छोरा पढाउन सहर पसेर पानीपुरीको व्यापार

डिसी नेपाल
१० माघ २०७९ १४:५७
100
Shares

भजनी। हरेक आमाबाबुको इच्छा हुन्छ सन्तानलाई कम्तीमा राम्रो शिक्षा दिन सकौँ। यसका लागि पायकमै राम्रो विद्यालय होस् भन्ने चाहना पनि हुन्छ। तर सबैले भने जस्तो हुँदैन।

गुणस्तरीय शिक्षाका लागि टाढासम्म जानुपर्ने बाध्यता अझै पनि छ। अभिभावकहरु राम्रा विद्यालयको खोजीमा सहर पस्न बाध्य भइरहेको घटना नौला होइनन्। त्यसैमध्येकी एक हुन्, कालीकोट पचाल झरना गाउँपालिका-५ कि दुर्गा बुढा।

बुढाका तीन जना छोरा छन्। गाउँमा भने जस्तो विद्यालय नभएपछि उनी यतिबेला कैलालीको टीकापुर झरेका छन्। उनले कालीकोटको घर, जग्गा र व्यापार सबै छोडेर सहर झरेका हुन्।

गाउँमा छँदा चिया पसल, खेतीपाती, दुई भैँसी, एक घोडा र बाह्र खच्चर एक्लैले सम्हालेकी उनले त्यो बेलामा मासिक रू ३० देखि ४० हजारसम्म कमाउँ थिइन्।

“गाउँमा कमाइ राम्रो भए पनि विद्यालय भने जस्तो नभएपछि छोरालाई लिएर टीकापुर पठाएकी थिएँ”, उनले भनिन्, “यहाँ बस्दा पढाइ र होस्टेलका लागि मासिक २० देखि २५ हजारसम्म खर्च हुने गरेको थियो।” तर छोराहरुले होस्टेलको खानामा गुनासो गरेपछि आफै टीकापुर आएको उनले सुनाइन्।

“टीकापुर आएपछि कमाउने आधारहरू सबै सकिए। गाउँको चिया पसल गुम्यो। खेतबारी पनि उजाड बन्यो। निकै मिहेनतले बनाएको घर अलपत्र प¥यो भने आम्दानीका सबै स्रोत पनि सुके”, उनले भनिन्।

नयाँ आम्दानीको स्रोतका लागि उनले पानीपुरी र चटपटेको व्यापार सुरु गरिन्। जेठो छोरा एसइई उत्तीर्ण गरी अहिले काठमाडौँमा कक्षा ११ मा पढिरहेको छ। दुई छोरा टीकापुरमै एउटा ७ मा र अर्को ५ मा अध्ययन गरिरहेका छन्। बाख्रा बेचेको पैसाबाट एउटा ठेला किनेर पानी पुरी र चटपटेको व्यापार सुरु गर्नुभएकी दुर्गालाई अहिले पहिलेको जस्तो चिन्ता भने छैन।

“दैनिक एक हजारको हाराहारीमा कमाइ हुन्छ। महिनामा २५ हजारसम्म बचत हुन्छ”, दुर्गा भन्छन्, “काठमाडौँ छोरालाई मासिक १२ देखि १५ हजार पठाउनुपर्छ। त्यस्तै मेरो कमाइले परिवार पालिएको छ।” – रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *