चितवनमा अनुमति लिएर राखिएका ३२ थान मध्ये दुई जनाले मात्रै बुझाए हतियार

डिसी नेपाल
६ वैशाख २०८० ११:१८

चितवन । निर्वाचनलाई लक्षित गर्दै अनुमति लिएर राखिएका हतियारमध्ये चितवनमा दुई थान हतियारमात्र बुझाइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि फिर्ता लगिएका दुई हतियार बुझाइएको हो । जिल्लामा अनुमति लिएर राखिएका ३२ थान हतियार छन् ।

जिल्ला प्रशासन कार्यालयले गत चैत २४ गते सूचना जारी गर्दै चैत मसान्तभित्र हतियार बुझाउन गरेको आह्वानका क्रममा लगिएका हतियार पुनः स्थानीय प्रशासनलाई बुझाइएको हो ।

जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयमा ती हतियार बुझाइएको पण्डितले जानकारी दिए। यही वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन इजाजतप्राप्त हतियार बुझाउन अनुरोध गरिएको हो।

जिल्लामा अनुमति लिएर राखिएका १२ बोरको १४ थान, १३ बोरको एक थान, राइफल १० थान, एकनाले बन्दुक एक थान, दुईनाले बन्दुक एक थान र अन्य हतियार छन् ।

इजाजतप्राप्त हतियार बुझाउन आनाकानी गरेको पाइएमा हतियार बरामद गरिने पण्डितले बताए। निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्नका लागि स्थानीय प्रशासनले निर्वाचन विशेष एकीकृत सुरक्षा योजनासमेत लागू गरेको छ । उपनिर्वाचनका लागि मनोनयन दर्ता भएसँंगै यो योजना कार्यान्वयनमा ल्याइएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *