एसिया कपको फाइनलमा हारेपछि श्रीलंकाका कप्तानले फ्यानहरूसँग माफी मागे

काठमाडौं । भारतले एसिया कप २०२३ को उपाधि जितेको छ । आइतबार कोलम्बोको आर प्रेमदासा स्टेडियममा भएको फाइनल खेलमा भारतले श्रीलंकालाई १० विकेटले पराजित गरेको हो ।
भारतीय टोली कीर्तिमानी आठौं पटक एसियाली च्याम्पियन बनेको छ । योसँगै श्रीलंकाको सातौं पटक उपाधि जित्ने सपना चकनाचुर भयो ।
फाइनल खेलमा श्रीलंकाका ब्याट्सम्यानको खेलबाट कप्तान दासुन शनाका पनि निकै निराश देखिए । हृदयविदारक हारपछि शनाकाले श्रीलंकाली फ्यानसँग माफी मागेका छन् । शनाकाले पिच ब्याटिङका लागि उपयुक्त भएको विश्वास गरे तर बादलले ढाकिएको अवस्थाका कारण सबै परिवर्तन भयो ।
खेलपछि दासुन शनाकाले भने, ‘सिराजले निकै उत्कृष्ट बलिङ गरे । मैले सोचेको थिए कि यो ब्याट्सम्यानका लागि राम्रो पिच हुनेछ, तर बादलको आवरणले सबै कुरा परिवर्तन भयो। हामीले हाम्रो टेक्निकलाई बलियो बनाउन सक्थ्यौं, ब्याट्सम्यानहरूलाई सेट हुन र पछि आक्रामक शटहरू खेल्न मद्दत गर्न सक्थ्यौं।
शनाकाले भने ‘हाम्रो लागि धेरै सकारात्मक कुराहरू पनि थिए। जसरी सदिरा, कुसल र असलंकाले स्पिनविरुद्ध ब्याटिङ गरे, भारतमा राम्रो ब्याटिङको अवस्थामा तीनैले धेरै रन बनाउनेछन् । कठिन परिस्थितिलाई कसरी पार गर्ने भन्ने हामीलाई थाहा छ। हामी राम्रा टोलीलाई हराएर फाइनलमा पुग्यौं, जुन ठूलो प्लस पोइन्ट हो।’
शनाकाले थपे, ‘हाम्रा खेलाडीले केही वर्षयता राम्रो क्रिकेट खेल्दै आएका छन् । धेरै संख्यामा खेल हेर्न आएका समर्थकहरुलाई धन्यवाद दिन चाहन्छु । माफ गर्नुहोस् हामीले तपाईलाई निराश गर्यौं। जितको लागि भारतीय टोलीलाई बधाई छ।’
Facebook Comment