दाहालमाथि गठबन्धन नरम

डिसी नेपाल
२२ असार २०८० ६:४६

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिनु नपर्ने र राजीनामा माग गर्नु उपयुक्त नभएको निष्कर्ष निकालेको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दलको बैठकले यस्तो निष्कर्ष निकालेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र्र्र पाण्डे बताए ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)सहितका प्रतिपक्षी दलले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरेपछि सत्तारूढ दलले त्यसलाई असंसदीय व्यवहार भएको निष्कर्षसमेत निकालेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्री प्रचण्डको राजीनामा कल्पना पनि गर्न नसकिने बताएका छन् । बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले आफ्नो विषयवस्तु सदनमा भन्ने बताए ।

‘हिजो (बुधबार) जसरी संसद् अवरुद्ध भयो, त्यस’bout गठबन्धनको बैठक बस्यो । अहिले प्रधानमन्त्रीज्यूले राजीनामा गर्नुपर्छ भन्ने जुन कुरा आयो, त्यो त कल्पना पनि गर्न सकिँदैन । उहाँले के भन्नुभएको हो भन्ने’boutमा प्रधानमन्त्रीज्यूले संसद्मा आफ्ना विषयवस्तु राखिहाल्नुहुन्छ,’ पाण्डेले भने ।

एउटा भावनात्मक विषयवस्तु, कतै अर्कै प्रसंगमा, व्यक्तिगत कुरा, त्यो पनि धेरै वर्ष पहिलाको कुरा ल्याएर बेठीक गरिएको उनले बताए । एमालेले प्रधानमन्त्रीको स्पष्टीकरण नभई राजीनामा चाहिएको भनेर दिएको अभिव्यक्तिप्रति उनले कटाक्ष गरे । प्रधानमन्त्रीले नै संसद्मा बोल्न नपाउने हो भने कसले पाउँछ भन्ने उनको प्रश्न थियो ।

गत सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री प्रचण्ड विवादमा तानिएका हुन् । नेपालमा पहिलोपटक ट्रक ल्याएका भनिएका प्रितम सिंहमाथि आधारित रहेर लेखिएको पुस्तक ‘रोड्स टु द भ्याली ः द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विवादित अभिव्यक्ति दिएका थिए ।

‘उहाँ (प्रतिम सिंह)ले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो । धेरैचोटि दिल्ली जानु पनि भयो । काठमाडौंमा नेताहरू–साथीहरूसँग लगातार छलफल गर्नुभयो,’ प्रचण्डले भनेका थिए ।

प्रधानमन्त्री प्रचण्डको सोही अभिव्यक्ति सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनको राजीनामा माग गरेका हुन् । प्रतिपक्षी दल मात्रै नभई अहिले समाजिक सञ्जालमा समेत प्रधानमन्त्री प्रचण्डको आलोचना भइरहेको छ । प्रमुख सत्तारूढ नेपाली कांग्रेसका केही नेताले समेत त्यसको विरोध गरेका छन् ।

यता सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने स्पष्ट पारेकी छन् । बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता शर्माले यस्तो बताएकी हुन् ।

उनले यस विषयमा प्रधानमन्त्रीले राजीनामा दिनुनपर्ने पनि दाबी गरिन् । कार्यक्रममा प्रधानमन्त्रीले कुनै अन्यथा नबोलेको पनि उनले दाबी गरिन् । उनले सो विषय बेकारको विषय भएकाले संसद्मा उठाउनुपर्ने आवश्यकता नै नरहेको टिप्पणी गरेकी छन् । प्रतिपक्षी दलका कारण सरकारले मिटरब्याजीविरुद्धको विधेयक संसद्बाट पास गर्न नपाएको आरोपसमेत उनले लगाइन् ।

यसैबीच, प्रधानमन्त्री प्रचण्ड आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिएपछि उनको सचिवालयले बचाउ गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभिष्ट पूरा गर्न खोजिएकोतर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

आचार्यले विज्ञप्तिमा सिंहले अनौपचारिक भेटघाटका क्रममा प्रचण्डसँग ‘तपाईंजस्तो योग्य मान्छे फेरि देशको प्रधानमन्त्री हुनुपर्छ’ भन्ने सदासयता व्यक्त गर्दै आएको सन्दर्भ पुस्तक लोकार्पणको क्रममा प्रधानमन्त्रीले प्रसंगवश उल्लेख गरेको बताएका छन् ।

‘सिंह दिल्लीस्थित आफ्नै घरमा पटकपटक आउजाउ गर्दा भएका पारिवारिक संवादमा सिंहले व्यक्त गरेका विषयसमेत प्रधानमन्त्रीले कार्यक्रममा स्मरण गर्नुभएको हो,’ आचार्यको विज्ञप्तिमा भनिएको छ, ‘तर, सम्बन्धको गहिराइलाई व्यक्त गर्न गरिएको भावानात्मक अभिव्यक्तिलाई बंगाएर अतिशयोक्तिपूर्ण राजनीतिकरण गर्नु आफंैमा निरर्थक र दुःखद् छ ।’

संसद्बाट निर्वाचित प्रधानमन्त्री प्रचण्ड सदैव संघीय संसदप्रति जवाफदेही भएको बताइएको छ । ‘संसदमा प्रस्टीकरणको मौकासमेत नदिई उहाँको भनाइको आशयविपरीत एकपक्षीय ढंगले प्रचारप्रसार गरिनु दुर्भाग्यपूर्ण छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संकुचित राजनीतिक मानसिकताका साथ प्रधानमन्त्रीको राजीनामा मागेर संसद् अवरुद्ध गर्नु सुशासन, समृद्धि र सामाजिक न्यायका पक्षमा सरकारले चालेका कदमको विरोध र सिंगो संसदको नै अपमान हुन जाने तथ्यसमेत हेक्का राखिनुपर्ने आचार्यको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्रीको सोही अभिव्यक्तिलाई लिएर बुधबार एमालेले राष्ट्रिय सभा र प्रतिनिधिसभा अवरुद्ध पारेको थियो । दुवै सदनमा उसका तर्फबाट राजीनामा समेत माग भएको थियो । एमालेका अध्यक्ष ओलीले प्रधानमन्त्रीको स्पष्टीकरण नभई राजीनामा नै चाहिएको बताएका छन् ।

संसद्मा विपक्षमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै आएका छन् । उता प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण बिहीबारको राष्ट्रिय सभा बैठक स्थगित भएको छ । प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले अवरोध गरेपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको हो । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *