सेना…. तिमी किन चाहियो ?

ईश्वर अर्याल
७ साउन २०८० १०:२१

हुलका-हुल बँदेल बारीमा पसेर उखु सखाप पार्दा, “पड्केले वाली सखाप पारेछ भरुवा झिक-झिक साहिली” भन्दै टार भरीको उखु जोगाइदिने भूपू हवल्दार खड्का नचिनेर भन्दै छौं रे, सेना…तिमी किन चाहियो?

जंगलका सल्ला साल सिसौ र सिमल सेनाले नै हेर्नु पर्ने, गैडाका खाग, हात्तीका हाड र बाधका छाला, सेनाले नै जोगाइदिनु पर्ने, हिमालमा हिँउ जोगाइदिनु पर्ने, पहाडमा बाढीमा जिउ जोगाइदिनु पर्ने, तराईको डुवानमा धान र मकैका बिउ जोगाइदिनु पर्ने, अनि फेरि भन्छौं, सेना… तिमी किन चाहियो?

फुटवलमा सेना चाहिने भलिबलमा सेना चाहिने, पौडीमा, दौडीमा नाकै उचो पार्न सेना चाहिने, खेलकुदमा देशै चिनाउन सेना चाहिने, बिश्व भरी चिनारी बनाइदिने खेलकुद नै नबुझी भन्दैछौ रे, सेना… तिमी किन चाहियो?

फूलपाती भित्र्याउन सेना चाहिने, घोडे जात्रा मनाउन सेना चाहिने, धर्म संस्कार र संस्कृतिमा सेना चाहिने, यति मात्रै कहाँ हो र तिम्रा ठूला मान्छे, जिउँदै छँदा त सलाम खाएकै थिए, आर्यघाटमा धरी सेना नै चाहिने, संस्कार र संस्कृति नबुझी भन्दैछौ रे, सेना… तिमी किन चाहियो?

बेस्सरी पढ्नु भएको छ चट्ट टाईसुटमा हुनुहुन्छ, त्यसैले न तुइन थाहा छ न खोलाका फट्के थाहा छ, तुइन चुँडिएर बगाएका स्कुले बच्चा बचाउने सेना, बझाङबाट सुत्केरी बचाउने सेना, सेतीको खोचमा खसेको बालक बचाउने सेना, यी सबै भुलेर, पत्थर जस्तै मन लिएर भन्दैछौ रे, सेना… तिमी किन चाहियो?

गाउँभरी बिबाह, ब्रतबन्ध र चाडपर्वमा, भतेरको डाडु समाउन, शिकारको भाग लगाउन लाहुरे नै रोज्नु पर्ने, पाहुनालाई राडी र पाखीका लागी सुवेदारको घर खोज्नु पर्ने, सप्ताह र पुराणको महायज्ञमा पाल चाहिँदा, लप्टनको नै भर पर्नु पर्ने, समाजनै नबुझेर भन्दै छौ रे, सेना… तिमी किन चाहियो?

बम राखेर राजनीति गर्ने तिमी, बारुद राखेर लाजनीति गर्ने तिमी, तिम्रै बम र बारुदबाट पसल, फसल र जनता जोगाउन सेना चाहिने, शून्य संवेदना लिएर भन्दैछौ रे, सेना… तिमी किन चाहियो?

भोजपुरको आगलागीमा घर जोगाउन, सेना पुग्नु पर्ने, डडेलोले चुरे खाँदा, पहिरोले घर-गोठ लादा सेना पुग्नु पर्ने, मेलम्चीको बाढी होस् वा सिन्धुपाल्चोकको पहिरो, ज्यान हत्केलामा राखेर सेना नै पुग्नु पर्ने, अदभूत प्रकृति नबुझी भन्दैछौ रे, सेना… तिमी किन चाहियो?

कसैले जिम्मा लिन नचाहने, अफ्ट्यारा र बिशाल बिशाल योजना र आयोजना चाहे त्यो कटारी राजमार्ग होस् वा सिमारा-बारा द्रूत मार्ग, सेनाले नै समाइदिनु पर्ने, अनि फेरि भन्दैछौ रे, सेना… तिमी किन चाहियो?

तराईमा, सापको बिष झार्न सेना पुग्नु पर्ने, सधियारको रिष वार्न सेना पुग्नु पर्ने, जुरे होस वा चुरेको पहिरो छेक्न, ज्यान हत्केलामा राखेर सेना नै पुग्नु पर्ने, न हिलो थाहा छ, न त धुलो छुनु पर्ने त्यसैले त भन्दैछ्यो नि सेना… तिमी किन चाहियो?

हार्बर्ड र अक्स्फोर्ड विश्व बिद्यालयमा पढ्नु भो, न देश कहिल्यै घुम्न भ्याउनु भो, न माटो छुनुभो, त्यसैले त देशको माया कहाँ भो र! मावली ससुराली खै के के हो बिदेश नै भएर होला, न त जुम्लामा नुन बोक्ने सेना थाहा छ, न दुर्घटनामा त्रिशुलीको बस झिक्ने सेना थाहा छ, मानवीय संवेदना गुमाएर भन्दैछौ रे, सेना… तिमी किन चाहियो?

बेस्सरी पढ्नु भएको छ चट्ट टाईसुटमा हुनुहुन्छ, त्यसैले न तुइन थाहा छ न खोलाका फट्के थाहा छ, तुइन चुँडिएर बगाएका स्कुले बच्चा बचाउने सेना, बझाङबाट सुत्केरी बचाउने सेना, सेतीको खोचमा खसेको बालक बचाउने सेना, यी सबै भुलेर, पत्थर जस्तै मन लिएर भन्दैछौ रे, सेना… तिमी किन चाहियो?

भिरमा लड्दा सेना चाहिने, हिउमा फस्दा सेना चाहिने, डोटीको औलो होस कि कालीकोटको भोकमरी, कोशी होस् वा कालीको बाढी जोगाउन, हाम्फाल्दै सेना पुग्नु पर्ने, फेरि पनि भन्दैछौ नि, सेना… तिमी किन चाहियो?

बच्चा पढाउन सैनिक स्कुल नै रोज्नु पर्ने, छोरालाई सैनिक अस्पतालमा नै डाक्टर पढाउनु पर्ने, टाटे र पाटे उसकै पोशाक हेरेर आफ्नो इज्जत बढाउनु पर्ने, अनि फेरि भन्दै छौ रे, सेना… तिमी किन चाहियो?

यतिबेला सेनाको बहस चुलिएको छ, देशभक्त युवाहरुको रगत निक्कै उम्मलिएको छ, युद्दमा मात्रै होइन मानवीय सेवामा पनि सेना चाहिन्छ है भनेर नबुझ्ने तिम्रो बिद्वता खुइलिएछ र भन्दैछौ रे, सेना तिमी किन चाहियो?

लेखक  अर्याल  त्रि.वि. भूगोल केन्द्रीय बिभाग कीर्तिपुरबाट विद्यावारिधी गर्दैछन्।

याे पनि पढ्नुस्

तिम्रै भागमा ‘बालेन’ पर्नु पर्ने, काठमाडौं तिमी कति भाग्यमानी

देश त पहिलेकै ठिक, कसैलाई मन परोस् कि नपरोस्

कथा : लामिछाने बा का सात भाइ छोरा

हर्क, बालेन र गोपीले जोगाइदिएको गणतन्त्रको लाज

नेपालको सन्दर्भमा सामाजिक व्यवस्था र भू-उपयोग नीति

उप-निर्वाचन, रास्वपा र निर्वाचन-२०८४

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *