जंगल फाँडेर चिहान बनाइयो, ५ हजार लाशहरूलाई एकैठाउँमा गाडियो

डिसी नेपाल
१ फागुन २०७९ १६:४१
708
Shares

काठमाडौं । कालो प्लाष्टिकको झोलामा भरिएका लाशको थुप्रो, आफन्तको शव टेबुलमा राखेर अन्त्येष्टि पढिरहेका मानिसहरू र कडा चिसोमा जेसीबीको सहायताले चिहान खनिरहेका मजदुरहरू । यो दृश्य टर्कीको कहरामनमारस सहरको हो। टर्कीमा गएको भूकम्पले यहाँ यति ठूलो क्षति पुर्याएको छ कि जताततै शवको थुप्रो छ । यी शवहरूलाई गाड्न यहाँ जंगलको एक भाग काटेर सामूहिक चिहान बनाइएको थियो।

ब्रिटिश टेलिग्राफको रिपोर्टका अनुसार भूकम्पपछि बेपत्ता भएका आफन्तको खोजीका लागि हतास भएका मानिसहरु चिहानमा पुगेर शवका बीचमा खोजी गरिरहेका छन् । यस सहरका भवनको भग्नावशेष हटाएर फेला परेका सबै शव यही चिहान नजिक मात्रै ल्याइएको छ । हालसम्म ५ हजार शव पहिचान गरी गाडिएको छ ।

आफन्तको खोजीमा मानिस आउने क्रम जारी छ । मानिसहरु यहाँ आएर कालो प्लाष्टिकको झोलामा राखिएका शव चिन्न थाल्छन् । आफ्नो नजिकको मान्छे भेटेपछि आफन्तको चिहान मिलाउने उद्देश्यले यता उता दौडिन थाल्छन् । वास्तवमा यति ठूलो संख्यामा शव यहाँ आउने क्रम चलिरहेको छ कि जङ्गल काटेर सामूहिक चिहान बनाएर पनि चिहानका लागि लड्नु परेको छ ।

नयाँ चिहान निर्माणका लागि सरकारले ठूला जेसीबी मेसिन जडान गरि दिनरात जङ्गल सफा गर्ने र माटो खन्ने काममा लागिरहेको छ । प्रत्येक मिनेटमा एम्बुलेन्सहरूको आउने क्रम जारी छ, जसले प्रत्येक राउन्डमा दर्जनौं शवहरू ल्याउँछ। यहाँ उपस्थित मानिसहरु बताउँछन् कि चिहान बनाउन न त ढुङ्गा छ न त अन्य आवश्यक चीजहरू छन्। काठको सानो टुक्रामा कालो स्केच पेनको सहायताले आफन्तको चिहानको नाम र संख्या टिपिरहेका छन् ।

टर्कीको सहर कहरामनमारस भूमध्यसागरीय क्षेत्रमा अवस्थित एउटा महत्त्वपूर्ण सहर हो। यो कहरामनमारस प्रान्तको प्रशासनिक केन्द्र पनि हो। १९७३ भन्दा पहिले, यसलाई आधिकारिक रूपमा मारस भनेर चिनिन्थ्यो, तर पछि यसमा कहरामन शब्द थपियो, जसको अर्थ फारसीमा नायक हो।

भूकम्पका कारण हालसम्म टर्की र सिरियामा ३४ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । शव निकाल्ने क्रम जारी छ । भत्किएपछि त्यस्ता धेरै भवन छन्, जसको भग्नावशेष अहिलेसम्म हटाइएको छैन । उद्धार कार्य युद्धस्तरमा चलिरहेको छ । तर सबै भवनको भग्नावशेष हटाउन अझै केही दिन लाग्न सक्छ । त्यसैले मृत्यु हुनेको संख्या धेरै हुन सक्ने अनुमान गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *