टर्की र सिरिया भूकम्पको एक हप्तापछि दुई जनाको चमत्कारिक उद्धार

डिसी नेपाल
१ फागुन २०७९ १२:५१
192
Shares

टर्की। टर्की र सिरियामा भूकम्प गएको एक सातापछि भग्नावशेषभित्र पुरिएको अवस्थामा टर्कीमा थप दुई व्यक्तिलाई सकुशल उद्धार गर्न सफल भएका छन्।

भूकम्पमा परी टर्की र सिरियामा गरी ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। उद्धार कार्य जारी रहेको छ भने भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या अझै हजारौँ रहेको हुनसक्ने अनुमान गरिएको छ।

गत सोमबारको विनाशकारी भूकम्पपछि भत्किएका भवनको भग्नावशेषमा करिब सात दिनसम्म फसेका एक बालक र ६२ वर्षीया महिलालाई चमत्कारिक रूपमा उद्धार गरिएको हो।

सात वर्षीय मुस्तफालाई दक्षिणपूर्वी टर्कीको हताय प्रान्तबाट उद्धार गरिएको छ भने नाफिज यिल्माजलाई नुर्डागीबाट उद्धार गरिएको छ । दुवै जना १६३ घण्टासम्म भग्नावशेषमा फसेका थिए।

टर्कीको विपद् व्यवस्थापन निकायका अनुसार टर्कीका ३२ हजारभन्दा बढी व्यक्ति खोजी तथा उद्धारकार्यमा जुटेका छन् भने आठ हजार २९४ जना अन्तर्राष्ट्रिय उद्धारकर्ताले पनि उद्धार गरिरहेका छन्।

बेलायती खोजी टोलीका एक सदस्यले आइतबार ट्वीटरमार्फत् पोस्ट गरेको भिडियोमा एक उद्धारकर्ताले भग्नावशेषबाट बनेको सुरुङबाट तल झरेर हातायमा भग्नाबशेषमा रहेका टर्कीका एक व्यक्तिलाई उद्धार गरिएको देखिन्छ।

खोज टोलीहरू समय वित्दै जाँदा हराइरहेका थप व्यक्तिहरूको उद्धारमा खटिरहेका छन्। विशेषज्ञहरूले भग्नावशेषमा जीवित व्यक्तिहरू फेला पार्ने आशा प्रत्येक दिन धुमिल बन्दै गएको बताएका छन्।

उद्धार टोलीहरूले सेन्सर र उन्नत खोजी उपकरणहरूको अभावमा काम गरिरहेको र यसले उद्धारमा ढिलाई भएको बताएका छन्। उद्धारकर्ताहरूले सावधानीपूर्वक बेल्चा तथा अन्य हाते उपकरण भग्नावशेषलाई खन्न र अवरोध हटाउन बाध्य भएको बताएका छन्।

उत्तरपश्चिम सिरियाको जाबलेहका नागरिक सुरक्षा प्रमुख अला मौबाराकले भने, “यदि हामीसँग आधुनिक उपकरण भएको भए हामी सयौंको ज्यान बचाउनसक्थ्यौं।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *