मुर्मुरिएर पनि शान्त हुन बाध्य छन् ओली

डिसी नेपाल
१८ माघ २०७९ ११:०४

काठमाडौं। कांग्रेसले प्रधानमन्त्री नदिँदा एमालेलगायतका दलको सहयोगमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डका पछिल्ला गतिविधिका कारण एमाले अध्यक्ष केपी शर्मा ओली मुर्मुरिएका छन्।

७९ सिट जितेको दलले ३२ सिटमा मात्र जित निकाल्न सफल माओवादीलाई प्रधानमन्त्री दिएर ओलीले प्रचण्डसँगको सहकार्यलाई अगाडि बढाएका छन्।

माओवादीलाई प्रधानमन्त्री दिएको एमालेले सभामुख र राष्ट्रपति आफूसँग राख्ने सहमति गरेको थियो। सो सहमति अनुसार प्रचण्ड प्रधानमन्त्री छन् भने एमालेबाट देवराज घिमिरे सभामुख निर्वाचित भइसकेका छन्।

दुई दलबीचको सहमति अनुसार चार प्रदेशमा एमाले नेतृत्वमा सरकार गठन भएको छ भने दुई वटा प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले गरिरहेको छ।

प्रचण्ड नेतृत्वमा सरकार गठन भएको एक महिना पूरा भएको छ। अब एक महिनापछि राष्ट्रपति निर्वाचन हुँदैछ। दुई दलबीचको सहमति अनुसार राष्ट्रपति एमालेले पाउनु पर्ने हो। तर प्रचण्डका पछिल्ला गतिविधि सहमति पालना गर्नेतर्फ उन्मुख नभएको भन्दै एमाले असन्तुष्ट बनेको छ।

ओली यतिबेला कांग्रेससँग मिल्ने अवस्थामा पनि छैनन्। किनभने कांग्रेससँग सहकार्य गर्दा एमालेले राष्ट्रपति पद गुमाउनु पर्ने हुन सक्छ। यही कारणराष्ट्रपति निर्वाचन अघिसम्म प्रचण्डले जे जस्ता गतिविधि गरे पनि ओली र सिंगो एमाले प्रतिक्रिया विहीन भएर बस्ने अवस्थामा पुगेका छन्।

पुस २६ गते प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार उठाउने घोषणा मात्रै गरेको छैन, आफ्नै उम्मेदवारले जित्नेसमेत दाबी गर्दै आएको छ।

कांग्रेसको दाबीलाई सघाउने किसिमले माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय नै गरिसकेको छ। जसबाट एमाले अध्यक्ष ओली चिढिएका छन्। र, प्रचण्डका पछिल्ला गतिविधिलाई ‘नदेखे’ जस्तो गरी बस्न ओली बाध्य छन्।

पुस १० मा सात दलबीच सहमति हुँदा सरकार संचालन गर्ने विषयमा कुनै समस्या आए सत्ता साझेदार दलबीच सहमति गरेर समस्या हल गर्ने भनिएको थियो।

तर अहिले प्रधानमन्त्री प्रचण्डले एकल ढंगले अघि बढ्न खोजेको भन्दै एमाले सशंकित बनेको छ। तर, कुनै प्रतिक्रिया जनाइहाल्ने अवस्थामा उ छैन।

किनभने अब एक महिनापछि राष्ट्रपति निर्वाचन हुँदैछ। राष्ट्रपतिमा आफ्नो उम्मेदवारलाई जिताउन माओवादीको साथ एमालेलाई अनिवार्य हुन्छ।

एमालेका लागि राष्ट्रपति पद यतिबेला ‘स्वयम्भूमा बलेको बत्ति हेरेर रातभर रानीपोखरीमा डुबेर बसेजस्तो’ भएको छ। आन्तरिक र बाह्य शक्ति राष्ट्रपति कुनै पनि हालतमा एमालेलाई दिन नहुने भन्दै विभिन्न चलखेल गरिरहेका छन्।

राष्ट्रपति संवैधानिक पद भए पनि कतिपय सन्दर्भमा निर्णायक हुने भएकाले सबैले आफू अनुकुल राष्ट्रपति बनाउन खोजेका छन्। माओवादीभित्रै पनि राष्ट्रपति एमालेलाई दिन नहुने मत बलियो बन्दै गएको छ।

यी सबै गतिविधिप्रति ओली पूर्ण जानकार छन्। सबै जान्दा जान्दै पनि ओली रिस दबाएर बस्नुपर्ने अवस्थामा पुगेका छन्। उनी राष्ट्रपति चुनावलाई मध्यनजर गर्दै प्रचण्डका गतिविधिलाई नदेखेजस्तो गरी बस्न बाध्य छन्।

पूर्व सहमति पालना गर्ने विषयमा प्रधानमन्त्री प्रचण्ड गम्भीर नभएको एमालेको बुझाइ छ। पुस १० को सहमति अनुसार गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिन प्रचण्ड तयार नभए पछि ओली झन् बिच्किएका छन्।

त्यसमाथि गृहमन्त्रालयलगायतका विषयमा सत्ता साझेदार दलमा छलफल गर्नुको साटो प्रचण्डले पार्टीका पदाधिकारी बैठकमा सर्वोच्चको पूर्णपाठ नआएसम्म गृहमन्त्रालय कसैलाई पनि नदिने बताए पछि प्रचण्डप्रति एमाले सशंकित बनेको छ।

‘अध्यक्ष (ओली) को नेचर कसैको दबाव वा अपमान सहेर बस्ने खालको छैन,’ ओली निकट एक नेताले डिसी नेपालसँग भने, ‘त्यसमा पनि अहिले प्रधानमन्त्री प्रचण्डजीका गतिविधि उहाँलाई मन पर्ने कुरौ भएन। सत्ता गठबन्धनको प्रमुख नेतासँग छलफल नै गरी पार्टी बैठकमा गृहमन्त्रालय रविजीलाई दिन सकिँदैन भन्नु गठबन्धनको संस्कृति विपरित विषय हो।’

धेरै दवाव र अपमान हुँदा ओलीले झण्डै दुई तिहाइ बहुमत रहेको आफ्नै सरकार विघटन गरेको विगत छ। यदि अहिले राष्ट्रपतिको निर्वाचन भइसकेको हुँदो हो त ओलीको अर्कै मुभ भइसक्थ्यो। ओली यतिबेला कांग्रेससँग मिल्ने अवस्थामा पनि छैनन्।

किनभने कांग्रेससँग सहकार्य गर्दा एमालेले राष्ट्रपति पद गुमाउनु पर्ने हुन सक्छ। यही कारणराष्ट्रपति निर्वाचन अघिसम्म प्रचण्डले जे जस्ता गतिविधि गरे पनि ओली र सिंगो एमाले प्रतिक्रिया विहीन भएर बस्ने अवस्थामा पुगेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *