इमान्दारको खोजी

शंकरप्रसाद रिजाल
१४ जेठ २०८० ११:१४

संसारमा इमान्दार कोही छैनन्। कोही लुट्छन्। कोही लुटाउँछन्। कोही ठग्छन् भने कोही ठगिएर बस्छन्। कोही अरुलाई रुवाउँछन् भने कोही आफैं रुन्छन्।

यो संसारमा ‘इमान्दार’ शब्दको सृष्टि त भयो तर यसलाई अनुशरण गर्ने कोही भएनन्। त्यसै कारणले त संसारमा झैझगडा, रोष, बदला, हत्या हिंसा, ठगी र युद्धको घण्टी बजिरहेको छ।

इमान्दार त्यो हो, जो न आफू ठगिन्छ न उसलाई अरुले ठग्ने गर्दछ। वास्तवमा जसले सही सोच्दछ र सही काम गर्दछ, त्यो नै एक इमान्दार व्यक्ति हो। यो इमान हरेक मानिसको एक ‘मसिहा’ हो र एक गहना पनि हो जसले मानिसलाई सधैं देवत्व प्रदान गर्दछ।

यो कहिल्यै पनि नगल्ने, नसड्ने र नास नहुने चिज हो। तर यसलाई आदिकाल सत्य, त्रेता र द्वापर युगदेखि कलि युगको आगमन भए पश्चात लछार पछार गरी झुत्रो बनाइ देवता र मानिस आफू अनुशाशनहीन बनी संसारमा घुमीफिरी रहेको पाइन्छ।

सत्य युगमा सृष्टिकर्ता ब्रम्हाजीले आफ्नै छोरीको अवतार भएकी सरस्वतीलाई अनुशासनहीन कर्म गरी संसारको मान र इमानबाट बञ्चित भई पूजाहीन भइ बस्न पुगे। त्यस्तै विष्णुले दक्ष पुत्री सतिदेवी आफूलाई छल र बेइमान गरी मागी कन्यादान समेत लिई शिवजीलाई सुम्पेका थिए।

त्रेता युगमा श्री रामचन्द्रलाई कैकईको भाखा तथा कुचुत्याइद्वारा चौध वर्षको वनबास पठाउन राजा दशरथ बाध्य भएका थिए भने स्वयम् रामचन्द्रले इमान गुमाई बालीलाई लुकीलुकी वाण हानेका थिए।

यहाँ संसारको राज्यनीतिमा इमान बेचिएको छ। अर्थ नीतिमा इमान्दारिता लुकेको छ। धर्ममा इमान्दारिता न भै ब्यापार र पाखण्डीपना बढेको छ भने समाज र संस्कृतिमा इमान्दारिताको पैरो गएको छ र सम्पूर्ण परिवार, समाज, देश र सम्पूर्ण विश्व नै इमान्दारिताबाट अलग रहेको छ।

यस्तै आफ्नै पतिव्रता पत्नी सिताजीलाई लंकाबाट फर्किए लगत्तै शंकाको घेरामा परी बिचरी सीता माताको इमानको परीक्षा लिएका थिए। यस्तै द्वापर युगमा श्रीकृष्णले इमान्दारीको पर्वाह नगरी आफ्नी पत्नी सत्यभामा हुँदा हुँदै पनि स्वयम् बर्सानाकी राधा रानीलाई अचाक्ली छलीछली सुटुक्क मायामा फसाएका थिए।

त्यस्तै कैयौं पटक नुहाउन तलाउमा ओर्लेका गोपिनीहरुलाई फेरि निर्वस्त्र हुनेगरी लुगा लुकाई दिने जस्ता छली काम गरेको पनि श्रीकृष्णको लिलामा पाइन्छ। यतिमात्र नभई अन्त्यमा महाभारतको युद्धको समेत प्रपञ्च रची बिशाल युद्धको नायक बनी लाखौँ मानिसहरु र घोडा हात्तीहरुको ज्यान लिने काम गरेका थिए।

इमान्दारितामा यस्तो काम हुनु हुँदैन। यस्तै कर्म आजका मान्छेले गरे भने के भन्ने? सवाल यो छ। अतः यहाँ इमानको इज्जÞत कसले बचाउन सफल भएका छन् र।

ईश्वर युगमा त बचाउन नसकेको यो इमान झन् कलि युगमा कसले बचाउने र? यो युगमा त झन् इमान लुटिएको छ। संसारमा कैयौं मारिएका छन्। कोही भोक, रोग र शोकले मरेका छन्। धनीले गरीबमाथि, मालिकले नोकरमाथि इमान तोडेका छन्।

बाबुले छोरा, छोराले बाबु, पतिले पत्नीलाई, पत्नीले पतिलाई, दाजुले भाइलाई, भाइले दाजुलाई, नेताले जनतालाई, शासकले शासितलाई, व्यापारीले उपभोक्तालाई, धनीले गरीबमाथि अन्याय गरिनै रहेका छन्।

इमान छोडी बेइमान गरी रहेका छन्। त्यस्तै राष्ट्र राष्ट्रबीच इमान बेची एक अर्कालाई धम्कयाउन पछि परेका छैनन्। बेलायत, अमेरिका, हुन् रुस, चीन, भारत, र अन्य देशहरु हुन् हजारौं मानिसहरु मारेर माथि उठेका हुन्। यो कुरा इतिहासले बताउँदछ।

तसर्थ कुन देश त्यस्तो छ जहाँ इमान बचेको छ। यहाँ मानिसले मानिसमाथि राज गरिएको छ। देशले देशमाथि राज गरेको छ। जताततै युद्ध मच्चिएको छ। हजारौं संरचनाहरु भत्किएका छन्।

हजारौं मानिसहरु एकदुई देशको बेइमान शासकहरुको अभिमानले अकालमा जनता मर्न बाध्य भएका छन्। यहाँ इमानको बदलामा ठूल्ठूला संहारकारी बम, गोला, बारुद र अनेक क्षेप्यास्त्र प्रहार गरिरहेका छन्। इमान कुल्चिएको छ भने बेइमानिपना यो संसारमा जंगली मत्ता हात्ती जस्तो बनी हुंकार छेडिरहेको छ।

यहाँ संसारको राज्यनीतिमा इमान बेचिएको छ। अर्थ नीतिमा इमान्दारिता लुकेको छ। धर्ममा इमान्दारिता न भै ब्यापार र पाखण्डीपना बढेको छ भने समाज र संस्कृतिमा इमान्दारिताको पैरो गएको छ र सम्पूर्ण परिवार, समाज, देश र सम्पूर्ण विश्व नै इमान्दारिताबाट अलग रहेको छ।

जहाँ इमान्दारिता रहँदैन त्यहाँ बेइमानहरुले हाटबजार खोली एकले अर्कोलाई बेइमानी गर्ने, कुनीति, कुतर्क र कुशासनले इमान्दारिता माथि घोडा चढिरहेको हुन्छ।

संसारमा कुनैपनि कुराको तल माथि हुनु नै इमान्दारिताको ताल्चा बन्द गरी साँचो आफ्नो पकडमा राखी मनमानी गर्नु नै इमान्दारिताको धज्जी उडाउनु हो भने इमान्दारिताको हत्या पनि हो।

यही इमान्दारिताको अभावले नै आज यहाँ अन्र्तदेशीय र अन्तर्राष्ट्रिय सम्बन्धमा ह्रास आएको छ। नैतिकता हराएको छ भने आपसको सह–अस्तित्वको सम्बन्धलाई तुषारापात गरिएको छ।

बोली एक छ भने काम र सहयोगमा फरक देखाएका छन्। यहाँ इमान्दारितामा बेइमानी भइ अनेक माफियाहरुको जन्म भएको छ। राजनीतिक माफिया, समाज र संस्कृतिमा विकृति ल्याउने माफिया, भू-माफिया, धर्म माफिया र अर्थ माफिया बिरालोले बच्चा जन्माए जस्तो जन्मिरहेका छन्, जसले इमान्दारितालाई पछारी रहेका छन्।

जसको कारण राष्ट्र राष्ट्रमा विभाजन गराई असन्तुलित ढंगको सम्बन्धको बिकास भई निर्धा रास्ट्रहरु सधैं चेपुवामा पर्ने बातावरण सृजना भइरहेको छ।

नीति हराएपछि नैतिकता हराउने हो भने नैतिकता हराएपछि इमान्दारिताको लोप हुने हो, जसबाट अबिबेकको घैंटो फुटेर मानिस, परिवार, समाज र राष्ट्र नै बेइमानहरुको घेरा भित्र परी इमान्दारिपनको झण्डा सधैं जलिरहने हो भने कहाँ छ इमान्दारिताको संसार र समाज।

यो आजका इमान्दार भनाउँदाहरुले सोच्नै पर्ने बेला आएको छ। तसर्थ मानिस ‘मानिस’ भई बाच्नु छ भने प्रत्येकले इमान्दारिता अनुशासन, नियम र कर्मको यथोचित परिपालना गर्नु पर्दछ। अन्यथा मानिस, परिवार, समाज र राष्ट्र कुरूप बन्दै गएर अन्त्यमा सबै कुराको दुःखद अन्त्य हुने कुरा निश्चित छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *