दाङमा युवाले आफैं चलाए स्थानीय सरकार

युवराज खड्का
२ चैत २०७९ १०:३१

राष्ट्रिय युवा परिषदको स्थानीय तहतर्फको वार्षिक सशर्त अनुदान कार्यक्रम अन्तर्गत देशका ७७ जिल्लामा नमुना युवा संसद अभ्यास कार्यक्रम रहेको छ जसमध्ये एक जिल्ला एक स्थानीय तहमा यो कार्यक्रम हरेक वर्ष सञ्चालन हुँदै आएको छ।

राष्ट्रिय युवा निति २०७२ ले १६ देखी ४० वर्ष उमेर समुहको जनसङ्ख्यालाई युवा मानेको छ।

युवा परिषदले युवामा राष्ट्र, राष्ट्रियता, आधारभूत आवश्यकताको परिपूर्ति, समानता एवम् समतामुलक वितरणको सिद्धान्त,लोकतान्त्रिक मूल्य मान्यता, संवैधानिक सर्वोच्चता, वैयक्तिक स्वतन्त्रता, विश्वव्यापी मानवअधिकारको सिद्धान्त, सह-अस्तित्व भाषा, कला र वातावरणीय सम्पदाको संरक्षण र संवर्द्धन जस्ता आधारभुत मुल्य मान्यताहरुको प्रवर्द्धन गर्ने हेतुले राखेको युवा नीति ३०६६ ले निर्देश गरेबमोजिमका विषयवस्तुलाई पुनरावलोकन गरी राष्ट्रिय युवा नीति २०७२ तर्जुमा गरिएको हो।

यसले युवा वर्गको सर्वाङ्गीण विकासका लागि शिक्षा, रोजगारी, स्वास्थ्य तथा समाजिक सुरक्षा, युवा सशक्तिकरण तथा नेतृत्व विकास सहभागिता तथा परिचालनलगायतका विविध रणनीति तथा कार्यनीति अवलम्वन गरेको छ।

नेपालमा युवा वर्गको विशिष्ट अवस्था,भूमिका,सम्भाव्यता र चनौतीलाई मध्यनजर गर्दै नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय एवम् राष्ट्रिय युवा परिषदले राष्ट्रिय युवा नीति २०७२ ले राखेका उद्देश्य पूर्ति गर्न युथ भिजन २०२५ जारी गरेको थियो।

जसले युवा विकासका लागि पाँचखम्वे आधारस्तम्भ तयार पारेर सो बमोजिम रणनीति कार्यन्वयनका लागि युवा केन्द्रित देहायबमोजिमका विषयमा आधारित रहेर कार्यक्रम सञ्चाल गर्ने गरेको छ:

-गुणस्तरीय र व्यावसायिक शिक्षा

-रोजगारी, उद्यमशिलत र सिप विकास

-स्वास्थ्य र सामाजिक सुरक्षा

-परिचालन,सहभागिता र नेतृत्व विकास

-खेलकुद र मनोरञ्जन

लगायमा केन्द्रित रहेर देशै भरी सम्बन्धित सरोकारवालासँगको सहकार्य तथा एकल वार्षिक योजना निर्माण गरी तदनुरूप कार्य गर्दै आइरहेको छ। यसमध्ये परिचालन, सहभागिता र नेतृत्व विकाससँग सम्बन्धित रहेर राष्ट्रिय युवा परिषदले देशैभरी नमुना युवा संसद अभ्यास कार्यक्रम प्रत्येक वर्ष एक जिल्ला एक पालिका छनोट गरी कार्यक्रम गर्दै आएको छ।

परिषदले नमुना युवा संसद संघीय संरचना अनुरुप स्थानीय तहमा गाउँ /नगर सभाको अभ्यास गराउँछ भने प्रदेशमा प्रदेश सभा तथा संघ मा संघीय प्रणाली बमोजिम संघीय संसद अभ्यास गराउने गर्छ।

यो वर्ष दाङ जिल्लाको बबई गाउपालिकाका युवाहरुले स्थानीय सरकार सञ्चालनको अभ्यास गरेका छन्। बबई गाउपालिकामा फागुन २७ देखि ३० सम्म चार दिनसम्म चलेको अभ्यासमा उनीहरु प्रत्येक वडाबाट वडा क्लव गठन गरी त्यहाँबाट प्रतिनिधित्व गरेर ३/३ जनाका दरले ७ वटा वडाबाट जम्मा २१ जना थिए भने पालिकाले विषेश समूहका युवालाई समेट्ने गरी ५ जना मनोनित गरी जम्मा २६ जनाको सहभागीता गराइएको थियो। उनीहरु युवा क्लव गठन तथा नमुना युवा संसद अभ्यास कार्यविधि बमोजिम १६-२४ वर्ष उमेर समूहबाट प्रतिनिधित्व गरेका थिए।

सुरुमा युवाहरु संसद अभ्यास बारे त्यति परिचित नभए पनि कार्यक्रमको उद्घाटन सत्रको अन्त्य गरी अभ्यास सत्रमा गएपश्चात युवाहरु विस्तारै जानकार हुँदै गएका थिए। जसमा प्रशिक्षणका लागि राष्ट्रिय युवा परिषदका प्रशिक्षक युवराज खड्का र युवराज जोशीले प्रशिक्षण दिएका थिए।

उनीहरुलाई विषयगत र प्रक्रियागत गरी जम्मा १६ वटा सत्रको अभ्यास गराइएको थियो। त्यसक्रममा युवाहरुले युवा,जीवन र मार्गदर्शन, युवा संसदको अभ्यास र अवधारणा, लोकतन्त्र, लोकतन्त्रमा युवाको भूमिका,लोकतन्त्रमा जनताको शासन, सूचनाको हक ,यसको प्रयोगको संवैधानिक एवं कानुनी व्यवस्था, राज्यका अंग र तीनका भूमिका, योजना निर्माणका चरण, योजना तर्जुमाका आधार, लगायतका विविध पक्षहरु बारे जानकारी लिएका थिए।

त्यसपछि युवाहरुले नेपालको संविधानले व्यवस्था गरेबमोजिमको स्थानीय सरकारको निर्वाचन, निर्वाचन ऐन बमोजिमको निर्वाचन प्रक्रियमा सहभागी नमुना जनप्रतिनिधिहरु नमुना मतदानमार्फत मताधिकारको उपयोग गरी छनोट गरेका थिए।

प्रतिनिधि छनोटपछि अभ्यासका क्रममा स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सरकार सञ्चालको अभ्यास गाउँ सभामार्फत गरेका थिए। जसमा आर्थिक वर्ष २०८०/०८१ को नमुना नीति तथा कार्यक्रम, नमुना बजेट, आर्थिक तथा विनियोजन विधेयक २०८० तथा स्थानीय युवा परिषद गठन सम्बन्धी विधेयक २०८० क्रमश सभा समक्ष प्रतुत गरी त्यस उपर छलफल र जवाफको प्रक्रिया पश्चात निर्णार्थ प्रस्तुत गरिएको थियो।

छलफलको क्रममा कसैले राम्रो नीति तथा कार्यक्रम ल्याएकोमा सभाध्यक्षलाई धन्यवाद दिएका थिए भने कुनै गाउँ सभा सदस्यले गलत मनासयबाट आएको भनी आलोचना तथा परिमार्जन गर्न सभा मार्फत सभाध्यक्षको ध्यानाकर्षण गराएका थिए।

बबईका युवाले अभ्यास गरेको गाउँसभाको अवलोकन गर्न सक्रियताका साथ सम्पूर्ण जनप्रतिनिधि, कार्यपालिका सदस्यहरु, जिल्ला समन्वय समिति पदाधिकारी, स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो।

उपस्थित जनप्रतिनिधिहरुले समापन समारोहमा मन्तव्य राख्दै सरकार सञ्चालन गर्दा/गाउँ सभामा निति तथा कार्यक्रमको साथै अन्य ऐन ल्याउदा विषयवस्तुको ज्ञानको अभावका कारण असजिलो हुने गरेको तर युवाहरुले सरल रुपमा धेरै राम्रो गरेको वास्तविक सभाको अनुभति भएको भन्दै यस्ता खाले कार्यक्रम अब पालिका आफैंले सक्रियता पूर्वक यसका दायरा अझै बढाउने बताएका थिए।

समापन समारोहको समापन गर्दै गाउपालिका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीले बबईका युवाले चलाएको सभ्य गाउँसभाले आफूहरुलाई थप मार्गदर्शन गरेको अझै विषयवस्तु बारे ज्ञान राखेर सरकार सञ्चालनको सफल अभ्यास गर्ने समेत बताएका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *