नेपालले टि-२० अन्तर्राष्ट्रिय एकै खेलमा ५ विशाल विश्वरेकर्ड बनायो

डिसी नेपाल
१० असोज २०८० १०:११

काठमाडौं । नेपालले टि–२० अन्तर्राष्ट्रियका ५ विशाल विश्वरेकर्डहरु एउटै खेलमा तोडेको छ । अब टि–२० अन्तर्राष्ट्रिय को एक इनिङमा सर्वाधिक स्कोर बनाउने टिम नेपाल भएको छ ।

यससँगै टि–२० अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो शतक बनाउने खेलाडी नेपालका कुशल मल्ल र सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडी नेपालका दिपेन्द्र सिंह ऐरी बनेका छन् ।

यसका साथै नेपाल टि–२० अन्तर्राष्ट्रियमा सबैभन्दा ठूलो अन्तरले जित्ने टिम पनि बनेको छ । नेपाल टि-२० अन्तर्राष्ट्रियको एक इनिङमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने टिम पनि बनेको छ ।

एसियाली खेलकुद अन्तर्गत आज मंगोलियासँग भएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ३१४ रनको विशाल योगफल बनाएको थियो । यो टि–२० अन्तर्राष्ट्रियमा एउटा टिमको सबैभन्दा ठूलो स्कोर हो । यसअघि यो रेकर्ड अफगानिस्तान र चेक रिपब्लिकको नाममा संयुक्त रुपमा थियो । अफगानिस्तानले २३ फेब्रुअरी २०१९ मा आयरल्याण्डविरुद्ध र चेक रिपब्लिकले ३० अगष्ट २०१९ मा टर्कीविरुद्ध २७८ रन बनाएका थिए ।

यस्तै टि–२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो शतक बनाउने खेलाडी नेपालका कुशल मल्ल बनेका छन् । उनले मंगोलियाविरुद्ध ३४ बलमा शतक बनाए । उनले दक्षिण अफ्रिकाका डेभिड मिलर, भारतका रोहित शर्मा र चेक रिपब्लिकका सुदेश विक्रमशेखराको  रेकर्ड तोडे । यसअघि मिलरले २९ अक्टोबर २०१७ मा बंगलादेशविरुद्ध, रोहितले २२ डिसेम्बर २०१७ मा र विक्रमशेखराले ३० अगष्ट २०१९ मा टर्कीविरुद्ध ३५ बलमा शतक बनाएका थिए ।

यस्तै सबैभन्दा छिटो टि–२० अन्तर्राष्ट्रिय अर्धकतक बनाउने खेलाडी नेपालका दिपेन्द्र सिंह ऐरी बनेका छन् । उनले केवल ९ बलमा अर्धशतक बनाए । उनले भारतका युवराज सिंहको रेकर्ड तोडे । युवराज सिंहले २००७ को सेप्टेम्बर १९ मा पहिलो संस्करणको टि–२० विश्वकपमा इङल्याण्डविरुद्ध १२ बलमा अर्धशतक बनाएका थिए ।

टि–२० अन्तर्राष्ट्रियमा सबैभन्दा धेरै रनको अन्तरले जित्ने टिम पनि नेपाल बनेको छ । नेपालले मंगोलियालाई २७३ रनले पराजित गरेको छ । यसअघि यो रेकर्ड चेक रिपब्लिकको नाममा थियो । उसले ३० अगष्ट २०१९ मा टर्कीलाई २५७ रनको अन्तरले हराएको थियो ।

नेपाल टि-२० अन्तर्राष्ट्रियको एक इनिङमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने टिम पनि बनेको छ । नेपालका खेलाडीले आफ्नो इनिङमा कूल २६ छक्का प्रहार गरे । यसअघि एक इनिङमा सबैभन्दा धेरै छक्का हान्ने टिम अफगानिस्तान र वेष्ट इण्डिजको नाममा संयुक्त रूपमा थियो । अफगानिस्तानका खेलाडीले २३ फेब्रुअरी २०१९ मा आयरल्याण्डविरुद्ध र वेष्ट इण्डिजका खेलाडीले २६ मार्च २०२३ मा दक्षिण अफ्रिकाविरुद्ध २२ छक्का हानेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *