रास्वपाले तत्काल सरकार नछोड्ने, पर्ख र हेरको नीतिमा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको छ ।
केन्द्रीय कार्यालयमा बिहीबार पाँच घण्टासम्म बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठले तत्काल सरकार नछोड्ने र उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा आफ्नो कुरा राख्ने निर्णय गरेको हो।
बैठकमा अधिकांश नेताहरुले अहिले पर्ख र हेर को नीति लिनुपर्ने सुझाव दिएको बैठकमा सहभागी एक नेताले डिसी नेपाललाई जानकारी दिए।
गृहमन्त्रालयलाई लिएर सत्ता साझेदार दलबीच खटपट सुरु भएको थियो। सर्वोच्च अदालतले नागरिकता खारेज गरेपछि गृहमन्त्री र सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुनः गृहमन्त्रालयमा दाबी गरेपछि सत्ता साझेदार दलहरुबीच खटपट सुरु भएको हो।
आफ्नो पार्टीलाई गृहमन्त्रालय नै चाहिने रास्वपाको दाबी र गृह मन्त्रालय आफैंसँग राख्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अडानमा प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व सहमति अनुसार गृहमन्त्रालय रास्वपाले पाउनु पर्ने बताएपछि साझेदार दलबीच अविश्वासको वातावरण सृजना भएको हो।
मंगलबार गृहमन्त्रालयका विषयमा छलफल गर्न बालुवाटार पुगेका रविलाई प्रधानमन्त्री प्रचण्डले तत्काल गृह मन्त्रालय दिन नसक्ने जवाफ दिएका थिए। आज बसेको माओवादी स्थायी कमिटी बैठकले मुद्दाको विषय बाँकी भएकाले धैर्यता राख्न आग्रह गरेको छ।
Facebook Comment