जीवन के हो?

शंकरप्रसाद रिजाल
३१ साउन २०८० १०:५८
164
Shares

मानिसलाई मानिस बिनाको जीवन व्यर्थ छ। त्यस्तै फेरि सधैं मानिसै मानिसको भिडमा पनि मानिसको जीवन अशान्त छ।

जीवन बाचुन्जेल खाने पिउने, संग्रह गर्ने लोभ मोह, ऋष रागमा अल्मलिने हो र अन्तमा आफूले संग्रह गरेका र लोभमा थुपारेका सबै चिज एकदिन सबै यहीँ छोडेर जाने नै हो।

उसले गरेका पाप र पुण्यको अमर कीर्ति र दुष्कर्म मात्र यहाँ सजीव रहने हो। तसर्थ मानिसले जीवनबाट केही खोज्ने होइन, बरु जीवनलाई कस्तो बनाउने हो भन्ने नै मानिसको जीवनको मूल लक्ष हुनुपर्दछ।

जीवनलाई सार्थक बनाउने हो भने त्यसको मुलाधार भनेको एक ‘परिवर्तन’ मात्र हो। परिवर्तनबाट मात्र जीवन उत्पादनशील, सार्थक र बरदान बन्ने हो भने यसको अभावमा त्यही जीवन फेरि अनुत्पादनशील, मूल्यहीन र श्राप बन्न सक्छ।

जीवन मानिसको जन्मदेखि अन्त्यसम्मको एक लामो धागो हो, जहाँ अनेकौं बाधा अड्चन गाँठोको रुपमा रहेका हुन्छन्। यो एक धागोको गुजुल्टो सरह एक आपसमा अन्तर्निहित रहेको हुन्छ। छेउ पनि त्यहीँ हुन्छ, पुच्छर पनि त्यहीँ।

यो जीवन लरियामा बेरेको धागो जस्तो छैन जसलाई तान्दा सररर सजिलैसँग आइरहने होस्। अनेक दुःख, बाधा र अड्चनका गाँठालाई बिस्तारै संयम भएर फुकाउन सकेमा जीवन फेरि सुखदायी बन्न धेरै समय लाग्दैन र जीवन उत्सर्गमा पुग्न कुरिरहनु पनि पर्दैन।

जीवन जिउने एक कला हो भने मानिस स्वयं कलाकार हो। भगवानको सृष्टिमा कसैले दुःख कष्ट नपाउनु पर्ने हो। तर संसार त्यस्तो छैन। यहाँ कोही दुःखी छन् भने कोही सुखी भएर जीवन बिताइ रहेका छन्। यो संसारको नियम नै हो।

जीवनको मन्जिल आफैंले तय गर्न हो भने जीवनको यात्रा पनि आफैंले संचालन गर्ने हो। यसमा संगतको अत्यन्त जरुरत पर्दछ।खराब संगत, खराब कुलत, खराब व्यभिचार र खराब आहार बिहार र आचार र बिचार सब जीवनलाई खरानी बनाउने चिज हुन् भने कुसल संगत, ज्ञानी, बिबेकी र बुद्धिमान दयावान, क्षमावान र शुद्ध आचरण जीवनलाई उत्सर्गमा पुर्‍याउने ध्वजापताका र झल्लरी मल्लरी हुन्।

हामी सधैं सुखको संसार पनि पाउँदैनौं र दुःखको पनि। यो संसारनै आधा उज्यालो र आधा अध्याँरो भएकोले सुख र दुःख यसैमा निहीत छ। जीवनको निर्माण सधैं सकारात्मक सोच र बिचारमा रहेको हुन्छ भने यही जीवनको बिनास नकारात्मक सोच र बिचारमा अन्तर्निहित रहेको हुन्छ।

जीवनका सकारात्मक सोच र बिचार दया, माया, क्षमा, करुणा, ज्ञान, बुद्धि र बिबेकमा खुलेको हुन्छ भने जीवनको बिनास नकारात्मक सोच र बिचार, घमण्ड, रिस, राग, द्वेष, घृणा, अन्याय,अत्त्याचार, व्यभिचार, तृष्णा, लोभ लालच, अज्ञान, अविवेकी, दुष्कर्म र बुद्धिहीनतामा अन्तर्निहित रहेको हुन्छ।

सकारात्मक सोच र विचारका सबै शब्द रचना उज्याला र झिलिमिली हुन्छन् भने नकारात्मक सोच र विचारका सबै शब्द रचनाहरु अँध्यारा र उराठ लाग्दा हुन्छ।

संसारमा ठूला र नाम कहलिएका सबै व्यक्तिले सकारात्मक सोच र बिचारबाट नै आफ्नो जीवनलाई उत्सर्गमा पुर्याएको उदाहारण छन्। भगवान गौतम बुद्ध, स्वामी बिबेकानन्द, शिवपुरी बाबा, रामकृष्ण परहंश, खप्तड बाबा, योगी नरहरिनाथ, सन्त कबीर, फिर्दोस, माहात्मा गान्धी, साइबाबा, ओशो रजनीश, रवि शंकर आदि।

यी व्यक्तिका जीवन र जीवनी अरुको लागि उदाहरणीय रहेका छन्। यी सबै सकारात्मक सोच र विचारका प्रतिमूर्ति हुन्। हिन्दीमा एक उखान छ “जियो तो ऐसे जियो जैसे सब कुछ तुमारा है, मरो तो ऐसे कि जैसे तुमारा कुछ भी नही’।

जीवनको मन्जिल आफैंले तय गर्न हो भने जीवनको यात्रा पनि आफैंले संचालन गर्ने हो। यसमा संगतको अत्यन्त जरुरत पर्दछ।

खराब संगत, खराब कुलत, खराब व्यभिचार र खराब आहार बिहार र आचार र बिचार सब जीवनलाई खरानी बनाउने चिज हुन् भने कुसल संगत, ज्ञानी, बिबेकी र बुद्धिमान दयावान, क्षमावान र शुद्ध आचरण जीवनलाई उत्सर्गमा पुर्‍याउने ध्वजापताका र झल्लरी मल्लरी हुन्।

जीवन एउटा प्रेम पनि हो। प्रेम बिनाको जीवन पानी बिनाको माछा जस्तै हुन्छ। संसारमा एकले अर्कालाई प्रेम नगर्ने हो भने संसार हरेकको लागि अर्थहीन, मूल्यहीन, सुख्खा र बांजोपन हुन्छ।

यो जीवन प्रेमको र सहअस्तित्वको आधारमा नै रहेको छ। प्रेम बिनाको जीवन र जीवन बिनाको प्रेम फल बिनाको वृक्ष र वृक्ष बिनाको फल जस्तै हुन्छ। पूर्वाद्धको जीवन र उत्तरार्द्ध को जीवनको बीचमा प्रेमको गंगासागर नबग्ने हो भने संसार उजाड बगैंचा सरह हुन्छ।

चाहे त्यो जुनसुकैको प्रेमको सुवास किन नहोस् पुरुष वा स्त्रीको। स्त्री र पुरुष भए झन् राम्रो। जसरी पुरुष ‘एडम’ ले धेरै समय पछि ‘इभ’ नाम गरेकी स्त्री पाउँदा खुसीले हर्षित भएका थिए।

जीवनको संसार दुई प्रकारका छन्। आध्यात्मिक जीवनको संसार र भौतिक जीवनको संसार। यो दुवै जीवनको बाटो आ-आफ्नै तरिकाले आनन्दमय छ।

भौतिक संसारमा रमाउने मानिस यसैमा आनन्द लिइ बसेका छन् भने आत्यात्मिक संसारमा रहने त्यसैको परमानन्दमा लिन् भएर रहेका छन्। यो आफ्नो रोजाई हो, र आफ्नो सोच र बिचार पनि।

आज भौतिक संसारमा आधुनिक प्रविधिले फड्को नमारेको भए चिताएको कुरा कसरी पुग्ने र उपभोग गर्ने। आज जीवन सरल र सहजताका लागि विज्ञानले के गर्‍याे र के गरेन यो मानिसको कल्पना भन्दा धेरै धेरै पर छ।

आज घरमै बसी संसारका हरेक कुराको दृश्यावलोकन गर्न सकिने भएको छ। एउटा स्विच दबाउँदा संसार झिलिमिली हुन्छ भने २÷४ ,१०÷२० घण्टामा आकास मार्ग हुँदै संसार घुम्न सकिने भएको छ। त्यस्तै चन्द्र लोकको यात्रापनी सहज भएको छ।

चीन, अमेरिका, भारत, रसिया र पश्चिम युरोपको भौतिक जीवनको विकासले चन्द्रमामा मानिस पुग्न सफल भएको छ। आज सारा संसार कम्प्युटर र नेट प्रणालीले एक ठाउँमा उभिन सफल भएको छ। यो भौतिक बिकासको जीवनको चरम आनन्द नभए अरु के हुन सक्छ र?

आज भोगविलासका सामानमा खाने, पिउने, लाउने र बस्ने अनगिन्ति सामान हाम्रा सामुन्ने सजिएर रहेका छन्। यसको आनन्दको जीवन बेग्लै खालको छ भने आध्यात्म सोच र बिचारको चिन्तनबाट उभरिने परमनान्दको जीवन फेरि अर्कै मज्जाको छ।

बिचारको चिन्तन र योग साधनाको जीवनबाट मानिसले परमात्माको अनुभव र साक्षात्कार गर्न सफल भएका छन् भने उनका दिव्य सन्देश पछिल्ला पिँडीका मानिसलाई अमरबाणी बनेको छ। परमानन्दमा जाने मार्ग प्रशस्त भएको छ।

भगवान गौतम बुद्धका दिव्य सन्देश, जिसस क्राइष्टका दिव्य सन्देश, तुरा मोसेस, सन्त कबीर, लाओत्से, कन्फुसियस, रामकृष्ण परंहंस, गुरुनानक र मोहम्मद पेगम्बर जस्ता आधात्मिक सोच, विचार र चिन्तकका दिव्य सन्देशले हजारौं पर्षपछिका पिँडीलाई जीवन उत्सर्गमा पुर्याउने मार्ग दर्शन बनेको छ।

हिन्दु संस्कृतिको चार वेद, उपनिषद्, श्रीमद्भागवत ग्रन्थ, श्रीमद्भागवत गीता, अठार पुराण र निर्णय सिन्धुले मानिसलाई ज्ञानी र अनुशाशित बनाउने मार्ग प्रशस्त गरेको छ भने पश्चिमको बाइबल, इस्लामको कुरान सत्र र चीनको जेन धर्मका पुस्तकले संसारका भौतिकवादीलाई सचेत र अनुशाशित हुन अत्यन्त ठूलो प्रेणणा दिएको छ। अतः जीवनलाई कुन दिशामा लैजाने भन्ने आफ्नै सोच र बिचारको आकासको घेरा हो।

ज्ञानको गहिराईमा पुग्न कोसिस गर्नु,फूल जस्तो हलुका बन्नु, नरम बोली र ब्यबहार गर्नु, कसैलाई चित्त नदुखाउनु, सबैप्रति प्रेम र सद्भाब प्रकट गर्नु, सधैं सकारात्मक सोच्नु, धैर्यताको खम्बा बन्नु जस्ता कुराले मानिसको जीवन अत्यन्त सुखमय हुन्छ। चाहे उ भौतिकवादी होस् वा आध्यात्मवादी। यसमा कुनै भिन्नता हुदैन।

जीवनलाई सार्थक र उत्कर्षमा पुर्‍याउने हो भने जीवनको महासागरको भेल र बाढीमा संयम भई पौडिन सक्नुपर्छ। त्यसो गर्न सकेमा अन्तिममा जीवन सागरको दुई किनाराहरु मध्ये एक किनारामा अवश्य पुगिन्छ। चाहे भौतिक होस् वा आध्यात्मिक।

अझ गृहस्थ आश्रममा बसेर जीवन बिताउनेका लागि भने दुवै सोचलाई अंगाली मध्यममार्गी जीवन बिताउन सकेमा दुवै किनाराको समेत लड्डु चाख्न पाइन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *