कर्णाली करिडोरसँग जोडिएपछि खत्याडवासीको मुहारमा खुसी

डिसी नेपाल
२२ वैशाख २०८० २१:५८

मुगु। मुगुको खत्याड गाउँपालिका कर्णाली करिडोरसँग जोडिएपछि खत्याडवासी उत्साहित भएका छन् । सुकाढिक झुगलास्थित हुम्ला कर्णाली नदी बेलिब्रिज(पुल) निर्माण भएर कर्णाली करिडोरमा गुड्ने गाडी अब खत्याड गाउँपालिकातिर चल्ने भएपछि खत्याडवासीको मुहारमा खुसी छाएको हो ।

कर्णाली नदीमा बेलिब्रिज पुल बनेपछि गाडी गाउँमै पुग्ने भएपछि खुसी छाएको सुकाढिक गाउँका ७४ वर्षीय धनलाल कार्कीले बताए । “अब सहरको मालसामान गाउँमै पुग्ने भयो”, उनले भने, “हामीलाई सुर्खेत, नेपालगञ्ज आउजाउ गर्न पनि सहज भयो ।”

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा कालिकोटका सांसद महेन्द्रबहादुर शाहीले सो पुलको उद्घाटन गरे । उनले पुल सञ्चालनमा आएसँगै स्थानीय उत्पादनले बजार पाउने र स्थानीयको जीवनस्तरमा सुधार हुने आशा रहेको बताए।

सुकाढिक झुगलमा निर्माण भएको बेलिब्रिजले पर्यटकलाई रारा भ्रमण गर्न सहज हुनेछ । हिमपात र वर्षातमा पनि उक्त सडक सञ्चालन हुने भएकाले बाह्रै मास पर्यटकलाई रारा घुम्न आउने सुविधा भएको छ । बेलिब्रिजले समग्र मुगुवासीको समृद्धिको ढोका खोलेको सांसद ऐनबहादुर शाहीको भनाइ छ ।

सुकाढिक झुगला बेलिब्रिजदेखि खत्याड बाउ पानीसम्मको करिब २९ किलोमिटर सडक सुधार गर्न र खोलामा पुल निर्माण गर्न गाउँपालिकाले विशेष ध्यान दिनुपर्ने कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री मङ्गलबहादुर शाहीले बताए ।

उनले भने, “गमगढी खत्याड सडक जोडिने कार्यलाई पहिलो प्राथमिकता राखिएको छ ।” ६० मिटर लम्बाइको उक्त बेलिब्रिज निर्माणका लागि खत्याड गाउँपालिकाले रु तीन करोड ५९ लाख ९८ हजार बजेट छुट्याएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *