यू–१९ साफ च्याम्पियनसिपः माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

डिसी नेपाल
८ असोज २०८० १६:३८

काठमाडौं । नेपाल यू–१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार दशरथ रंगशालामा माल्दिभ्सलाई ४–१ गोल अन्तरले हराउँदै नेपालले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

पहिलो हाफमै २–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । खेलको १७ औं मिनेटमा प्रशान्त लक्षमले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए भने समिर तामाङले ३० औं मिनेटमा नेपालको अग्रतालाई दोब्बर बनाएका थिए । दोस्रो हाफको ५८ औं मिनेटमा लायन रसिदले गोल गर्दै माल्दिभ्सलाई खेलमा फर्काउने कोशिश गरेका थिए । तर खेल सकिन दुई मिनेट बाँकी छदाँ निराजन धामीले गोल गर्दै नेपाललाई जितको नजिक पुर्‍याएका थिए । दोस्रो हाफको इन्जुरी समयमा निराजन धामीले ब्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई फराकिलो जित दिलाए ।

त्यसअघि पहिलो हाफमा नेपालका सुजन डंगोल र माल्दिभ्सका कप्तान मोहमद इयान हसन रातो कार्ड खाँदै बाहिरिएपछि दुवै टीम १० खेलाडीमा सिमित भएको थियो । जितसँगै नेपालले समूह उपविजेताको रुपमा अन्तिम चारमा स्थान पक्का गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *