समुन्नत समाज निर्माणको सशक्त सोच

डिसी नेपाल
२९ माघ २०७९ १२:०५

मानव सभ्यताको प्रारम्भिक चरण जंगली युग अथवा ढुंगे युगबाट आरम्भ भएको देखिन्छ। अविच्छिन्न फिरन्ते संस्कृतिबाट कृषि अथवा खेतीपातीमा आधारित जीवन प्रचलनमा रूपान्तरण भयो।

खेतीपाती कर्मका कारण मानवलाई निश्चित ठाउँ र समूहमा बस्नुपर्ने आवश्यकता बोध भयो। त्यसपछि परिवारको विकास भयो। परिवारको विकासले समाज र समाजको विकासले राष्ट्रको निर्माणलाई सहयोग गर्‍यो।

सम्पन्नता र सहजताको बहारसँगै हाम्रो समाजमा विभिन्न खालका समस्यासमेत विद्यमान छन्। मानव सभ्यताका चार युगमध्ये वर्तमानमा हामी बाँचिरहेको कलियुगमा त्यस्ता समस्या, विलचन र अव्यवस्थाको उत्कर्ष देखिँदैछ।

यस्ता समस्यामध्येको मुख्य एक समस्यालाई उजागर गर्दै यसको निर्मूलीकरणमा सशक्त विकल्प सुझाउने एउटा पुस्तक निकट भविष्यमा नै हामीमाझ आइपुग्दैछ।

अहिले संयुक्त राज्य अमेरिकामा बसोबास गर्नुहुने युवा लेखक, अध्येता, शोधार्थी, अन्वेषक जय साहले लेख्नुभएको पुस्तक ‘द कल्किस्ट मेनिफेस्टो : अ रोडम्याप टु इन्ड कलियुग’ आम पाठकलाई एक रोमान्चक र गहन अध्ययन सामग्री हुनेछ।

समाजलाई अधोगतिमा धकेल्ने, सामाजिक अन्तर्घुलनता र सद्भावलाई विखण्डन गर्ने, अहम् तथा भेदभाव अनि बर्बरताको आधार निर्माण गर्ने थुप्रै कारणमध्ये जातीय प्रथा पनि एक हो।

लगभग एक लाखजति मात्रको सानो जनसंख्या र अरू धर्म नभएको समयमा भारतमा यसको उद्भव भएको देखिन्छ। यसखाले अभ्यास संसारका लगभग सबैजसो देशबाट उन्मूलन भइसके पनि हामीकहाँ भने अझै यथावत् छ। यसले नै समाजमा द्वन्द्वको सुरूवात पनि भएको छ।

पुस्तकले समाजमा रहेका यस्तै विषय उठानबाट विश्लेषणको आधार बनाएको छ। लेखकको अनुसन्धानले समाजमा प्रचलित पेशाको आधारमा निर्धारण गरिएको तत्कालीन पुरानो जातीय प्रथाको आधार यस्तो देखिन्छ।

लेखक साहका अनुसार धार्मिक विवादलगायत महिलाविरुद्घका हिंसा, पैसासँग सम्बन्धित अपराधजन्य गतिविधि र जातीय विभेदले भारतीय उपमहाद्वीपका समाजलाई धेरै नै गिजोलेको छ। यस्तो समस्या निम्तिनुमा राजनीतिकदेखि सामाजिक पक्षको पनि उत्तिकै भूमिका छ।

यसले समाजलाई झन बहुपक्षीय संघर्षतिर लैजाने खतरा व्याप्त हुँदै गएको सत्यता नकार्न मिल्दैन। तसर्थ जातीय प्रथाको समूल निराकरण गर्न सुधारका जबर्जस्त कदम उठाउनुपर्छ भन्ने निष्कर्षमा लेखक पुगेका छन्।

त्रेतायुगमा रावणलाई ब्राह्मण भए पनि मांसाहारी भएको र मद्यपान गर्ने गरेका कारण राक्षस वर्गमा चित्रण गरियो। अहिले कलियुगमा ९५ प्रतिशत ब्राह्मण परिवारमा समेत मासु र मदिराको नियमित उपभोग हुन्छ।

अनि तथाकथित रूपमा तल्लो जात भनि देखाइएका अधिकांश समूहका मानिस भने शाकाहारीमात्र नभई मद्यपान पनि गर्दैनन् तर उनीहरूलाई तल्लो जातको रूपमा नै चित्रण गरिन्छ।

पछिल्लो सामाजिक परिवेशलाई इंगित गर्दै लेखक भन्छन्-अहिले ९० प्रतिशत ब्राह्मण परिवारले मासु खान्छन् र मदिरासमेत सेवन गर्छन्, ९० प्रतिशत क्षत्रीयहरू योद्घाको जागिर वा व्यवसायबाहेक अरू काम गर्छन्, ५० प्रतिशत वैश्यले जागिर वा खेतीपातीलगायत वा बाहेक अन्य काम गर्छन्।

६० प्रतिशत वा सोभन्दा माथिका शूद्र र दलितहरूले आफ्नो जीवनशैलीलाई मध्यमवर्गीय समुदायको रूपमा परिवर्तन गरेका, समुन्नत जीवनशैलीको विकास गरेका छन् तर अझै पनि उनीहरूलाई शूद्र र दलितको रूपमा चित्रण गरिएको छ।

पेशाका आधारमा प्राचीन जातीय प्रथा निर्माण भएको थियो। आज जीवनयापनमा निर्णायक पक्ष परिवर्तन भए पनि जातीय प्रथा र परिचय केवल उही नै छ। लेखकको अभिरूचि यस्तो छ कि जातीय व्यवस्था समाजबाट हटोस्, यसको प्रभाव र असर निमिट्यान्न होस्।

तर केवल यसको विरोध गरेरमात्र यो सम्भव छैन। जातीय प्रथालाई पूर्णतः हटाउन सकिन्न तर पुरानो प्रथालाई विस्थापन गरेर समयसान्र्दभिक नयाँ प्रथा ल्याउन सकिन्छ ।

जातीय पक्ष केही हदसम्म पहिचानसमेत भएकाले यसमा क्रान्तिकारी तथा आमूल सुधार गरेर यसको प्रभाव घटाउन सकिन्छ। तत्काल जातको अभ्यास पूरै हटाउन सम्भव छैन किनकि सबैको नामसँग उपनाम जोडिएको छ।

लेखक सुझाउँछन्-सबै परिवार र आफन्तले चाहे वा अनुमोदन गरेमा मानिसलाई स्वेच्छाले आहारविहार, खानपिन, पेशा र वर्तमानमा अपनाएको जीवनशैलीको आधारमा जात परिवर्तन गर्न भने दिनुपर्छ। जातीय व्यवस्था विगतमा दिइएको परम्परागत तथा पारिवारिक पहिचानमा आधारित नभई वर्तमानमा बाँचिरहेको जीवनशैलीमा आधारित हुनुपर्छ।

मानवको जीवन आफूमा स्वतन्त्र भएकाले जातका आधारमा उसको स्तर अथवा अवस्था मूल्यांकन गरिनुहुँदैन। जात केवल नामजस्तै एउटा पहिचानको आधारमात्र बन्नुपर्छ।

जसरी मानिसलाई नामका आधारमा भेदभाव नगरिने हुँदा उसले नामलाई लुकाउँदैन र नाम भन्न पनि हिच्किचाउँदैन-त्यसरी नै जात भन्नलाई कसैले हिच्किचाउनु नपरोस्। जातको आधारमा विभेद नभएमा यस्तो अवस्था स्वतस्फूर्त उच्च सहिष्णु समाज बन्ने लेखकको भनाइ छ।

लेखकको बुझाइमा जातीय अभ्यासका कारण विवाहमा सबैभन्दा बढी असर परेको हुन्छ। हरेकले परिवार र तत्काल परिवारको जीवनस्तर हेर्छन्, जीवनशैलीमा समानता खोज्छन्। शाकाहारी अभिभावकले आफ्नो छोराछोरीले मासु खाने परिवारमा विवाह गरेको मन पराउँदैनन्।

मांसाहारी नै भए पनि कोहीकसैले आफ्नो समुदायको भावना र संस्कारअनुसार गाई, सुँगुर अथवा अन्य पशुको मांससेवन मन पराउँदैनन्। यसको निराकरण गर्न लेखकले जातीय व्यवस्थाको विशुद्घ नयाँ खालको पुनंसरचनाको खाका दिन खोजेका छन्। लेखकबाट प्रस्तावित नयाँ जातीय अभ्यासको स्वरूप यस्तो हुनेछ।

समाजमा एकरूपता र नयाँ प्रचलनअनुसारका व्यवस्था कायम गर्न लेखकले हरेक व्यक्तिको पहिचान र सफ्टवेयर युक्त ट्रयाकिङ प्रणालीबाट अनुगमन र सर्वेक्षण गरिने नयाँ प्रविधिको नमुना प्रस्तुत गरेका छन् । तसर्थ कसैले कसैलाई झुक्याउन र आफ्नो पहिचान लुकाउनुपर्दैन। मानिसलाई जात बोझको रूपमा नभई छनौटको रूपमा प्राप्त हुन्छ । हरेकले स्वेच्छाले आफ्नो जात स्वयंले निर्धारण गर्न सक्छन् ।तसर्थ जातको आधारमा भेदभाव बाँकी रहँदैन।

लेखक भन्छन्- पछिल्लो तीनदेखि चार हजारभन्दा बढी वर्ष हाम्रो समाजमा जाति, लिंग, धन, धर्म, जातीयता र भाषामा कुनै सामाजिक सुधार तथा तात्विक हिसाबको सकारात्मक परिवर्तन नभएकाले अब यस्तो एउटा नयाँ अभियानको सुरूवात गर्नुपर्छ ।

नगदविहीन समाज, दाइजोको उन्मूलन र सुनमा सम्पन्नता देख्ने आदतको अवसानलगायतका सुधार अनुसरण गरिने एक योजनाबद्घ कार्यकम सुनिश्चित गर्दा अर्को पाँच या छ हजार वर्षको लागि कुनै सुधार आवश्यक पर्दैन भन्ने उनको तर्क छ । उनले पुस्तकमार्फत यसैको खाका पस्किएका छन् ।

यस्तो जातीय विभेदभन्दा अघि समाजमा रामराज्य थियो, सबै समान शक्तिशाली र सम्मानित थिए। पैसाको उद्भवले विभेद र कलियुगको सुरूवात भयो। लेखकले पैसाविहीन समाजको कल्पना गरेका कारण सामाजिक भेदभाव पनि अन्त्य हुने दावी उनको छ ।

जसरी कार्ल माक्र्सले ‘कम्युनिस्ट मेनिफेस्टो’ लेखेर वर्गविभेदको उपायको शंखघोष गरेका थिए-त्यसैगरी लेखक साहले ‘कल्किस्ट मेनिफेस्टो’बाट जातीय अभ्यासका बेथितिविरुद्घ यसको समूल नष्ट गर्ने मार्गचित्र प्रस्तुत गरेका छन्।

लेखक भन्छन्– कल्किवादको उदयले पैसाविहीन समाज निर्माण गर्ने, मलेच्छलाई हटाउने र कलियुग अन्त्य गर्ने कुरामा ठोस पहल गर्नेछ। रामलाई रामसेना र कृष्णलाई नारायणीसेना आवश्यक भएजस्तै कल्किलाई पनि कलियुग अन्त्य गर्न कल्किसेनाको आवश्यकता पर्दछ भन्ने उनको तर्क छ।

भारतले चार हजार वर्षपहिले जातप्रथाको प्रचलन ल्याएर समाजलाई द्वन्द्वमा धकेल्यो। के नेपालले यस्तो प्रथा हटाएर नयाँ समयसान्र्दभिक व्यवस्था ल्याएर विश्वगुरु बन्न सक्छ त? यसको विस्तृत र सम्पूर्ण प्रस्तावित प्रणालीबारे बुझ्न भने उनको आगामी पुस्तकलाई अध्ययन गर्नुपर्ने हुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *