अर्काको नाममा ट्रायल दिने र दिन लगाउने दुई जना पक्राउ

डिसी नेपाल
२५ फागुन २०७९ २१:१५

काठमाडौं । नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने र दिन लगाउने २ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहीबार सर्लाहीको बलरा नगरपालिका– ६ घर भइ काभ्रेपलाञ्चोकको बनेपा बस्दै आएका २१ वर्षीय सन्तोष कुमार कुशवाहा र सिरहाको मिर्चैया नगरपालिका– ४ घर भइ भक्तपुरको लोकन्थली बस्दै आएका २० वर्षीय रविकुमार साहलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको ट्राफिक प्रहरी टोलिले भक्तपुरको राधे राधे ट्रायल सेन्टरबाट कुशवाहाको नाममा साहले दुईपाङ्गे सवारी साधनको ट्रायल दिइरहेको पाइएकाले दुवै जनालाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा आएका दुवै जनालाई प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको छ ।

अर्काको नाममा झुक्याएर ट्रायल दिने प्रवृत्तीलाई रोक्नको लागि विशेष कडाइ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह–प्रवक्ता एवं प्रहरी उपरीक्षक अबि नारायण काफ्लेले बताए । यसका साथै अर्कै व्यक्तिले परीक्षा दिएर सवारी चालक अनुमति पत्र निकाल्दा दक्ष चालकको कमि भइ दुर्घटना समेत निम्तिने भएकाले ट्रायल सेन्टरहरूमा थप निगरानी बढाइएको उनको भनाई छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *