चरखण्डीमा दर्शनार्थीको घुइँचो

डिसी नेपाल
१ वैशाख २०८० ७:३४

भक्तपुर। भक्तपुरको दधिकोट र सिरुटारको संगमस्थलमा रहेको प्रसिद्ध चरखण्डी मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। चरखण्डी महादेव मन्दिरको कुण्डमा नुहाएर महादेवको पूजा गरे सबै रोग निको भई गरेका काम सफल हुने विश्वास रहिआएको छ।

किंवदन्तीअनुसार सिकारीले मारेको भँगेरा चरखण्डीको पोखरीमा डुब्दा दैवी शक्तिका कारण पुनः जीवित भएर उडेको थियो। यहाँको कुण्डमा नुहाए छालासम्बन्धी रोगबाट मुक्ति मिल्ने विश्वास छ। यही विश्वासले आज बिहानैदेखि कुण्डमा स्नान गर्नेको घुइँचो लागेको छ। प्रत्येक वर्ष वैशाख १ गते मनाइने चरखण्डी मेलामा मन्दिर परिसरमा युवा शरीरमा बत्ती बालेर बसेका छन् । शरीरमा बत्ती बालेर बसेमा धर्म प्राप्ति हुने एवं पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ।

मन्दिरमा बिहानैदेखि तीन खटसहितको खटजात्रासमेत गरिएको छ। दधिकोटका विभिन्न क्षेत्र परिक्रमा गराई बिहानै ल्याइएको खट पुनः मन्दिर परिसरमा राखेर पूजा गर्ने गरिन्छ।

त्यसैगरी दधिकोटको चित्रपुरस्थित पूर्णविनायक गणेश मन्दिरमा पनि बिहानैदेखि मेला लागेको छ। यहाँ गणेशको खटजात्रासमेत गरिएको छ। दधिकोट र सिरुटारका बासिन्दाले गणेशको पूजा गरी बलि चढाएका छन् ।

यता सिरुटार र ललितपुरको टीकाथली गाविस जोड्ने दोभानस्थित गुप्तेश्वर महादेव मन्दिरमा पनि मेला लागेको छ। बालकुमारी देवी विराजमान गराएको खटलाई स्थानीयले पूजा सम्पन्न गरेपछि बोकेर टोलटोलमा पुर्‍याउने परम्परा रहेको स्थानीय प्रकाश श्रेष्ठ बताउँछन्।

यस्तै चैत मसान्तमा साँझदेखि सुरु गरी रातभर सञ्चालन हुने चान्हेसिया अर्थात् रात्रिको जात्रा आज बिहान सम्पन्न भएको छ। मध्यपुरथिमिका बासिन्दाले मनाउने उक्त जात्रामा बिहीबार साँझ बालकुमारीलाई थिमिको लायकू दरबारबाट जात्रा गरी बालकुमारी मन्दिरमा ल्याएर विराजमान गराई चान्हेसिया जात्रा सुरु गरिएको थियो।

चान्हेसिया जात्रामा सर्वप्रथम दिगुटोलमास्थित दिगुभैरवलाई आचाजु कर्माचार्यको घरबाट लायकूमा ल्याइन्छ भने त्यसपछि तलेजुबाट बालकुमारीलाई ढकीमा राखेर कपडाले छोपी लायकू अगाडि ल्याइएर जात्रा मनाइन्छ। त्यसपछि भने खटमा राखी बालकमारी मन्दिरमा विराजमान गराइन्छ।

जात्रामा थिमिको अधिकांश घरबाट निस्केको हजारौँ चिराग बालेर र धिमाय बजाई दक्षिण बाराही, हरिसिद्धि र अजिमा देवतालाई ल्याएपछि पुनः बालकुमारीबाट शङ्खधर चोक हुँदै क्वाछेंस्थित दक्षिण बाराही मन्दिर परिक्रमा गराएको थियो।

त्यसपछि तछुटोल, विष्णुवीर मन्दिर परिक्रमा गराई बालकुमारी मन्दिरमा ल्याई पुर्‍याएर पाँचपटक परिक्रमा गराएपछि सोही स्थानमा आ–आफ्नो आसनमा खटलाई राखेपछि जात्रा सम्पन्न भएको थियो।

भक्तपुरको ल्यासिङ्खेलमा पनि बिहानैदेखि स्थानीयले पूजा एवं बलि दिएर पूजाआजा गरिरहेका छन्। दिनभर जात्रा गराएर साँझ तान्त्रिक विधिअनुसार पूजा सम्पन्न गरिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *