विद्यालय शिक्षासम्बन्धी विधेयकमा सरोकारवालाहरुको जायज मागलाई समावेश (भिडियो)

डिसी नेपाल
२ असोज २०८० १५:५१

काठमाडौं। कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले विद्यालय शिक्षासम्बन्धी विधेयकमा सरोकारवालाहरुको जायज मागलाई समावेश गरिएको बताएका छन्।

राष्ट्रिय शिक्षा दिवस, २०८० का अवसरमा आयोजित मूल समारोह समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा खड्काले एक महिनासम्म सरोकारवालासंग छलफल गरेर विधेयक तयार गरिएको भन्दै विधेयकमा सबैको भावना र मागलाई समेट्ने प्रयास गरेको बताएका हुन्।

विधेयकमाथि प्राप्त सुझाव र आवाजलाई ध्यान दिएर आफू नेतृत्वको कार्यदलले परिमार्जनसहित जायज माग सम्बोधन गरेरै विधेयक दर्ता गराएको समेत उनले बताए। कार्यवहाक प्रधानमन्त्री खड्काले विधेकयमा केही कमी भए वार्ता र छलफलबाट सम्बोधन गर्न सकिने पनि भन्दै आन्दोलनका कार्यक्रम फिर्ता दिन शिक्षक महासंघलाई आग्रह गरे ।

उनले शिक्षा क्षेत्रको बिकासका निजि क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै निजि क्षेत्रको शिक्षालाई पनि सर्वसुलव बनाउदै लैजानुपर्ने आवश्यकता रहेको जिकिर गरे। सरकार संविधानमा मौलिक हकका रुपमा रहेको अनिवार्य र निःशुल्क शिक्षाको कार्यान्वयन गराउन प्रतिबद्ध रहेको उनको भनाइ छ ।

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षा क्षेत्रलाई बिकासको बाटोमा अघि बढाउने र शिक्षा क्षेत्रमा उत्कृष्टहरुलाई सरकारले प्रोत्साहन गर्ने बताए । मुलुकका प्रतिभाहरुलाई सम्मान र आवश्यक वातावरण सिर्जना गर्न नसके प्रतिभा पलायनलाई रोक्न नसकिने कुरालाई सरकारले राम्रोसंग बुझेको उनले बताए।

उनले विद्यालय शिक्षासम्बन्धी विधेयकलाई थप परिमार्जनका लागि संवाद र वार्ताका माध्यमबाट जानुपर्नेमा जोड दिए। राष्ट्रिय शिक्षा दिवसका अवसरमा उत्कृष्ट विद्यालय, शिक्षक, कर्मचारी, प्राध्यापकलगायतलाई पुरस्कार प्रदान गरिएको थियो ।

२०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्टताका आधारमा सामुदायिक र निजी विद्यालय, प्राविधिक विद्यालयतर्फ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सिफारिसका आधारमा सम्बन्धित शिक्षालय, विश्वविद्यालय अनुदान आयोगको मूल्याङ्कनका आधारमा उत्कृष्ट आङ्गिक, सामुदायिक र निजी क्याम्पसलाई पुरस्कार प्रदान गरिएको हो ।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *