‘रेडियोएक्टिभ क्याप्सुल’ भण्डारणका लागि पर्थ लगिँदै

डिसी नेपाल
१९ माघ २०७९ २१:२९

सिड्नी । बुधबार फेला परेको ‘रेडियोएक्टिभ क्याप्सुल’ हाल न्यूम्यानबाट गाडीमा पर्थतर्फ पठाइएको पश्चिमी अस्ट्रेलिया (डब्ल्यूए) का अधिकारीहरूले बिहीबार पुष्टि गरेका छन् ।

राज्यको डिपार्टमेन्ट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेज (डीएफईएस) को नेतृत्वमा गरिएको खोजीपछि क्याप्सुललाई रेडिएसन–प्रुफ लिड कन्टेनरमा राखी पर्थतर्फ पठाइएको हो ।

अस्ट्रेलियन डिफेन्स फोर्स र अस्ट्रेलियन न्युक्लियर एन्ड साइन्स टेक्नोलोजी अर्गनाइजेसनका १४ जना कर्मचारीले क्याप्सुललाई सुरक्षा दिइरहेका बताइएको छ ।

डीएफईएसका अनुसार क्याप्सुललाई पर्थमा विभागको नियामक प्राधिकरण डब्ल्यूए हेल्थले भण्डारण गर्नेछ । त्यहाँ यसलाई सुरक्षित रूपमा भण्डारण गर्ने सुविधा छ ।

यसअघि खानी कम्पनी रियो टिन्टोले पिलबारा क्षेत्रमा रहेको गुडाई–दरी फलाम खानीबाट ढुवानी गर्दै गर्दा हराएको क्याप्सुल भेट्टाउन खोजीमा खटिएका अधिकारीप्रति सरकारले कृतज्ञता व्यक्त गरेको थियो ।

‘रियो टिन्टो आयरन ओर’का प्रमुख कार्यकारी सिमोन ट्रोटले भने, “क्याप्सुलको बरामदी खोजी टोलीको कौशल र दृढताको ठूलो प्रमाण हो । क्याप्सुल हराउनुहुँदैनथ्यो हरायो । तर फेला परेको छ यसैमा हामी खुशी हुनुपर्छ ।’’

उनले भने, “हामीले यो घटनालाई गम्भीरतापूर्वक लिइरहेका छौं यो कसरी भयो भन्नेबारे पूर्ण र गहन अनुसन्धान गरिरहेका छौं ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *