एमालेभित्रको विवादले मधेश प्रदेश सरकारले पूर्णता पाएन

डिसी नेपाल
१८ माघ २०७९ १३:४५
100
Shares

महोत्तरी। नेकपा एमालेभित्रै विवादले मधेश प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन। आफ्नो भागमा परेको मन्त्रालयमा कसलाई पठाउने भन्ने विषयमा एमालेभित्र विवाद हुँदा सरकारले पूर्णता पाउन नसकेको हो।

एमालेका भागमा परेका मन्त्रालयहरुमध्ये प्रत्यक्षमा निर्वाचित एक्लो महिला संसद शारदादेवी थापाले पनि दावी गर्दै आएकी छन्। तर, उनलाई सरकारमा पठाउने कि नपठाउने भन्ने विषयमा नेताहरुबीच मतभेद देखिएको छ।

दुईपटक प्रत्यक्षमा निर्वाचित संसद थापाले महिला समावेशिताका आधारमा एमालेको भागमा परेका मन्त्रालयमध्येबाट कुनै पनि मन्त्रालयको नेतृत्व आफूले पाउनुपर्ने अडान लिँदै आएकी छन्।

‘सबै हिसावले जुनसुकै मन्त्रालयको नेतृत्व लिन संसद थापा योग्य हुनुहुन्छ। तर, महिलालाई नै मन्त्री बनाउन पार्टीमा मतभेद देखिएको छ,’ एमालेका प्रदेश सदस्य सन्त परियारले भने, ‘शारदादेवी थापालाई मन्त्री बनाउनुपर्छ भन्ने हाम्रो पनि माग छ।’

महोत्तरी क्षेत्र न.१ क बाट विजयी भएकी शारदादेवि थापा यसअघिको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन्।

सांसद थापालाइ मन्त्री बनाउने विषयमा देखिएको एमालेभित्रको विवाद सतहमा नै देखिएको छ।

निर्वाचनको समयमा नै थापा पक्षको गुरु भट्टराई पक्षसँग असन्तुष्टि चुलिएपछि दुवै पक्षको आरोपप्रत्यारोप जारी छ। निर्वाचनमा थापा पक्षलाई भट्टराई पक्षले असहयोग गरेको आरोप छ भने भट्टराई पक्षले यसलाई खण्डन गर्दै आएको छ।

गत आइतबार महोत्तरीको रामगोपालपुरमा बसेको बैठकमा क्षेत्रीय इन्चार्ज केदार बस्नेत, गुरु भट्टराई, कुमार भण्डारीलगायतका नेताहरुलाई कारबाही गर्नुपर्ने आवाज उठेको बैठकमा सहभागी एक नेताले बताए।

यसैको कारण पनि सांसद थापालाई मन्त्री हुनबाट रोक्ने प्रयास भइइरहेको प्रदेश कमिटीका एक जना नेताले बताए।

मधेश प्रदेशको सचेतक समेत रहिसकेकी सांसद थापाको योग्यतालाई हेरेर कुनै मन्त्रालयको जिम्मेवारी दिनुपर्ने एकथरी नेताहरुको तर्क छ भने अर्कोथरी नेताहरुले एउटै जिल्लामा दुई जना मन्त्री बनाउन नहुने बताएका छन्।

मन्त्रिपरिषद् विस्तारमा एमाले बाधक रहेको भन्न आरोपलाई एमाले मधेश प्रदेश प्रचारप्रसार विभाग प्रमुख सोमप्रसाद शर्माले खण्डन गरेका छन्।

माओवादी केन्द्रका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको आरोप लगाएका उनले भने, ‘एमालेभित्र कुनै विवाद छैन। माओवादीको भागमा एउटा मन्त्रालय परेको थियो। तर, उनीहरुले दुई मन्त्रालयको लागि दाबी गरेका छन्। यसैलाई मिलाउन सकस बनिरहेको छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *