कालीमार्सी धानको बीउ राख्न सार्वजनिक बिदा
जुम्ला। जुम्लाका किसानलाई यो याममा कालीमार्सी धानको बीउ राख्ने चटारो परेको छ। यहाँका किसानले मार्सीधानको बीउ राख्ने चैत १२ भएकाले कर्णाली प्रदेश सरकारले विशेषगरी जुम्लामा आज सार्वजनिक बिदासमेत दिएको छ।
जुम्ली किसानहरू आज आफ्नो कृषि क्यालेन्डरअनुसार धमाधम बीउ छरी ‘विसुवा पर्व’ मनाइरहेको तातोपानी गाउँपालिका–४ का स्थानीयवासी सत्यदेवी पाण्डेले जानकारी दिए।
कालीमार्सी धानको बीउ चैत १२ गते भिजाउने, १६ गते उतार्ने र २० गते बेर्ना राख्ने परम्परा रहिआएको यहाँका स्थानीयवासी बताउँछन्। जिल्लामा करिब दुई हजार आठ सय हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ।
ऊर्जा विकास तथा सिँचाइ कार्यालय जुम्लाका प्रमुख अनुप श्रेष्ठले जिल्लाभर विपत्ले खेतीयोग्य जमिन र कुलो बगाएका छन्। कार्यालयमा आएका निवेदनअनुसार कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा ऊर्जा विकास मन्त्रालयमा ३४ वटा कुलाको योजना निर्माणका लागि पठाएको कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ।
सिञ्जा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालका अनुसार पालिकाभित्र जाँच कुलो, घोडेङ्गा, चुलेलगाउँ, धिताललिहीसहित विभिन्न स्थानमा ठूलो मात्रामा मार्सीधान सिँचाइ हुने कुलो विपत्ले क्षतविक्षत बनाएपछि मर्मत गर्न समस्या भइरहेको बताए।
गत असोजमा आएको बाढी र पहिराले गएको कुलो निर्माण हुन नसक्दा यस पटक धेरैजसो किसानलाई बीउ राख्न कठिन भएको छ स्थानीय तहका कृषि शाखाले जनाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment