आफ्नै नवजात शिशुलाई जङ्गलमा फाल्ने बाबु पक्राउ

डिसी नेपाल
९ माघ २०७९ २१:०७
852
Shares

इनरुवा। सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित चारकोसे जङ्गलमा नवजात शिशुलाई फाल्ने बाबुलाई आज प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दुहबी–१० का ३३ वर्षीय अमितलाल चौधरी रहेको सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए। पक्राउ परेका चौधरीलाई ज्यान मार्ने कसुरको मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए।

पक्राउ परेका चौधरीलाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी घटनाको विषयमा अनुसन्धान सुरु गरिएको उनले बताए। अमितसँगै पक्राउ परेकी उनकी श्रीमती विन्दु चौधरीलाई रिहा गरिएको प्रहरीले जनाएको छ।

नवजात शिशु जङ्गलमा फालेको घटनामा विन्दुको संलग्नता नदेखिएकाले उनलाई रिहा गरिएको प्रहरीले जनाएको छ। माघ ४ गते जन्मिएकी शिशुलाई चौधरीले ६ गते बराहक्षेत्र नगरपालिका २ को चारकोसे जङ्गलमा लगेर फालेका थिए।

जङगलमा घाँस दाउराका लागि गएका स्थानीयवासीले नवजात शिशुलाई देखेपछि जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए। बराहक्षेत्र नगरपालिकाका जनप्रतिनिधि र इलाका प्रहरी कार्यालय चतराको टोलीले तत्काल नवजात शिशुको उद्धार गरी उपचारका लागि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *