उप-निर्वाचन, रास्वपा र निर्वाचन-२०८४

ईश्वर अर्याल
२३ वैशाख २०८० ९:२०

भर्खरै सम्पन्न उप-निर्वाचनको मत परिणामलाई हेर्ने हो भने, प्रष्ट बुझ्न सकिन्छ, जनता कसैको बन्न चाहँदैनन्। कसलाई समर्थन गर्ने भन्ने कुरा दिल खोलेर ब्यक्त गरेका छन् उप-चुनावमा।

२०४८ मा रुखमा भोट हाल्ने हातहरु नै हुन्। २०६४ मा हँसिया-हथौडा रोज्ने र तीनै हातहरु हुन्।  २०८० मा घण्टी रोज्ने, त्यो पनि मज्जाको मत सहित। बाराको उप-निर्वाचनको कुरा फरक रह्यो। त्यसमा भौगोलिक वनावट, सामाजिक परिस्थिति र सरकारको जबरजस्त उपस्थितिले ठूलो मद्दत गरेको प्रष्टै छ।

तथापि परिवर्तन खोजेको आभाष पाइन्छ नै। तनहुँ क्षेत्र नं १ को मतगणना शुरु भएदेखि नै, गणनामतको ५०% भन्दा बढी मत स्वर्णिमको पक्षमा देखिन्छ, यस्तै परिस्थिति थियो जुम्लाको निर्वाचनमा।  ज्ञानेन्द्र शाहीको हरेक गणनामतको ५०% भन्दा बढी मत उनकै पक्षमा थियो।

राजनीतिमा  ‘जनमत’ स्थायी हुँदैन। यत्रो जनआकांक्षाको अपमान गर्नेहरुलाई जनताले बन्द बाकस मार्फत मिठो सन्देश दिने नै हो। कर्म अनुसार न्याय दिँदै जान्छन् जनताले, मतदानमार्फत। भनाइ नै छ नि, समयले कसैलाई पर्खँदैन। हो नेपाली जनता पनि अब कसैलाई पर्खनेवाला छैन।

चितवन २ को कुरा गर्नै परेन। हरेक गणनाको ७०% भन्दा बढी मत रविको नै पक्षमा थियो, सुरु देखि अन्त सम्म । यसबाट के सन्देश जान्छ भने, अझै अति गर्दै जाने हो भने, थुप्रै पार्टी मिल्दा पनि, जमानत जफत गरिदिने साँचो   जनतामा छ।

सामाजिक न्याय

समाज झट्ट नदेखिने तर निक्कै ठूलो विद्यालय हो, लोकतन्त्रमा त झन समाज, बिशाल विश्वविद्यालय हो। हरेक राजनीतिक घटनाको सुक्ष्म अध्ययन अनुसन्धान गर्न समाज आफै सक्षम हुन्छ। साच्चै मर्का कसलाई छ र अफ्ठ्यारो कसलाई पारिएको छ भन्ने कुरा उसले चिहाइरहेको हुन्छ।

अझै भनौ, उ(समाज) आफू थोरै मात्र शिक्षित भए पनि  ‘दीक्षित’ कसलाई गर्ने भन्ने कुरा मौन बसेर, तर निक्कै चनाखो भएर नियालीरहेको हुन्छ। अहिले मात्र होइन, नेपाली जनताले २०१५ साल देखिनै रोजाइमा आफ्नो अब्बल क्षमता प्रदर्शन गरिसकेका थिए।  जननेता स्व. विपी कोइरालाई समर्थन गरेर।

अहिले जनभाव र मनोभावको तालमेल मिलाउन नसक्दा ५०-६० वर्ष पुरानो लाइसेन्स (राजनीतिक लाइसेन्स) नवीकरण नहुने जस्तो देखिएको छ। नवीकरण गर्ने संस्था  ‘जनता’  हो भन्नेकुरा लाइसेन्स बाहकहरुलाई चेत नभएको जस्तो देखियो।

दार्शनिक चिन्तन

घटना साना हुन वा ठूला हरेक घटनाको पछाडी उसको आफ्नै ईतिहास हुन्छ। अमेरिकी भूगोलविद् W.M. Davis (1850 A.D.) का अनुसार “कुनै पनि घटना तत्कालका उपज होइनन्, निक्कै लामो प्रक्रिया पार गरेपछि मात्रै यसलाई (घटनालाई) सतहमा देख्न पाईन्छ”।

पूर्वीय दर्शनमा भनेजस्तै  ‘कर्म र फल’  संगै जोडिएर आउने नै हो।  यसलाई न्यूटनले(1643AD) थप पुष्टि गरेकै थिए-  ‘क्रिया र प्रतिक्रिया’  भनेर। हिजोको घटनाले नै हो आज निर्धारण हुने। हिजोको घटनाबाट पाठ सिकेर आफूलाई परिष्कृत गर्न सकिएन भने, चिप्लिन समय लाग्दैन।

६० वर्ष राजनीति गरेका मै हुँ भन्ने पार्टी र तिनका नेतालाई, छ महिनाको बबुरो पार्टीको बिशाल उपस्थितिले छटपटी लगाइदिएको छ।  झण्डै तिन दशक गरिएको राजनीति साच्चै जनताको लागि थियो भने न त रास्वपा को जन्म हुन्थ्यो, नत पार्टी सभापतिले ७०% भन्दा बढी मत ल्याएर पुनः बिजय हुन्थे।

हाम्रो अभ्यास

कुनै सानो सेवा वा सिफारिस लिनु पर्दा, जनता गाउ देखि जिल्ला सदरमुकाम धाउनु पर्छ किनभने बार्ड सदस्यदेखि अध्यक्षसम्मको अधिकांश बसाई जिल्ला सदरमुकाममा हुने गरेको सर्व बिदितै छ।

हामीकहाँ सामान्य घटनाक्रम के हो भने, बार्ड अध्यक्षदेखि सांसदसम्मले, राजनीति गाउँमा गर्ने र बसाई सहरमा गर्ने।  अहिले पनि अध्ययन गर्ने हो भने, एकाध बाहेक, बार्ड अध्यक्षदेखि सांसद सम्मको घर-घडेरी कि त काठमाडौंमा छ।

कि त देशका ठूला शहरमा, नभए पनि कम्तिमा जिल्ला सदरमुकाममा पक्कै छ। यसरी पहुँच हुने र नीति निर्माण गर्नेहरु, स्वंयको वसाई आफ्नै गाउँ-घरमा नभएपछि, गाउको विकास कसरी हुन्छ र कसले गर्छ। आम-जनता त्यसै दिक्क भएका होइनन्।

राष्ट्रिय राजमार्ग हरेक ५/१० कि.मी. मा नबिग्रिएको/नभत्किएको फेला पार्न सकिन्न। अधिकांश जिल्ला सदरमुकाम जादा, वर्षायाममा हिलाम्मै र अरु बेला धुलाम्मै नभई पुगियो भने निक्कै भाग्यमानी ठाने हुन्छ आफूलाई।

जिल्ला भित्रका अरु सडकको कुरै गर्न परेन। जिल्लामा भएका अधिकांश अस्पतालहरुमा दरबन्दी अनुसारको डाक्टर खटिँदैनन्, खटिइहाले पनि पूरा समय दिँदैनन्। गाउँगाउँमा भएका सरकारी बिद्यालयमा दरबन्दी अनुसार शिक्षक छैनन्।

बिद्यालयको भौतिक संरचना पुग्ने नै छैनन्, संरचना बनिनैहाले पनि कि छाना चुहिने छन्, कि त डेस्क बेन्च छैनन्। गाउँमा युवा पुस्ता भेटिन गाह्रो छ, भेटिइहाले पनि अधिकांश भट्टीमा मस्ती छन्, या त चौरमा तासमा ब्यस्त।

रास्वपा अझ बिशेष गरी पार्टी सभापतिले के कुरा बुझ्नु पर्छ भने, ‘हतार गरे भन्न सकिन्न, ढिलो गए अबश्य पुगिन्छ’।  घाँटीका नशा फुलाएर सोझा जनतासँग लिइएको बिशाल मतको भारी, कुर्सीको मोहमा हतारिएर, फोहोरको थुप्रोमा नबिसाउनु होला। ढिलो पक्कै भएको हो, तर हतार गर्नु हुँदैन।

साँझपख ठूलो हर्न बजाउँदै पारिबाट बस आउँछ,  छत भरी चाउचाउ र बिस्कुटका पोका बोकेर। फर्किँदा कि मान्छे लान्छ कि त खाली जान्छ। गाउबाट शहर पठाउने कुनै उत्पादन छैन। पछिल्लो समयमा मुस्किलले खसी/पाठाहरु फाट्टफुट्ट बस चढेको देख्न पाइन्छ।

मौसमको/खेतीको समयको त कुरै छोडौं, बेमौसममा पनि न त मल किन्न पाइन्छ, न त बिउ बिजन। तथापि हरेक वर्ष सरकारको बजेटमा कृषिमा अनुदान गएकाे गइ छ। झोलामा बाली लगाउनेहरुले अनुदान लिइरहेकै छन्।

तल नदी सुसाएर बगिरहन्छिन, ५०/१००मिटर माथिको रातमाटे टार पानी नपाएर ब्याकुल छ। छानोकै माथिबाट गएको ठूलो बिजुलीको तार दिउँसो त देखिन्छ, राति टुकिको उज्यालोमा कहाँ देख्न सकिन्छ र!

परिवर्तको आशा गरेका आम मानिसको आवश्यकता र चासोका बिषय सम्बोधन हुने त कता हो कता, शिक्षा स्वास्थ्य खानेपानी सडक/यातायात बिद्युत लागायत अत्यावस्यक सेवाको पनि गुणस्तर दिनदिनै खस्कँदो छ। यी यावत् समस्यालाई जनताकै भाषामा बुझ्ने पार्टी चाहिएको छ, नेता चाहिएको छ।

प्रविधिको युग

संचार जगतमा भएको लोभलाग्दो बिकासले विश्व सानो गाउँ जस्तो भएको छ। यसलेगर्दा, २१औं शताब्दीमा हरेक व्यक्ति सूचनाको संवाहक भएको छ, त्यो पनि तत्कालैको।

कुशल समाचारदाताले दिने भन्दा निक्कै बलिया, तथ्य र जनचासोका बिषय वा समाचारहरु जनता स्वंयले रिपोर्ट गरिरहेकै हुन्छन्, सामाजिक संजालमार्फत। जसले गर्दा, घटना जहासुकैको किन नहोस्, तुरुन्तै विश्वभरी थाहा पाउन सकिन्छ, त्यो पनि प्रत्यक्ष। सर्वसाधारणले आफ्नो रोजाइ र आवश्यकता प्रस्तुत गरिरहेको हुन्छ, यसमार्फत।

व्यक्ति वा समाजले के चाहिरहेको छ, जनचाहना के छ भन्ने कुरा बुझ्न कुशल राजनीतिज्ञले धेरै दुख गर्नै पर्दैन, सामाजिक संजालले धाराबाहिक प्रस्तुत गरिरहेकै हुन्छ।  यत्र-तत्र सर्बत्रबाट अनुरोध गर्दापनि, पात्रको खिया लागेको बिर्को नखुल्ने देखेपछि, सोचेजस्तो ‘मत’ मौन कहाँ बस्छ र।

राजनीतिमा  ‘जनमत’ स्थायी हुँदैन। यत्रो जनआकांक्षाको अपमान गर्नेहरुलाई जनताले बन्द बाकस मार्फत मिठो सन्देश दिने नै हो। कर्म अनुसार न्याय दिँदै जान्छन् जनताले, मतदानमार्फत। भनाइ नै छ नि, समयले कसैलाई पर्खँदैन। हो नेपाली जनता पनि अब कसैलाई पर्खनेवाला छैन।

अनुरोध

‘हुने बिरुवाको चिल्लो पात भने झैं’, ८० को दशकको शुरुमानै जनमत ह्वात्तै बढेको छ घण्टीमा।  यसलाई कतिलामो समयसम्म टिकाई राख्ने भन्ने कुरा, आजको तपाईंहरुको क्रियाकलापले निर्धारण गर्दछ हो जनता सोझा छन्, तर लाटा छैनन्।

तपाईंले कसलाई भेटेको, किन भेटेको, के बोलेको, किन बोलेको, के गरेको, किन गरेको, यी सबको एक-एक हिसाब राख्ने नै छन जनताले। र यसको जवाफ मतमार्फत दिने नै छन्। सरकारले तपाईं माथि अन्याय गरो भन्ने बुझेर, सोझा जनताले ६०४४ बाट ३४९१९ र ४९२६४ बाट ५४१७६ मत/मन दिएका हुन उप-निर्वाचनमा।

अमेरिकी भूगोलविद् मिस इसी सेम्पलले भने जस्तै तराईमा बस्ने मानिस, स्वयम्-निर्णय छिटो गर्न सक्दैनन्, बाराको चुनावमा त्यै भयो, त्यै देखियो। यसबाट के बुझ्नु पर्छ भने २०८४ को आम चुनावमा पनि तराईमा घण्टी बज्न त्यति सजिलो छैन, जति पहाड र हिमालमा छ, रास्वपाको कार्यशैली/ जनबिश्वास यही रहेमा पनि।

त्यसैले रास्वपा अझ बिशेष गरी पार्टी सभापतिले के कुरा बुझ्नु पर्छ भने, ‘हतार गरे भन्न सकिन्न, ढिलो गए अबश्य पुगिन्छ’।  घाँटीका नशा फुलाएर सोझा जनतासँग लिइएको बिशाल मतको भारी, कुर्सीको मोहमा हतारिएर, फोहोरको थुप्रोमा नबिसाउनु होला।

ढिलो पक्कै भएको हो, तर हतार गर्नु हुँदैन। लिंकनले भने जस्तै, “I am a slow walker, but I never walk back.”। यसलाई मुलमन्त्र र जनतालाई केन्द्रमा राख्ने हो भने देशभर घण्टी बज्ने छ, २०८४ मा।

अब हुने, सम्भबत २०८४ को चुनावमा देश भर घण्टी बजाउने कि, एकादेशको कथा बन्ने, रोजाई यहाँहरुकै।

लेखक  अर्याल  त्रि.वि. भूगोल केन्द्रीय बिभाग कीर्तिपुरबाट विद्यावारिधी गर्दैछन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *