कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो। कांग्रेसले राष्ट्रपति पद आफूले लिनका लागि कुराकानी गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *