गृहमन्त्रीसहितको कोशी प्रदेशस्तरीय सुरक्षा बैठक सुरु

डिसी नेपाल
८ असोज २०८० १०:००

मोरङ । कोशी प्रदेशमा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको प्रदेशस्तरीय सुरक्ष बैठक सुरु भएको छ । कोशी प्रदेशको पछिल्लो सुरक्षा अवस्थाका विषयमा छलफलका लागि विराटनगरमा बैठक सुरु भएको हो।

बैठकमा संघीय सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, गृहसचिव दिनेश भट्टराई, तीनवटै सुरक्षा निकायका प्रमुखहरू, प्रदेशस्थित मन्त्रालयका सचिव, विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरीका प्रदेशस्थित प्रमुख लगायत सहभागी रहेको छ।

यस्तै बैठकमा नेपाल प्रहरीका आईजीपी वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र सांसदहरूबाट समेत सुझाव लिइने प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । सुरक्षा अवस्थाबारे प्रमुख जिल्ला अधिकारीहरूले ‘ब्रिफिङ’ गर्ने कार्यक्रम तय छ ।

पछिल्लो समय विशेष गरी झापा, मोरङ, सुनसरी, इलाम, धनकुटा र उदयपुरमा सामाजिक सद्भावविपरीतका क्रियाकलाप, पहिचानलगायत नाममा भइरहेका आन्दोलन र अरू राजनीतिक गतिविधिले चुनौती थपिएको सुरक्षा निकायको निष्कर्ष छ । बैठक यी विषयमै केन्द्रित हुने बताइएको छ ।

बैठकको पहिलो सत्र सकिएपश्चात् सोमबार दिउँसो साढे १२ बजेपछि विभिन्न राजनीतिक दल र नागरिक समाजसँग समसामयिक विषयमा छलफल हुने बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *