एआइजी श्याम ज्ञावालीलाई हटाउन देउवाकाे दबाब, हटाएबापत मन्त्रीसमेत छोड्न तयार

सरुवा नभए गठनबन्ध नै धरापमा पर्ने चेतावनी

डिसी नेपाल
१० जेठ २०८० १०:२६

काठमाडौं। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रयोजनमा लागेका हाइप्रोफाइल व्यक्तिलाई जुनसुकै बेला पक्राउ गरी अनुसन्धान गर्न पाउने गरी प्रहरीले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुखको एआइजी श्याम ज्ञावालीको सरुवाका लागि दबाब बढेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आफू भारत भ्रमणमा जानुअघि नै उनको सरुवा गर्ने तयारी गरेका छन्। पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले उनको सरुवा गर्न दबाब दिएपछि गठबन्धनमा संकट आउने भन्दै प्रधानमन्त्रीले सरुवाको तयारी गरेका हुन्।

बालवाटार स्रोतका अनुसार देउवाले प्रधानमन्त्री प्रचण्डलाई अरु आफू एउटा मन्त्री छोड्न तयार रहेको तर ज्ञवालीलाई जसरी पनि हटाउन दबाव दिएका छन्। ‘उहाँ एआईजी ज्ञवालीप्रति निकै कठोर देखिनु भएको छ,’ बालुवाटार स्रोतले भन्यो, ‘उहाँको दबाव थेग्न प्रधानमन्त्रीलाई कठीन भइरहेको छ।

अनुसन्धानलाई फराकिलो बनाउँदै प्रहरीले यसपछि पनि ६० दिनसम्म राखेर अनुसन्धना गर्नेगरी मुद्दाको प्रतिवेदन बुझाएको हो।

प्रहरीका अनुसार अहिले पक्राउ परेका र पर्न बाँकी रहेका हकमा पनि संगठित अपराध ऐन अनुसार कारवाही गर्नेगरी अनुसन्धानको दायारा फराकिलो बनाएको हो।

आजै सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा बुझाउने तयारी गरेको छ। प्रहरीले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउनु अघि नै शेरबहादुर देउवा लगायतका नेताहरुले बालकृष्ण खाँणलाई जोगाउनका लागि आरोपीहरुको बयान परिवर्तन गराउन दबाब दिइएको थियो।

आफ्नै पार्टीका नेताहरु फसेपछि पूर्व प्रधानमन्त्री देउवाले प्रधानमन्त्री प्रचण्डसँग सरोकार राखेका छन्।उहाँले प्रहरीबाटै असहयोग भएको पनि गुनासो गरेका छन् त्यसको सम्बोधन गर्ने प्रधानमन्त्रीबाट वचन दिइएको छ।

अनुसन्धान प्रतिवेदनमा बयान परिवर्तन गर्न प्रहरीले नमानेपछि पूर्व प्रधानमन्त्री देउवाले एआइजी ज्ञावालीको सरुवा गर्न दबाब दिएका हुन्। यसअघि पनि उपप्रधानमन्त्री पूर्णबहादुर खड्का लगायतका नेताहरुले प्रधानमन्त्रीलाई प्रहरीबाट सहयोग नभएको गुनासो गरेका थिए।

‘आफ्नै पार्टीका नेताहरु फसेपछि पूर्व प्रधानमन्त्री देउवाले प्रधानमन्त्री प्रचण्डसँग सरोकार राखेका छन्’, स्रोतले भन्यो, ‘उहाँले प्रहरीबाटै असहयोग भएको पनि गुनासो गरेका छन् त्यसको सम्बोधन गर्ने प्रधानमन्त्रीबाट वचन दिइएको छ।’

नक्कली भूटानी शरणार्थी प्रकरणमा उपत्यका प्रहरी कार्यालयका प्रमुखका रुपमा एआइजी श्याम ज्ञावाली, काठमाडौ प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्की, उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले राम्रो काम गरेको भन्दै सर्वत्र प्रशंसा गरिएको छ।

प्रहरीको गुमेको शाख फिर्ता गर्न उनीहरुको भूमिका रहेको भन्दै सर्वसाधारणले समेत प्रशंसा गरेको बेला राजनीतिक दबाबमा एआइजीको सरुवा तयारी भएको हो। पूर्व प्रधानमन्त्री देउवाले उनको सरुवा नभए गठनबन्ध नै धरापमा पर्ने संकेत समेत गरेको स्रोतको दावी छ।

प्रहरीले नक्कली शरणार्थी प्रकरणमा ३३ जनाविरुद्ध तीनवटा कसुरमा मुद्दा चलाउनुपर्ने राय दिँदै अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ।

अनुसन्धानका क्रममा गिरोहका सदस्यले नाम लिएका तर प्रस्ट प्रमाण नजुटेका ‘हाई प्रोफाइल’सहित थप सातजनालाई प्रमाण जुटेका बखत पक्राउ गर्न सकिने गरी अनुसन्धान प्रक्रिया जारी राख्न प्रहरीले माग गरेको छ।

यस्तै प्रहरीले ११३ पीडितको जाहेरीअनुसार आरोपित ३३ जनासँग २७ करोड ५० लाख बिगो कायम गरेको छ। प्रहरीले २३ वटा जाहेरी परेको जनाएको छ। पुरकका लागि थप १० वटा निवेदन परेका छन्।

प्रहरीले मुद्दा चलाउन सुझाएका ३३ जनामा प्रहरी हिरासतमा रहेका पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, संविधानसभा सदस्य एवं कांग्रेस नेता आङ्टावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहितका १६ जना र पक्राउ पुर्जी जारी भएर पनि फरार रहेका थप १७ जना छन्।

सबै गरी ३३ जनामध्ये ३० जनाको स्पष्ट वतन (ठेगाना) खुलेको छ। प्रहरीले उनीहरु जो कोहीलाई पनि कुनै बेला संगठित अपराधमा पुन अनुसन्धान गर्ने गरी पक्राउ गर्ने अधिकार सुरक्षित राखेको छ।




प्रतिक्रिया

4 thoughts on “एआइजी श्याम ज्ञावालीलाई हटाउन देउवाकाे दबाब, हटाएबापत मन्त्रीसमेत छोड्न तयार

  1. खवरदार यी तीन देशभक्त रास्ट्रसेवकहरुलाई शरुवा गरेको हामी जन्तालाइ सैह्य हुने छैन । श्रीलङ्काको घटना सायद बिर्सेको छैनौ होला भ्रस्टहरु हो ।

  2. प्रधानमन्त्रीज्यु पदको लोभमा परेर यी रस्ट्रसेवकहरुलाई सरुवा गर्ने भूल नगर्नु होला नत्र सकिनु हुन्छ तपाईको पत्ता साफ हुन्छ जै आगामी ८४ को चुनाबमा । ख्याल राख्नु होला । गृहमन्त्रीज्यु सतर्क हुनुहोला है । यो आम नेपालीको भावना हो है ।

  3. अब छिट्टै श्रीलंकाकै जस्तो नेपालका नेताहरूको पनि घरघरबाट तानेर धुलाई भेटलान जस्तो बुझिन्छ।

  4. अब कुनै पनि बेला Aig श्याम ज्ञवाली समेतको टिमलाई सरुवा गरेर नक्कली भुटानी शरणार्थी घटनाको अनुसन्धान कार्य भताबुङ्ग पार्‍यो भने पनि आश्चर्य हुनेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *