सुन प्रकरण : एसपी थापालाई अनुसन्धान अधिकृत तोकेर सिआइबीले थाल्यो अनुसन्धान

डिसी नेपाल
२२ साउन २०८० १८:२२
160
Shares

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेर एक सय किलो सुन तस्करी प्रकरणको आजदेखि औपचारिक रुपमा अनुसन्धान थालेको छ ।

आइतबार राजस्व अनुसन्धानबाट प्राप्त मिसिलसहितका तथ्य र प्रमाण बुझेको सिआइबीले आज एसपी थापालाई अनुसन्धान अधिकृत तोकेर औपचारिक रुपमा अनुसन्धान थालेको हो । आरोपी १७ जनालाई पनि आइतबारै सिआइबीको हिरासतमा सारिएको थियो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले एसपी थापालाई अनुसन्धान तोकेर आवश्यक प्रक्रियाअघि बढाएको जानकारी दिए ।

“अब थापा नेतृत्वको टोलीले मिसिलहरु अध्ययन गर्ने, उच्च अदालतमा पुगेको मुद्दाको जिल्ला अदालतबाट म्याद मिलान गर्ने तथा थप अनुसन्धानको काम थालेको छ”, प्रवक्ता कडायतले भने । यसअघि बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनुसन्धान गर्ने जिम्मा सिआइबीलाई दिन निर्देशन दिएका थिए । उनको निर्देशन लगत्तै आवश्यक प्रक्रिया पुर्‍याएर विभागले थप अनुसन्धानको जिम्मा सिआइबीलाई हस्तान्तरण गरेको हो । उक्त प्रकरणमा अब सिआइबीले आर्थिकलगायत सङ्गठित र अन्तरदेशीय अपराधको सन्दर्भमा पनि अनुसन्धान थाल्ने जनाइएको छ ।

विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’मा हालेर ल्याइएको अन्दाजी एक सय किलो सुन बरामद गरेको थियो । उक्त सुन अहिले परिमाण यकिन गर्न नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको छ । अहिलेसम्म उक्त घटनामा संलग्न रहेको आरोप १८ जना पक्राउ परेकामा बिरामीका कारण एक जनालाई हाजीरी जवानीमा छाडिए पनि १७ जना हिरासतमा छन् ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *